ब्लगबिहिबार, ३० जेठ , २०७६

जङ्गबहादुरको उज्याला पाटा

भैरव रिसालको स्तम्भ ‘भोगेको, देखेको, सुनेको’

भैरव रिसाल

इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्। 

भैरव रिसाल

देशको राजनीतिक इतिहासमा श्री ३ जङ्गबहादुर कुँवर राणाले जम्मा ३० वर्ष राजपाठ गरे । निरंकुश राणा शासनको जग बसाएका उनले तीन दशक लामो राज्यकालमा नराम्रा काम मात्र गरेनन् । देशमा दैवी प्रकोप परेको बेला खर्च गर्न उनले वि.सं. १९२५ मा कौसी तोसाखाना नामको ढुकुटी स्थापना गरेर रु.११ करोड राखेका थिए ।

त्यो समयमा यति रकम असाध्यै ठूलो थियो । वन संरक्षणको लागि उनले पहाड, मधेश र काठमाडौं खाल्डोमा रूख काट्नेलाई ऐनमै सजाय तोके । यस्तै, ‘बोक्सी’ को आरोप लगाउने रुढिवादी पक्षधरहरूलाई दण्ड सजायको व्यवस्था गरी सामाजिक सुधारको पहल गरे ।

जङ्गबहादुरले कानूनी र प्रशासनिक पाटोमा पनि काम गरेको पाइन्छ । कौसल अड्डा (भारदारी सभा) र जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘किताबखाना’ अड्डा स्थापना गराए ।

घूस खाने र खुवाउनेहरू दुवैको छानबिन गरी सजायका निम्ति धर्मकचहरीको पनि स्थापना गराए । त्यसले सजायका निम्ति श्री ३ समक्ष मुद्दा पेश गर्नुपर्थ्याे । उनले नेपाल राज्यको नापी गराई नक्शा बनाउन लगाएको इतिहास पनि छ ।

यससँगै जन्म र मृत्युको अभिलेख राख्ने व्यवस्था पनि गरेछन् । उनले भारततर्फको सिमानामा किल्ला ठोकेर साँध छुट्याउने काम पनि गराए, जसलाई जङ्गेपिलर भनिन्छ । 

विदेशी मुद्राको लेनदेन र खासगरी भारतीय मुद्रा कम्पनीको कारोबार गर्न सराफखाना नामक अड्डा खोलियो । पहाड, मधेश र दुर्गम भेगमा हुलाकको बन्दोबस्त पनि जङ्गबहादुरले नै गरेछन् । उनले थापाथली दरबारको कम्पाउण्डभित्रै दरबार स्कूल सञ्चालन गराए । 

जङ्गबहादुर राणा । तस्वीर : हिस्ट्रीलेसनेपाल ।

धर्मभकारी र अन्य काम
प्रधानमन्त्री जङ्गबहादुरले स्वास्थ्य सेवामा पनि केही शुरूआत गरेका थिए । आज जस्तो एलोप्याथी औषधिको वर्चस्व नरहेको त्यो बेला उनले थापाथली दरबार कम्पाउण्डभित्र वैद्यखाना स्थापना गराएर आयुर्वेदिक औषधिको प्रयोगमा बढावा दिए । बिफर जस्तो घातक रोग विरुद्ध लड्न खोप लगाउने प्रणाली पनि उनैले बसाएका रहेछन् ।

राणा शासकको दूरदर्शिता पनि बिछट्टैको ! भोकमरी लागेमा जनता मर्ने अवस्था नआओस् भनेर प्रधानमन्त्री जङ्गबहादुरले १९२३ सालमा ठाउँठाउँमा धर्मभकारी खडा गराएर अन्न जम्मा पारेका रहेछन् ।

वि.सं. १९२६ मा काठमाडौंमा भयंकर अनिकाल पर्दा सरकारले तराईबाट तुरुन्तै चामल झिकाई रु.१ को चार पाथीको दरले बिक्री गर्‍यो । धर्मभकारीका लागि अन्न जोहो गर्न मालपोत लिंदा आधा नगद र आधा जिन्सी लिने गरिएको थियो । यो काम गर्न तराईमा जमीनदार चौधरी र पटवारीलाई, पहाडतर्फ थरी, मुखिया, जिम्मावाललाई तोकिन्थ्यो ।

सन् १८५७ मा भारतमा भएको आन्तरिक विद्रोहमा ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारलाई सघाए वापत इष्ट इण्डिया सरकारले सुगौली सन्धिबाट सन् १८१७ मा कब्जा गरेको नेपालको भूमिमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको थियो।

जङ्गबहादुरले वि.सं. १९१७ मा देशभर जनगणना गराएका थिए । जसमा ५२ लाखको आँकडा निस्किएको थियो ।

भोटसँग युद्ध गर्ने तयारीका क्रममा उनले त्यसतर्फ जाने बाटोको मर्मत गराए, ठाउँठाउँमा पुल बनाउन लगाए । भोटसँग सम्झैता गरी नेपालले चामल पठाउने र भोटबाट नून ल्याउने वस्तु विनिमय व्यापारको व्यवस्था गरे ।

उनले मन्दिर र गुम्बाहरूको मर्मत र आवश्यक परेको ठाउँमा जीर्णोद्धार पनि गराए । पशुपति मृगस्थलीमा विश्वरूपको विशाल मूर्तिको साथै मन्दिर स्थापना गराए । वागमती नदीको तीरमा कालमोचनदेखि पंचायनसम्म घाट समेत बनाउन लगाए ।

जङ्गबहादुरको प्रधामन्त्रीत्वकालमा पनि मालपोत उठाइन्थ्यो । तर, पोत उठाउन अत्यन्तै चर्को पर्दो रहेछ, खासगरी तराई मधेशतिर । मालपोत उठाउने सरकारी कर्मचारीलाई गाउँमा देख्नासाथ सम्पूर्ण पुरुषहरू मुग्लान–भारत पस्दा रहेछन् । यसै कारण जङ्गबहादुरले ‘चौधरीहरू’ को बन्दोबस्त गरे ।

आफ्नो क्षेत्रको जग्गा जमीनको मालपोत चौधरीले नउठाए त्यस वापतको पोत उसैले भर्नुपर्ने नियम बसालिएछ । मालपोत उठाउने काम वापत चौधरीलाई गाउँघरका सानातिना मुद्दामामिलाको छिनोफानो गर्न पाउने अधिकार दिइएको थियो ।

सन् १८५७ मा भारतमा भएको आन्तरिक विद्रोहमा ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारलाई सघाउन सेनाका १४ हजार जवान लिएर जङ्गबहादुर आफैं लखनऊ पुगेका थिए ।

त्यस वापत इष्ट इण्डिया सरकारले सुगौली सन्धिबाट सन् १८१७ मा कब्जा गरेको नेपालको भूमिमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको थियो । 

 

प्रतिकृया दिनुहोस