समाचारशनिबार, ३२ जेठ , २०७६

विश्वमा ९१ प्रतिशत मानिस वायु प्रदूषणको चपेटामा

रासस

परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरूले बताएका छन् ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र बेलायतस्थित नोटिङ्घम विश्वविद्यालयद्वारा आयोजित नेपाललगायत हिन्दूकुश हिमालय क्षेत्रमा वायु प्रदूषण र स्वास्थ्य विषयक क्षेत्रीय कार्यशालामा सहभागी विज्ञहरूका अनुसार यस क्षेत्रमा वायु प्रदूषणको स्थिति जटिल रहेको र यसले मानव स्वास्थ्यमा अनेक समस्या ल्याएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट वर्षेनी लगभग ७० लाख मानिसको मृत्यु हुने गर्दछ भने २४ लाख मानिसको मृत्यु हृदयाघात र १४ लाख मानिसको मृत्यु मस्तिष्काघातबाट हुने गरेको छ । विश्वमा ९१ प्रतिशत मानिस वायु प्रदूषणको चपेटामा रहेको र त्यसको ठूलो हिस्सा कम आय भएका मुलुकमा रहेको जनाइएको छ ।

नेपालमा अहिले पनि खाना पकाउने प्रयोजनमा झण्डै ७६ प्रतिशत वायोमासको प्रयोग रहेकाले यसले घरभित्रको वायु प्रदूषणलाई बढाई श्वासप्रश्वास, दम, खोकी, क्यासन्सर लगायत नसर्ने रोगबाट १२ हजार मानिसको मृत्यु हुने गरेको कार्यशालामा जानकारी दिइयो । घरभित्रको वायु प्रदूषणको शिकार बढी मात्रामा महिला र बालबालिका हुने गरेका छन् ।

कार्यशालामा डा ओमप्रकाश कुर्मीले शहरी क्षेत्रमा बाह्य र ग्रामीण क्षेत्रमा घरभित्रको वायु प्रदूषणको समस्या जटिल रहेको र यसबाट अकालमै मर्नेहरूको संख्या बढ्दै गएको भएपनि यसलाई नियन्त्रण गर्नेतर्फ सरकारहरूले ध्यान दिन नसकेको बताए ।

‘‘स्वच्छ ऊर्जाको प्रयोग, गाडीको संख्या कम गर्ने तथा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने, उद्योगधन्दाहरूमा प्रदूषणरहित उपकरणको प्रयोगमा ध्यान दिनु आवश्यक छ’’, उनले भने ।

वरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले सन् १९८४ मा आफूले जुम्लामा गरेको अध्ययनमा घरभित्रको वायु प्रदूषणका कारण दम, खोकीलगायत रोगको संक्रमण बढी पाएको र यो अवस्था अहिले पनि यथावत रहेको भन्दै यसलाई कम गर्नेतर्फ राज्यले स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे ।

नोटिङ्घम विश्वविद्यालय डा चालोट्ले बोल्टनले वायु प्रदूषणले जनस्वास्थ्य र वातावरणमा मात्र प्रतिकूल असर गर्ने नभई देशको सामाजिक–आर्थिक विकासमा अवरोध ल्याउने हुँदा यसतर्फ सरकारहरूले ठोस कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिए ।

उनले वायु प्रदूषणका कारण वार्षिक ५० अर्ब अमेरिकी डलरबराबरको वातावरणीय नोक्सानी हुने गरेको र अनेक रोगव्याधीका कारण त्योभन्दा बढी रकम खर्च भएको उल्लेख गरे ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा मेघनाथ धिमालले नेपालमा वायु प्रदूषणले स्वास्थ्य क्षेत्रमा पारेका असरबारे केही अध्ययन भएपनि विस्तृत अध्ययनको खाँचो रहेको उल्लेख गर्दै समस्याको समाधानका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो औँल्याए ।

हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि सामूहिक प्रयासको खोजी गर्दै वायु प्रदूषणको गुणस्तर र अनुसन्धानबीच रहेको अन्तरको पहिचान गरी आगामी दिनमा सहयोग, समन्वय बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको इसिमोडका भूपेश अधिकारीले बताए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा नेपाललगायत भूटान, भारत, श्रीलङ्का र पाकिस्तानका चिकित्सक, वैज्ञानिक, समाजशास्त्री र नीति निर्माता गरी ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस