समाचारबिहिबार, ३० जेठ , २०७६

मिडिया काउन्सिल विधेयकबारे कार्यवाहक प्रधानमन्त्री र सम्पादकबीच छलफल

रासस

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मिडिया काउन्सिल विधेयकका बारेमा छलफल गरेर समस्यालाई किनारा लगाउन सरकार तयार रहेको बताएका छन् । 

विधेयकको विषयमा राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि यस विषयमा थप छलफल गरिने बताए । 

विधेयकको चौतर्फी बिरोध भइरहेको बेला सम्पादकलाई बोलाएर परामर्श गरेका उपप्रधानमन्त्री पोखरेलले आपसी बुझाईका कारण कतिपय समस्या बल्झने गरेको उल्लेख गरे । 

“विधेयक फिर्ता वा परिमार्जनभन्दा पनि यसमा सम्बोधन हुनुपर्ने विषयवस्तुबारे थप छलफल गरेर समस्यालाई किनारा लगाउन सरकार तयार छ”, उनले भने ।

राजनीतिक प्रणालीमा आएको परिवर्तनसँगै हरेक क्षेत्रमा यस व्यवस्थालाई सुहाउँदो कानून र संरचना बनाउन बाँकी नै रहेकाले हरेक क्षेत्रमा केही अन्योल र समस्या रहेको उनको भनाइ छ ।

२७ वैशाखमा राष्ट्रियसभामा दर्ता भएको सो विधेयकमा पत्रकारलाई दण्ड र जरिवाना, काउन्सिलमा पदाधिकारी नियुक्तिको व्यवस्थालगायतका प्रस्तावमा पत्रकारिता क्षेत्रले विरोध जनाउँदै आएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका सांसद योगेश भट्टराईको उपस्थितिमा छलफल भएको थियो । 

सम्पादकसंगको छलफलमा उपनेता नेम्वाङले छलफल गरिनु सकारात्मक भएको उल्लेख गर्दै विधेयकबारे उठाइएका सवाल सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली पनि सकारात्मक रहेको जानकारी दिए ।

उनले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको भावना अनुकूल विधेयकलाई संसद्बाट परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरे ।

सम्पादकहरुले लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतको पनि साथ रहेको स्मरण गराउँदै लोकतान्त्रिक आन्दोलनकै जगबाट आएको सरकारले प्रेसलाई नियन्त्रण गर्ने सोच राखेर कानून ल्याउन नहुनेमा जोड दिएका थिए । 

उनीहरुले पत्रकार आचारसंहिताको पालनाका लागि आफूहरु पनि गम्भीर रहेको बताएका थिए ।  उनीहरुले विधेयक फिर्ता वा परिमार्जन जे गरे पनि प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्ने बताएका थिए । 

प्रतिकृया दिनुहोस