रिपोर्टशुक्रबार, ३१ जेठ , २०७६

प्रि–मनसुनमै डेंगुको महामारी

रामु सापकोटा

अघिल्ला वर्षहरूमा मनसुन सकिएपछि मात्र देखिने डेंगु रोगले यस वर्ष प्रि–मनसुनमै महामारीको रूप लिएको छ।

धरान उपमहानगरपालिकामा लामखुट्टे नष्ट गर्न कीटनाशक औषधि छर्दै । तस्वीरः आर. के. राई

अघिल्ला वर्षहरूमा मनसुन सकिएपछि छिटपुट देखिने डेंगुको संक्रमणले यस वर्ष मनसुन अगावै धरानमा महामारीको रूप लिएको छ । गएको एक महीना (३० वैशाख–२९ जेठ) मा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा परीक्षण गरिएका बिरामीमध्ये ५४८ जनामा डेंगुको संक्रमण फेला परेपछि २९ जेठमा स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई ‘डेंगु प्रकोप क्षेत्र’ घोषणा गरेको छ ।

डेंगु फैलिएका ठाउँमा ३० जेठसम्म कसैको ज्यान नगए पनि सरकारी स्तरबाट भएका रोग नियन्त्रणको प्रयास सफल हुनसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार धरानमा अस्वाभाविक रूपमा धेरै जनामा डेंगुको संक्रमण भएकाले यो उपमहानगरपालिकालाई प्रकोप क्षेत्र घोषणा गरिएको हो ।

डेंगुको संक्रमण सबैभन्दा बढी धरानकोे वडा नं. १५ र ८ मा पाइएको छ । यसबाहेक वडा नं. ९, ७ र १३ मा पनि डेंगुका संक्रमितहरू भेटिएका छन् र यो बढ्दो क्रममा छ । योसँगै २९ जेठसम्म इटहरी नगरपालिकामा ७ जना र मोरङ जिल्लाका ९ जनामा पनि डेंंगुको संक्रमण पाइएको छ ।

तीन वर्षअघि झापा र चितवनमा डेंगुको यस्तै प्रकोप फैलिएको थियो । त्यसबेला (सन् २०१६ मा) चितवनमा ६८५ र झापामा ३६७ जनामा डेंगुका बिरामी भेटिएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी विभागका एडिसनल प्रोफेसर नारायणराज भट्टराईका अनुसार सन् २०१६ मा गरिएको अध्ययन अनुसार त्यस वर्ष झापाको दमकमा धेरै जनामा एई.अल्बोपिक्टस जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । ती बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिए पनि अहिले प्रतिष्ठानमा परीक्षण गरिएका बिरामीमध्ये ३० जनाको रगतको नमूना जाँच गर्दा उनीहरूमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।

नियन्त्रणमा सकस
धरानमा डेंगुको नियन्त्रणका लागि अहिले भइरहेका गतिविधि प्रभावकारी हुन नसकेको चिकित्सकहरूले गुनासो गरेका छन् । डेंगु प्रभावित धरानमा प्रदेश सरकार मार्फत कीटनाशक औषधि छरेर नियन्त्रणमा लिने प्रयास भए पनि सफल हुनसकेको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका र्‍यापिड रेस्पोन्स टोली संयोजक डा. विजयकुमार खनाल रोग नियन्त्रणका लागि ‘लामखुट्टे खोज्ने र मार्ने’ (सर्च एण्ड डिस्ट्रोय) गतिविधि जारी रहँदा पनि नियन्त्रणमा आउन नसकेको हुँदा थप काम गर्नु जरूरी भएको बताउँछन् ।

प्रदेश सरकारले हालै डेंगु नियन्त्रण र उपचारका लागि झण्डै रु.८० लाख बजेट विनियोजन गरिएको जनाएको छ । यस्तै, ईडीसीडी मार्फत तीन जना विशेषज्ञहरूको टोली ३० जेठमा धरान पुगेको छ । उक्त टोलीका सदस्य समेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापा भन्छन्, “प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्यकर्मी, चिकित्सक, जनप्रतिनिधि र सरोकारवालालाई रोग कसरी नियन्त्रणमा लिने भनेर सचेत गराउँदैछौं ।”

