हज टिकटमा भ्रष्टाचार : १० जना विरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन समितिका अध्यक्ष मोहम्मद शोएब सहित १० जना विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
गतवर्ष हज यात्रीहरुका लागि साउदी अरब जाने टिकट व्यवस्थापनमा भ्रष्टाचार गरेको अभियोगमा १० जनाबिरुद्ध आरोप–पत्र दायर गरेको हो ।
अख्तियारले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष शोएब सहित सदस्यहरु अतावुल अन्सारी, मोहम्मद इब्राहिम राइन, महमद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना बानु मुस्लिम, मजिबुल शेख, हज समितिका सदस्य-सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभल्स् एण्ड टुर्स् प्रालिका दाउद हुसेन विरुद्ध मुद्दा दायर गरेकाे हाे ।
उनीहरुलाई जनही ३८ लाखका दरले बिगो दाबी सहित सजायको माग गरिएकाे छ ।
हवाई टिकटको व्यवस्था गर्दा शिलबन्दी बोलपत्रमा सबैभन्दा कम रकम कबोल गर्नेलाई पाखा लगाएर दोश्रो कम अंक कबोल गर्ने हिना ट्राभल्सलाई दिएको अख्तियारको आरोप छ ।
आरोपपत्रमा बदनियतपूर्वक मिलेमतोमा उक्त गैरकानूनी निर्णय कार्यान्वयन गर्दा सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको उल्लेख छ ।