प्रेमिकासँग समय बिताउन विमान अपहरणको षड्यन्त्र गर्नेलाई आजीवन कारावास
प्रेमिकासँग समय बिताउन विमान अपहरणको षड्यन्त्र गर्ने एक व्यक्तिलाई अहमदाबादको राष्ट्रिय सुरक्षा एजेन्सीको विशेष अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
मुम्बईका गहना व्यापारी जुलर बिर्जु किशोर सल्ला (३८) लाई एनआईए विशेष अदालतले एन्टी हाइज्याकिङ एक्ट–२०१६ अन्तर्गत मंगलबार अहमदावादमा आजीवन कारावाससहित ५ करोड रुपैयाँ सजाय तोकेको हाे ।
३० अक्टुबर २०१७ मा मुम्बईबाट दिल्ली गइरहेको जेट एयरवेजमा यात्रा गरिरहेका बिरजुले प्लेनमा अपहरणकारी भएको सन्देश लेखेर ट्वाइलेटमा राखिदिएका थिए ।
सूचना पाउने बित्तिकै प्लेनलाई अहमदाबादमा आकस्मिक अवतरण गराइएको थियो ।
बिर्जु जेट एयरवेजको मेनेजरको रुपमा दिल्लीमा काम गर्ने आफ्नी प्रेमिकालाई मुम्बईमै राख्न चाहन्थे । यसका लागि दिल्लीको सेवा बन्द गराउन प्लेन अपहरण जस्तो षड्यन्त्र रच्न पुगेको जनाइएको छ।
युवतीसँग प्रेम हुनुअघि सल्लाको पहिले पनि बिहे भइसकेको र उनका दुई सन्तानसमेत रहेको बताइएको छ ।
उनलाई व्यापारको सिलसिलामा मुम्बईबाट दिल्ली जानुपर्ने भएकाले जेट एयरमा कार्यरत युवतीसँग प्रेम भएको बुझिएको छ ।
सल्लाले युवतीलाई पहिले आफ्नो बिहे भएको नजनाएर सुटुक्क बिहे गरिसकेका थिए । उनले युवतीलाई दिल्लीबाट मुम्बई लैजान पहिले पनि धेरै प्रयास गरिसकेको जनाइएको छ ।
आफूले प्रेमिकालाई मुम्बई लैजान नसकेपछि उनले यस कदम उठाएको र एयरलाइन्सलाई बदनाम गरेर दिल्लीका लागि उडान सधैंका लागि बन्द होस् भन्ने उनको चाहना रहेको बताइएको छ ।
उनले पटकपटक प्रेमिकालाई जागिर छाड्न भनेको तर उनले नमानेको बताइन्छ । विमान अपरहणको हल्लाले जेट एयरको सेवा बन्द हुने र त्यसपछि बेरोजगार प्रेमिका सधैं आफूसँगै हुने उनको सोचाई थियो ।
विमान अपहरणको सन्देश लेखेर ट्वाइलेटमा राखेको पत्रमा– “विमानलाई अपहरण कर्ताले कब्जामा लिएका छन् । विमानलाई दिल्लीमा नउतार्नू। यसलाई सीधै पाक नियन्त्रित कास्मीरमा लैजानू । यस विमानमा १२ अपहरणकर्ता छन् । यदि विमान उतारियो भने मान्छे मरेको सुनिनेछ । यसलाई ठट्टा नसम्झनू । कार्गो एरियामा राखिएको सामानमा विस्फोटक पदार्थ छ । यदि दिल्लीमा अवतरण गराइयो भने नतिजा भोग्नुपर्ला । अल्लाह महान छन्”, लेखेर बिर्जुले आतंक सिर्जना गरेका थिए ।
विमान अपहरणको षड्यन्त्र गर्नेलाई आजीवन कारावास वा मृत्युदण्डमध्ये एकको सजाय तोकिएको छ । –एजेन्सी