बी एण्ड सीलाई सम्बन्धन दिने प्रधानमन्त्री र शिक्षामन्त्रीको तयारी
झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री धनिराम पौडेलको अग्रसरतामा कलेजलाई सम्बन्धन दिने तयारी भएको हो ।
कलेजलाई काठमाडौ विश्वविद्यालयले विस्तारित कार्यक्रमको रुपमा सम्बन्धन दिने गरी तयारी थालिएको केयू प्रध्यापक संघका पूर्व अध्यक्ष डा. विभुतिरञ्जन झाको दाबी छ ।
सरकारले डा गोविन्द केसीको पछिल्लो अनशन तोडाउँदा गरेको सम्झौताको पाँच नम्बर बुँदामा चिकित्सा शिक्षा विधेयक पारित नभएसम्म उपत्यका बाहिरका मेडिकल कलेजलाई समेत सम्बन्धन नदिने र विस्तारित कार्यक्रमको रुपमा पनि अनुमति नदिने भनिएको छ ।
यता भने बी एण्ड सीलाई सम्बन्धन दिने तयारी अनुसार नेपाल मेडिकल काउन्सिलका सदस्यहरुको टोलीले ११ दिनअघि विर्तामोड पुगेर कलेजको निरीक्षण गरिसकेका छन् ।
काउन्सिलका तर्फबाट उपाध्यक्ष डा. एई अन्सारी, सदस्य डा. मनोहर प्रधान र डा. पार्थ गुरागाईँको टोलीले कलजेको निरक्षण गरेको थियो ।
शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्काले बी एण्ड सीको निरीक्षणका लागि पत्राचार गरिएको तर, हालसम्म काउन्सिलबाट निरीक्षण प्रतिवेदन मन्त्रालय आईनपुगेको बताए ।
निरीक्षण टोली सदस्य डा. मनोहर प्रधानले हिमाल खबरसँग कुरा गर्दै शिक्षा मन्त्रालयको निर्देशन अनुसार ११ दिनअघि कलेजको प्रारम्भिक निरीक्षण गर्न गएको स्वीकारे ।
प्रधानले भने, “निरीक्षण प्रतिवेदन शिक्षा मन्त्रालयलाई लेखेर पठाउने तयारी भइरहेको छ । सम्बन्धन दिने नदिने भन्नेमा सरकारले निर्णय गर्छ । यो काउन्सिलको अन्तिम निर्णय पनि होइन ।”
यद्यपी मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्मा भने ५ दिन अगाडी नै शिक्षा मन्त्रालयमा उक्त प्रतिवेदन पेश गरिसकेको बताउँछन् ।
स्रोतका अनुसार काउन्सिलले बी एण्ड सीलाई सम्बन्धन दिने गरिको प्रतिवेदन तयार पारेको छ ।
केयू स्रोत अनुसार रामकण्ठ मकाजुलाई पुनः काठमाडौं विश्वविद्यालयको उपकुलपति बनाउने र उनैमार्फत बी एण्ड सीलाई सम्बन्धन दिने तयारी भइरहेको छ ।
यता केयूको उपकुलपति छनोटका लागि १३ मंसीरको सिनेट बैठकले शिक्षामन्त्री धनिराम पौडलको नेतृत्वमा भीसी सर्च कमिटि गठन गरिसकेको छ ।
मकाजुलाई पुनः भीसी बनाएर बी एण्ड सीलाई सम्बन्धन दिने तयारी भइरहेका बेला स्वास्थ्य मन्त्री गगन थापाले २१ मंसीरमा डा. गोविन्द केसीसँग भेट गरेर चिन्ता प्रकट गरेका थिए ।
भेटका क्रममा थापाले मकाजुलाई अर्को कार्यकालका लागि पनि केयूको भीसी बनाउने गरी भइरहेको चलखेल रोक्न तुरुन्तै प्रधानमन्त्री दाहालसँग भेटेर कुरा गर्ने बताएका थिए ।
रामु सापकोटा