नेपाल र युएईबीच श्रम समझदारी
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
स्वीट्जरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
अहिले अन्तर्राष्ट्रिय श्रम आप्रवासनका मान्यता परिवर्तन भएकोले परिवर्तित मान्यताअनुकूल बनाउन नयाँ समझदारी श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरले बताए ।
समझदारीमा कामदारको छनोट र भर्नामा लाग्ने सम्पूर्ण शुल्क रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ ।
रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने व्यवस्था पनि रहेको घिमिरेले बताए ।
“युएईमा काम गर्ने नेपाली कामदार र अन्य मुलुकको कामदारको सेवासुविधामा कुनै पनि विभेद हुँदैन ”, उनले भने ।
कामदार र रोजगारदाताबीच विवाद भई अदालतमा मुद्दा परेमा मुद्दाको टुङ्गो नलागेसम्म कानूनी उपचार खोज्नका लागि लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।