धरानमा सुक्खा मौसम शुरू भएसँगै पानीको हाहाकार हुने भएकाले विभिन्न स्थानमा लामो समयसम्म पानी जम्मा गरेर राख्ने र त्यस्तो ठाउँमा संक्रमित लामखुट्टेले फुल पार्ने भएकाले डेंगुको प्रकोप बढेको डा. खनाल बताउँछन् । उनी भन्छन्, “रोग नियन्त्रणमा ल्याउनका लागि जनचेतना फैलाउने काम भइरहेको छ ।”

अघिल्लो वर्ष मनसुन सकिएपछि सेप्टेम्बर र नोभेम्बर महीनामा धरानमा करीब १३ जनामा मात्र डेंगुको संक्रमण भेटिएको थियो ।

त्यसो त धरानमा डेंगु रोग पहिचान गर्ने ‘किट’ को समेत अभाव देखिएको छ । ३० जेठमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका शंकास्पद बिरामीको किटको अभावमा परीक्षण हुनसकेको थिएन । धरानमा कार्यरत एक चिकित्सकका अनुसार ‘किट’ अभावमा बिहान अस्पताल आएका बिरामीहरूलाई बेलुका अबेरसम्म ‘होल्ड’ गरेर राख्नु परेको थियो । प्रदेश–१ सरकार र स्थानीय सरकारहरू समेत महामारी ग्रस्त क्षेत्रका अस्पतालहरूमा आवश्यक परीक्षण सामग्री उपलब्ध गराउन चुकेका छन् ।

एडिसनल प्रोफेसर भट्टराईका अनुसार सामान्यतया नेपालमा मनसुन सकिएपछि अर्थात् सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महीनामा डेंगुको संक्रमण देखिने गरेको थियो । तर, यस वर्ष प्रि–मनसुनमै डेंगुले प्रकोपको रूप लिंदा चुनौती थपिएको उनको भनाइ छ ।

सावधानी अपनाउन सुझाव
विश्व स्वास्थ्य संगठनका अनुसार एडिस एजेप्टाइ र एइ.अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु भाइरसको संक्रमण

हुन्छ । यही जातको लामखुट्टेले चिकनगुनिया, यलो फिभर र जिकाको समेत संक्रमण फैलाउने भएकोले यो लामखुट्टे बढी खतरनाक मानिन्छ । चिकित्सकहरूका अनुसार डेंगुको विशिष्ट उपचार नभए पनि, समयमै पत्ता लगाई उपचार थाल्ने हो भने बिरामीमा यसको प्रभाव कम हुनुका साथै संक्रमणमुक्त बनाउन सकिन्छ ।

किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुने गरे पनि लामखुट्टेले पारेका फुलहरू वर्षौंसम्म वातावरणमा रहिरहने हुँदा त्यस्तो फुल उपयुक्त मौसममा लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगुको संक्रमण फैलाउने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने हुँदा घर वरपर पानी जम्न दिनुहुँदैन ।

डेंगुको महामारी प्रमुख स्वास्थ्य समस्या भए पनि वातावरणीय अवस्थाले यो रोग लाग्ने भएकाले विज्ञहरू घर वा समुदाय वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानीलाई छोपेर राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्न सुझाउँछन् ।

चिकित्सकहरूका अनुसार टाउको दुख्ने, वाक्वाकी लाग्ने, ज्वरो आउने र हातखुट्टा दुख्ने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गर्नुपर्छ ।

डब्लूएचओका अनुसार पछिल्ला वर्षहरूमा विश्वमा डेंगु रोगको संक्रमण नाटकीय रूपमा बढ्दो छ । विश्वको आधा जति जनसंख्या डेंगु रोगको जोखिममा छ । गम्भीर प्रकृतिको डेंगु पहिलो पटक सन् १९६० मा फिलिपिन्स र थाइल्याण्डमा देखिएको थियो । आजकल गम्भीर प्रकृतिको डेंगु प्रभाव एशियाली र ल्याटिन अमेरिकी मुलुकहरूमा बढी देखिएको छ । र, यसैकारण ती मुलुकहरूमा वयस्क र बालबालिकाको ज्यान पनि जाने गरेको छ ।

प्रतिकृया दिनुहोस