रिपोर्टशुक्रबार, ३१ जेठ , २०७६

दुर्गममा ‘ड्रोन’ को सेवा

रामु सापकोटा

प्यूठानका विकट भेगमा क्षयरोगको आशंका भएका व्यक्तिको खकार संकलन गर्न ड्रोनको प्रयोगले उपचार सेवा छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। 

प्यूठान नगरपालिकाको बिजुवारमा खकारको नमूना राखिएको बाकस ड्रोनमा जडान गर्दै बीएनएमटी नेपालकी सामाजिक कार्यकर्ता सीता जिसी । सबै तस्वीरः रामु सापकोटा

प्रदेश–५ को पहाडी जिल्ला प्यूठानको विकट ठाउँमा क्षयरोगी पत्ता लगाउन नमूना संकलनका लागि ड्रोन परिचालन गर्ने ड्रोट्स (ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम) कार्यक्रम शुरू भएको छ ।

१९ जेठमा ड्रोट्स नेपाल परियोजनाको उद्घाटनपछि प्यूठान नगरपालिकाको बिजुवारस्थित होटल आयुष्मामा भएको कार्यक्रम स्थलबाट ड्रोनमा खकारको सांकेतिक नमूना राखेर नगरपालिकाको कार्यालयमा अवतरण गराइएको थियो ।

विराट नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) नामक गैरसरकारी संस्था र जिल्ला स्वास्थ्य कार्यालय, प्यूठानले संयुक्त रूपमा शुरू गरेको परियोजना अन्तर्गत ड्रोनले स्वर्गद्वारी र प्यूठान नगरपालिका क्षेत्रका दुर्गम भेगका बिरामीको खकार संकलन गरी क्षयरोग भए/नभएको पत्ता लगाएर उपचार गरिनेछ ।

तालिमप्राप्त स्वास्थ्य स्वयंसेविका र सामुदायिक कार्यकर्ताले क्षयरोगको शंका लागेका व्यक्तिको घरघरमा गएर खकार संकलन गर्नेछन् ।

संकलित नमूनालाई उनीहरूले नगरपालिकाभित्रका स्वास्थ्य चौकीमा पुर्‍याउँछन् र त्यहाँबाट बिजुवारको जिल्ला अस्पताल, प्यूठान र भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएर जिन एक्सपर्ट मेशिनबाट परीक्षण गरी क्षयरोग लागे/नलागेको यकिन गरिन्छ ।

खकार परीक्षणबाट क्षयरोग पत्ता लागेका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) विधिबाट औषधोपचार गरिन्छ ।

क्षयरोगका अधिकांश बिरामीले नियमित औषधि सेवन नगर्ने समस्या रहेकाले त्यसबारे अनुगमन गर्न बीएनएमटी संस्थाले स्मार्ट पिलबक्सको व्यवस्था गरेको छ ।

क्षयरोगका नयाँ बिरामीलाई दिइने उक्त पिल–बक्सभित्रको उपकरणले औषधि नियमित सेवन गरे/नगरेको अभिलेख राख्छ ।

संस्थाकी प्यूठान जिल्ला संयोजक श्रद्धा आचार्य उपचार सेवाको पहुँचमा आउन नसकेका क्षयरोगी पत्ता लगाउन ड्रोट्स परियोजना शुरू गरेको बताउँछिन् । “खकारको नमूना संकलन गर्ने यो परियोजना सफल भएपछि दुर्गम ठाउँका बिरामीका लागि ड्रोन मार्फत औषधि पनि पु¥याउने लक्ष्य छ”, आचार्य भन्छिन् । 

ड्रोन मार्फत क्षयरोगका शंकास्पद बिरामीको खकारको नमूना संकलन गर्ने कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु ।

यस कारण प्यूठान
ड्रोट्स परियोजना शुरू हुनुअघि स्वास्थ्य स्वयंसेविका र सामुदायिक कार्यकर्ताले यातायात असुविधा भएका जिल्लाका विकट स्थानका बिरामीको खकारको नमूना संकलन गर्न घण्टौं हिंड्नुपर्थ्याे । जसका कारण क्षयरोगीको उपचार नै ढिलो शुरू हुन्थ्यो ।

यसैले छिटो र प्रभावकारी सेवाका लागि ड्रोनबाट नमूना संकलन गर्ने कार्यक्रम संचालन गरेको बीएनएमटीकी सामुदायिक कार्यकर्ता सीता जिसी बताउँछिन् । “भनेको समयमा यातायात नपाउँदा स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा नमूना ल्याउन दुईदेखि तीन दिनसम्म लाग्थ्यो”, जिसी भन्छिन् । ड्रोनले भने २० देखि २५ मिनेटमै नमूना पठाउन सक्छ ।

बेलायतको लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका वरिष्ठ क्षयरोग अनुसन्धानकर्ता डा. म्याक्सिन काउस पहाडी क्षेत्रमध्ये क्षयरोगका सबैभन्दा धेरै बिरामी भेटिएका कारण ड्रोट्स परियोजना लागू गर्न प्यूठान जिल्लालाई छनोट गरेको बताउँछिन् ।

