थप समाचारमंगलबार, २८ जेठ , २०७६

मुगुमा ९ महीनामा ३ सय ७३ सुरक्षित गर्भपतन

हिमालखबर

हिमाली जिल्ला मुगुमा सुरक्षित गर्भपतन सेवा थप प्रभावकारी बन्दै गएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीले निःशुल्क रूपमा उक्त सेवा प्रदान गर्ने हुँदा छोटो समयमा सुरक्षित गर्भपतन सेवाको प्रभावकारिता बढेको हो ।

गैह्रसरकारी संस्था आइपास नेपालको आर्थिक सहयोगमा जिल्ला अस्पताल मुगु, प्राथमिक स्वास्थ्य केन्द्र रातापानी, स्वास्थ्यचौकी श्रीकोट, स्वास्थ्यचौकी जिमा, स्वास्थ्यचौकी पुलु, स्वास्थ्यचौकी ढुङ्गेधारा र स्वास्थ्यचौकी नार्थपुमा २०७४ माघदेखि यो सेवा सुरु गरिएको आइपास नेपालका मुगु जिल्ला संयोजक लोगबहादुर विकले जानकारी गराए ।

१२ सातासम्मको गर्भपतन सेवा जिल्ला अस्पतालमा औषधि तथा उपकरणको प्रयोगले गरिदै आएको जिल्ला अस्पताल मुगुकी सिनियर अनमी पुण्य प्रभा देवकोटाले बताइन् ।

९ सातासम्मको गर्भपतन बाहिरी सूचीकृत स्वास्थ्य केन्द्रतिर औषधिको प्रयोगबाट गरिंदै आएको छ, । यसअघि गर्भपतन गराउनुपरे दुर्गम गाउँका महिला सदरमुकाम तथा अन्य जिल्लाका निजी स्वास्थ्य क्लिनिकतिर जान बाध्य थिए ।

गाउँघरकै स्वास्थ्य संस्थामा औषधिद्वारा निःशुल्क गर्भपतन सेवा सञ्चालन हुँदा थप प्रभावकारी भएको देवकोटाको भनाइ छ । दुर्गम गाउँघरका कैयौं अशिक्षित महिलाले विगत वर्षमा लुकिछिपी अवैध औषधि सेवन गरेर गर्भपतन गराउँदा ज्यानसमेत गुमाएका थिए ।

९ महीनामा ३ सय ७३ ले गर्भपतन गराए

०७५ साउनयताको तथ्यांक अनुसार जिल्लाभरि ९ महीनामा ३ सय ७३ जनाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन् । सामान्यतया सेवा लिनेमा २० देखि ४० वर्षका महिला रहेका छन् ।

जिल्ला अस्पतालमा १ सय २५ जना, प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा ६०, स्वास्थ्य चौकी श्रीकोटमा एक सय ४९ जना र जिमा स्वास्थ्य चौकीमा ३९ जना महिलाले औषधि सेवन तथा औजारको प्रयोगमा सुरक्षित गर्भपतन गराएको आइपास कार्यक्रमका जिल्ला संयोजक लोगबहादुर विकले जानकारी गराए ।

सुरक्षित गर्भपतनसँगै परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्यामा समेत वृद्धि भएको छ । सुरक्षित गर्भपतनपछि ८ दिनमै पुनः गर्भ रहन सक्ने हुँदा उक्त सेवा लिएका महिलालाई परिवार नियोजनका साधन प्रयोग गर्न अनिवार्य गरिएको संयोजक विकले बताए ।
सुरक्षित गर्भपतन गर्न कानूनी व्यवस्था

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ मा उल्लेख भए अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित तरीकाले गर्भपतन गर्न पाइने कानूनी व्यवस्था रहेको महिला कानुन र विकास मञ्चका कानुनी अधिकृत तथा अधिवक्ता नवीन कुमाार श्रेष्ठले जानकारी गराए । उनका अनुसार, “हाडनाता करणी वा जबर्जस्ती करणीबाट रहन गएको गर्भ २८ हप्तासम्म सुरक्षित गर्भपतन गर्न पाइने कानुनी व्यवस्था छ।

अन्य हकमा गर्भवती महिलाको ज्यानमा खतरा हुन सक्ने भएमा, शारीरिक\मानसिक असर पर्ने भएमा, विकलाङ्ग बच्चा जन्मन सक्ने र गम्भीर रोग एचआईभी भएमा महिलाको मञ्जुरीमा चिकित्सकको सल्लाह अनुसार जुनसुकै अवस्थामा २८ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी व्यवस्था भएको अधिवक्ता श्रेष्ठको भनाइ छ ।

गर्भवती महिलाको मञ्जुरीबिना करकाप, धम्की, प्रलोभन, ललाइफकाई, भु्रण लिङ्ग पहिचान गरी, कानूनले तोकेको अवधि बाहेक अन्य अवस्थामा गर्भपतन गरिए उक्त ऐनमा उल्लिखित कानून अनुसार जेल सजाय र जरिवाना गरिने व्यवस्था भएको उनले बताए।

–अच्युतराज भण्डारी

 

प्रतिकृया दिनुहोस