'भूकम्पले नेपालीलाई पूर्वाधार निर्माणको अवसर जुरायाे'
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाको सहयोगमा कूपकन्या विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ माङ्खामा निर्र्माण गरिएको विद्यालय भवन बिहीबार एक समारोहका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
टाटा ट्रस्टका डी आर मेहता र सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर तामाङलाई विद्यालय हस्तान्तरण गरेका हुन् ।
रु. ४ करोड लागतमा निर्मित १५ कोठे उक्त विद्यालय भवनमा अत्याधुनिक तरिकाबाट पठनपाठन गराउन सकिने छ भने छात्रा र अपांग मैत्री शौचालय छन् । उक्त विद्यालयमा हाल २४० जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय हस्तान्तरण समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसारको इतिहासमा पूर्वाधार र विकास निर्माणका काम प्राकृतिक विपत्ति र युद्धपछि भएको चर्चा गर्दै २०७२ सालको भूकम्पले नेपालीलाई पूर्वाधार निर्माणको अवसर जुराइदिएकाे बताए ।
दाहालले भूकम्पपछि सबै दल एक ठाउँमा आउन बाध्य भएको र त्यही कारण नै संविधान निर्माण सम्भव भएको उल्लेख गरे ।
सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ राणाका अनुसार टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाको तर्फबाट भूकम्पछि सिन्धुपाल्चोक जिल्लामा ७ वटा विद्यालय भवन र १ हेल्थपोष्ट निर्माण गरिएको छ ।