सुर्पुदगी विधेयकविरुद्ध हङकङमा आन्दोलन जारी, आन्दोलनकारीमाथि रबरको गोली प्रहार
सुपुर्दगी सम्बन्धी विवादास्पद विधेयकको विरोधमा शुरु भएको आन्दोलन हिंस्रक हुन थालेपछि प्रहरीले भीडमाथि रबरको गोली प्रहार गरेको छ ।
प्रदर्शनकारीहरूले सरकारी भवन वरपरका मुख्य सडक अवरुद्ध पारेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले विरोध प्रदर्शनले दंगाको रूप लिएकाले बल प्रयोग गर्नुपरेको बताएको जनाइएको छ ।
सरकारले उक्त विधेयकलाई अघि बढाउँदैछ । विधेयकले अपराधीलाई मुद्दा चलाउन चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन सहज तुल्याउने बताइएको छ ।
सरकारले व्यापक विरोधका बीच पनि विधेयकलाई अगाडि बढाउने बताएको जनाइएको छ ।
चीनका विदेश मन्त्रालयका प्रवक्ताले पनि आफू यस विधेयकका पक्षमा भएको बताएका छन् । उनले चीन सरकारले सुपुर्दगी कानूनलाई संशोधन गर्न हङकङलाई समर्थन दिइरहने बताएको पनि जनाइएको छ ।
उक्त विधेयक जून २० मा लेजिस्लेटिभ काउन्सिलको बैठकपछि पारित हुने जनाइएको छ । गत आइतबार पनि हङकङमा १० लाख बढी आन्दोलनकारी सडकमा आएर विधेयकको विरोध गरेको बताइएको छ ।
विधेयक पारित भएपछि हङकङको खुकुलो कानून व्यवस्थामा रहेकाहरूले चीनको कडा कानून भोग्नुपर्ने बताइन्छ । हङकङमा थोरैलाई मात्र चीनको कानूनमाथि विश्वास भएको बताइन्छ ।
हङकङमा लुकिछिपी बसेका फरार अपराधी बढिरहेकोमा चीन चिन्तित भएको बताइन्छ । फरार अपराधीका लागि हङकङ 'स्वर्ग' नै मानिएको छ ।
सरकारले यो कानून जतिसक्दो चाँडो पारित गराउन चाहेको बताइएको छ । कानूनको अभावमा हङकङको सुरक्षा चुनौती बढेको बताइएको छ । साथै हङकङ अपराधीको अड्डा बन्दै गएको अधिकारीको भनाइ रहेको बताइन्छ । –एजेन्सी