समाचारबिहिबार, ३० जेठ , २०७६

झाेलुङ्गे पुल मूल्याङ्कन गर्न घुस लिने इञ्जिनियर पक्राउ

रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई रू एक लाख घुससहित पक्राउ गरेको छ ।

श्रेष्ठलाई बोदे बसाइन नगरपालिकास्थित स्वर्ण खोलाको झोलुङ्गे पुलको मूल्यांकन गर्ने क्रममा लिएको घुस सहित राजविराज नगरपालिका–६ स्थित आफ्नै डेराबाट पक्राउ गरिएको हो ।

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजीव रायले बिहानै श्रेष्ठको डेरामा रु एक लाख बुझाएको अख्तियारले जनाएको छ । 

आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको नेतृत्वको टोलीले डेरामा छापा मार्दा घुस लिएको रकम फेला पारेको
वडाध्यक्ष प्रेमकुमार यादवले बताए ।

पक्राउ परेका श्रेष्ठले स्वर्ण खोलाको काम बोदे बसाइन नगरपालिका अन्तर्गत परेकाले आफूले मूल्याङ्कन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मूल्याङ्कन गरी दिन दबाब दिँदै आएको थियो ।

पहिलो किस्तावापत पेश्की लिएको रकमबाट काम सम्पन्न नभएको भन्दै मूल्याङ्कन नहुँदा २०७० देखि नै थालिएको पुल निर्माण मूल्याङ्कन नहुँदा अधुरै छ ।

प्रतिकृया दिनुहोस