डेढ अर्बको लगानीमा सुविधा सम्पन्न बाल अस्पताल खोलिंदै
काठमाडौंमा पहिलो पटक बाल स्वास्थ्य सम्बन्धी सबै रोगको उपचार सेवा सहितको अस्पताल खोलिने भएको छ ।
चिकित्सक तथा व्यवसायीको सहकार्यमा खुल्न लागेकाे अस्पतालको नाम ‘काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ’ राखिएको छ ।
“एउटै छानामुनि बाल रोग विशेषज्ञ सहितको उपचार गर्ने सेवा सुविधा नभएकाले अस्पताल खोल्न लागिएको हो”, संस्थाका अध्यक्ष मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला भन्छन् ।
उनका अनुसार, गैरसरकारी र गैरनाफामूलक यो अस्पतालमा गरिबलाई निःशुल्क र अन्यलाई सरकारी शुल्कमा उपचार गरिनेछ । क्याबिन सुविधाको सेवा लिन चाहनेलाई भने निजी अस्पताल सरह शुल्क लिइने उनी बताउँछन् ।
१०० शय्या क्षमताको यो अस्पतालमा पहिलो चरणमा जनरल पेडियाट्रिक, आईसीयू, कार्डियोथोरासिक, साइकियाट्रिक र क्यान्सर रोग सम्बन्धी उपचार हुनेछ ।
जग्गा बाहेक झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा संचालन हुन लागेको अस्पतालको निर्माण ६ महीनाभित्रमा शुरू गर्ने योजना छ । कोइरालाका अनुसार, अहिले अस्पतालका लागि चाहिने जग्गा भाडामा लिन सरकारसँग कुराकानी भइरहेको छ ।
अस्पतालले उपचारका साथै अनुसन्धान र चिकित्सकलाई तालिम पनि दिने बताइएको छ ।
यस्तै, चिकित्सकलाई ‘रोटेसन’ मा उपत्यका बाहिरका अस्पतालमा समेत खटाइनेछ । “काठमाडौंलाई केन्द्र बनाएर सात वटै प्रदेशमा अस्पतालको सेवा विस्तार गरिने लक्ष्य छ”, डा. कोइराला भन्छन् ।
‘पब्लिक सर्भिस’ मोडलमा स्थापना हुन लागेको इन्ष्टिच्युटको संचालक समितिमा करुणा फाउन्डेसनका निर्देशक दीपक सापकोटा, पत्रकार गोविन्द अधिकारी, बुद्ध एअरका संचालक वीरेन्द्रबहादुर बस्नेत, शहीद गंगालाल हृदयरोग अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सानिमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल छन् ।