प्यूठानमा आर्थिक वर्ष २०७२/७३ मा २७० र २०७४/७५ मा ३८९ क्षयरोगका बिरामीको उपचार भएको थियो । ३८९ बिरामीमध्ये ३३५ नयाँ फेला परेका थिए ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिलाई क्षयरोगले आक्रमण गर्छ । संक्रामक सरुवा रोगको सूचीमा पर्ने यो रोग देशको प्रमुख जनस्वास्थ्य समस्या रहेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार व्यक्तिमा क्षयरोगको संक्रमण देखिन्छ । यस्तै, क्षयरोगका कारण वर्षेनि ६ हजारदेखि ७ हजार जनाले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको ग्लोबल रिपोर्टमा उल्लेख छ । 

परियोजनाको भविष्य
ड्रोन मार्फत स्वास्थ्य सेवा दिने ड्रोट्स परियोजना विराट नेपाल मेडिकल ट्रष्टले ड्रोन नेपाल प्रालि, नेपाल फ्लाइङ ल्याब्स, वी रोबोटिक्स, बेलायतको लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिन र अमेरिकाको स्टोनी ब्रूक युनिभर्सिटीको प्राविधिक सहकार्य तथा निक साइमन फाउन्डेसनको आर्थिक सहयोगमा संचालन गरेको हो । परियोजनामा १ लाख ९३ हजार ८२८ अमेरिकी डलर लगानी गरिएको छ ।

साढे नौ केजी तौल भएको ड्रोनले एक पटकमा २० देखि २५ जनाको खकारको नमूना बोक्न सक्छ । फ्लाइङ ल्याब्सका संयोजक उत्तम पुडासैनीका अनुसार, हावाको वेग अनुसार प्रतिमिनेट ७०० मिटरदेखि एक किलोमिटरसम्मको गतिमा उड्न सक्ने ड्रोनको उड्ने क्षमता ३० मिनेटसम्म छ ।

खकार बोकेको ड्रोन खसिहालेमा वातावरणमा क्षयरोगका जीवाणु फैलिन नदिने सुरक्षा विधि अपनाइएको छ ।

दुई वटा ड्रोन उडाउन प्यूठान जिल्ला अस्पताल र भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा एक–एक जना पाइलट बस्नेछन् । पाइलट र स्थानीय स्वास्थ्यकर्मी वा सामाजिक कार्यकर्ताको समन्वयमा मौसम अवस्था हेरेर ड्रोनको उडान गरिनेछ । “भविष्यमा स्वास्थ्यकर्मीलाई समेत ड्रोनको आपत्कालीन अवतरण सम्बन्धी तालिम दिने तयारी भइरहेको छ”, पुडासैनी भन्छन् ।

पपुवा न्यूगिनी, जिम्बावे लगायतका देशमा पनि विकट भूगोलमा क्षयरोगका बिरामी पत्ता लगाउन खकार संकलनका लागि ड्रोनको प्रयोग भइसकेको छ ।

प्यूठानमा संचालित परियोजनाका सामु केही समस्या र चुनौती देखिएका छन् । जनचेतनाको कमी प्रमुख समस्या हो । ग्रामीण भेगका कतिपय व्यक्तिले खकारको नमूना दिनै नमान्ने गरेको र तिनलाई क्षयरोगको बारेमा बुझाउन जरूरी देखिएको बीएनएमटीकी सामुदायिक कार्यकर्ता सीता जिसी बताउँछिन् ।

अर्कातिर, २०१८ अक्टोबरदेखि शुरू भएको यो परियोजना २०१९ डिसेम्बरसम्म मात्र चल्ने भएकाले त्यसपछि के हुन्छ भन्ने अन्योल पनि छ । एक प्राविधिक सहयोगी निकाय लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका वरिष्ठ क्षयरोग अनुसन्धानकर्ता डा. म्याक्सिन काउस २०१९ डिसेम्बरसम्म परियोजनामा हुने प्रगतिलाई आधार मानेर थप आर्थिक सहयोग उपलब्ध भए कार्यक्रम निरन्तर संचालन गरिने बताउँछिन् ।

अर्को सहयोगी निकाय स्टोनी ब्रूक युनिभर्सिटीका डाटा साइन्टिस्ट समेत रहेका ड्रोट्स परियोजनाका संयोजक जो ब्रिउ नेपालका लागि यस्तो परियोजना आवश्यक छ भन्ने लागेमा स्थानीय सरकार वा स्वास्थ्य मन्त्रालयले निरन्तरता दिनुपर्ने सुझउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ परियोजनाको सकारात्मक नतिजा देखिए यसलाई मन्त्रालयले नै निरन्तरता दिने बताउँछन् । उनी भन्छन्, “अहिलेका लागि भने यो कार्यक्रम सफल बनाउनु नै चुनौती हो ।” 

प्रतिकृया दिनुहोस