गुठी विधेयक विवादमा सरकार–आन्दोलनकारीबीच सहमति
सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोध गर्दै आन्दोलनमा रहेका काठमाडौंवासी, गुठियार र भूमिसुधार मन्त्रालयबीच बुधबार भएको वार्तामा आएका राय, सल्लाह र सुझावबाटै मन्त्रालय अगाडि बढ्ने सहमति भएको छ ।
सरकारले ल्याएको विधेयकले उपत्यकावासीको भावनामा धेरै ठूलो चोट पुर्याएको उनीहरूको गुनासो थियो ।
विधेयकले संस्कार, संस्कृति र चाडपर्वहरूमा समेत प्रहार गरेको भन्दै आन्दोलन गरिरहेका उनीहरूले विधेयक फिर्ता लिएर आन्दोलनको आगो निभाउन मन्त्री अर्याललाई भनेका थिए ।
निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनीहरूले विधेयक बाँकी रहँदासम्म घरघरमा विरोधको आगो बलिरहने बताएका थिए ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजधानीको आन्दोलन चानेचुने नभएको र विधेयक परिमार्जनसहित आउनुपर्ने बताएका थिए ।
करीब तीन घण्टा मन्त्रालयमै रहेको जनप्रतिनिधि र गुठियारको टोलीले विधेयकको व्यवस्थाले आफ्नो समुदाय धर्म, संस्कृतिमाथि चोट पुर्याएको बताएका थिए ।
धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्ने उद्देश्य सरकारको नभएको भन्दै मन्त्री अर्यालले केही चूक भए छलफलबाट मिलाउनुपर्ने बताइन् ।
विधेयकलाई कसरी परिमार्जन गर्ने भन्नेबारे सुझावसहित आउन पनि मन्त्री अर्यालले टोलीलाई आग्रह गरेकी थिइन् ।
विधेयक विधेयक संसदमा गइसकेकाले संसदबाटै मिलाउनु पर्ने मन्त्री अर्यालको भनाइ थियो । उनले गुठीसँग भावनात्मक साइनो जोडिएका उपत्यकावासीको मन नदुखाउने प्रतिबद्धता गुठियारहरूलाई जनाएकी थिइन् ।
त्यसपछि उपत्यकाका जनप्रतिनिधि र मन्त्रीसहित मन्त्रालयका पदाधिकारीबीच भएको झन्डै डेढ घण्टा छलफलले मन्त्रालयका तर्फबाट विज्ञप्ति निकाल्ने सहमतिपछि मन्त्रालयका प्रवक्ताले विज्ञप्ति पनि निकालेका छन् ।
बैठकमा विज्ञप्तिमा बाहेक आन्दोलन रोक्न प्रतिनिधिहरूले पहल गर्ने र मन्त्रालयले विधेयकका दफा परिमार्जनको पहल गर्ने भन्ने सहमति भएको पनि बताइएको छ ।