भोकेसनल कोर्स पढ्न विदेश जान नपाइने
नेपाल सरकारले भोकेसनल कोर्सका लागि विदेश पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्शन लेटर (विदेश अध्ययन अनुमतिपत्र) नदिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९–१२ कक्षा माध्यमिक शिक्षा भइसकेको कारण सोही लेभल पढ्न विदेश जाने अनुमति नदिने भएको हो ।
शिक्षा मन्त्रालयका उपसचिव एवम् विदेश अध्ययन अनुमतिपत्र दिने शाखा प्रमुख महेश्वर शर्माका अनुसार उच्च शिक्षामा भर्ना भएर त्यसका लागि आवश्यक भाषा वा ब्रिज कोर्स पढ्न जानेहरुले भने एनओसी पाउनेछन् ।
उदाहरणको लागि विदेशको कलेज वा विश्वविद्यालयमा स्नातक तहमा भर्ना भइसकेको विद्यार्थीले उक्त तहको लागि आवश्यक पर्ने मापदण्ड पुर्याउन भाषा वा ब्रिज कोर्स पढ्न अनुमति पाउनेछ ।
यसअघि कक्षा ११ र १२ लाई उच्च शिक्षा मानिन्थ्यो । त्यहीअनुसार मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ दिंदै आएको थियो ।
मन्त्रालयले यसअघि विदेशमा एक वा दुई वर्ष डिप्लोमा पढेकालाई १२ कक्षा सरहको मान्यता दिने गरेको थियो । “डिप्लोमा पढ्न जानेहरुलाई मात्रै एनओसी रोकेको हो,” शर्मा भन्छन्– “डिप्लोमा हाम्रो १२ कक्षा सरहको शिक्षा हो ।”
विदेशमा परिवार भएका वा पुष्टि हुने अन्य व्यक्तिगत कारण भएमा भने १२ कक्षा पास नगरेका विद्यार्थीले पनि एनओसी पाउने शर्मा बताउँछन् ।
स्नातक, स्नातकोत्तर वा त्योभन्दा माथिल्लो तह पढ्न जान चाहनेहरुका लागि भने यो निर्णयले कुनै अफ्ठ्यारो पर्ने छैन ।
शिक्षा मन्त्रालयको यो निर्णयसँगै अष्ट्रेलिया, जापान लगायतका देश जाने विद्यार्थीको संख्या घट्ने देखिन्छ ।
पछिल्लो समय भोकेसनल कोर्सका लागि अष्ट्रेलिया आकर्षक गन्तव्य थियो । त्यसका साथै भाषा मात्रै पढ्न जापान लगायतका अन्य देश जाने विद्यार्थी पनि प्रभावित हुनेछन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का महासचिव शेषराज भट्टराई सरकारको यो निर्णयलाई अपरिपक्क र अव्यवहारिक मान्छन् ।
“स्वदेशमा पनि गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने र विदेश पढ्न जानेलाई पनि रोक लगाउने निर्णय गलत छ,” उनी भन्छन्– “यसले भोलि समाजमा ‘मास फ्रष्टेशन’ ल्याउन सक्छ ।”
सरकारले अरुकै प्रभावमा परेर उक्त निर्णय गरेको भट्टराईको भनाइ छ ।
यसलाई सच्याउन र ‘पढ्न पाउने अधिकार’ बाट कसैलाई बञ्चित नगर्न इक्यानले माग समेत गरेको छ ।
शिक्षा मन्त्रालयको तथ्याङअनुसार गत वर्ष ७१ हजार विद्यार्थीले एनओसी लिएका थिए । एनओसी लिएका मध्ये करीब ६० प्रतिशत विद्यार्थी पढ्नको लागि विदेश जाने अनुमान गरिन्छ ।