समाचारबिहिबार, ३० जेठ , २०७६

हाइड्रोपावरले जानकारी नदिई ड्याम खोल्दा युवती बेपत्ता

रासस

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी एक युवतीलाई बगाएको छ ।

धादिङको टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो ।

दाङ जिल्ला घर भएकी युवती काठमाडौंस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् ।

अध्ययनकै क्रममा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन् ।

हाइड्रोपावरले यसअघि पनि जानकारी नदिई ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासीले बताएका छन् । तर, आँखुखोला हाइड्रोपावरले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएकाे छ ।

गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने स्थानीयले बताएका छन् ।

बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस