नेपालले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन् ।
बीबीसी वर्ल्डका लागि दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट पारे।
नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा प्रधानमन्त्रीले भने, “हामी लगानीका लागि आमन्त्रण गर्छौं । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौं, जथाभावी स्वीकार गर्दैनौं । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौं । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौं र यसको हिसाबकिताब पनि गरेका छौँ ।”
विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए ।
ओलीले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे ।
कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो ।
यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण– सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यून मूल्य रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । “आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरूले धेरै दिन कुर्नुपर्छ । यसमा पुनर्विचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन,” उनले भने ।
आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे ।
“हामीले केही नियममा संशोधन गरेका छौं । पथप्रदर्शकको संख्या, अक्सिजन सिलिण्डरको संख्या, तयारी आवश्यकता, आरोहणको उचित संख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।
यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग लण्डनको केनसिङटन प्यालेसमा भेट गरेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच नेपाल र बेलायतबीचको सम्बन्धबारे छलफल भएको थियो।
प्रधानमन्त्री ओली र बेलायती समकक्षी थेरेसा मेबीच पनि मंगलबार भेटवार्ता भएको छ । लण्डनस्थित मेको निवास टेन डाउनिङ स्ट्रिटमा भेटवार्ता भएको हो ।
नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको अवस्थामा, बेलायती प्रधानमन्त्री मेसँग दुई पक्षीय भेटले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने प्रधानमन्त्री ओलीले बताएका थिए ।
बेलायती प्रधानमन्त्री मेले पनि नेपालको विकास र समृद्घिका लागि आगामी दिनमा सहयोगको प्रतिबद्वता जनाएकी थिइन् ।
‘मेसमक्ष प्रधानमन्त्री ओलीले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्याबारे सन् १९४७ मा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री मेसँग भेटवार्तापछि प्रधानमन्त्री ओलीले वेष्टमिन्स्टरस्थित बेलायती संसदको भ्रमण गरेका थिए ।