घोडा सवारीमा राराको फन्को
रारातालदेखि ताल्च एयरपोर्टसम्म २ हजार, मुर्माटप सम्म २ हजार, सल्लेरी रारा १ हजार, माथिल्लो मिलीसम्म ८ सय, तालछेउमै फोटो खिचेको ५० र थोरै घुमाएको एक सय लिने गर्छन्।
केशरबहादुर शाही रारामा पर्यटकलाई घोडामा चढाउँदै ताल क्षेत्र घुमाएर वर्षमा ८० हजारदेखि १ लाखसम्म कमाउँछन् । छायाँनाथ रारा नगरपालिका– ७ टोप्ला गाउँका शाही पर्यटकलाई घोडामा डुलाउँदै छोराछोरीलाई उच्च शिक्षा पढाई भविष्य सुधार्दै छन्।
२ छोरा एक छोरीलाई एसएलसी पास गराए, उनी भन्छन्, “छोरा सुर्खेतमा बीएड पढ्दै छ, छोरीलाई भेट्नरी जेटिए पढाएँ, अर्को छोरा १२ मा पढ्दै छ ।”
विगत ४ वर्षदेखि राराताल आसपासमा पर्यटकलाई घोडामा घुमाउँदै जम्मा भएको पैसाले छोराछोरीको उच्चशिक्षामा लगानी गरेको केशरबहादुर बताउँछन् । उनीसँग ३ वटा घोडा छन्, घोडामा पर्यटक घुमाएवापत आउने रकम नै उनको आम्दानीको स्रोत हो ।”
सुरुका दिनमा पर्यटकको सिजन चलेको बेला दिनमै ९, १० हजारसम्म कमाइ हुने गथ्र्यो । अहिले घोडाको संख्या बढेपछि घोडा व्यवसायीमा प्रतिस्पर्धा हुँदा दिनमा ३ देखि ५ हजारसम्म कमाइ हुने उनी बताउँछन् । रारामा शहीजस्तै घोडा चलाएर रोजीरोटी जुटाउनेहरू दर्जनौं छन् ।
अर्का खत्याड गाउँपालिका– ६ गम्थाका ४० वर्षीया चन्द्रसिंह रावल पनि गतवर्ष ६० हजार कमाइ भएको बताउँछन् । घोडा व्यवसायबाटै ३ छोराछोरीको पढाइ खर्च जुटाएको उनले सुनाए।
पर्यटक घुमाएर घरखर्च चलाउने गरेका अर्का टोप्ला गाउँका लालबहादुर शाही बिहानै उठ्छन् । घोडामा लत्ताकपडा र काठी कसेर रारातालको बाटो लाग्छन् ।
कुनै दिन घर नजिकैको सल्लेरीदेखि नै पर्यटक भेटिने उनले सुनाए । पर्यटक खाली नभएको दिन ५ हजारसम्म कमाइ हुने गरेको उनले बताए गतवर्ष ८० हजार कमाइ भएको थियो । उनले भने यो वर्ष घोडाको संख्या बढ्यो पर्यटक पनि कमै आए कमाइ घटेको छ ।
रारामा २ सय बढी घोडा व्यवसायी
यतिबेला रारामा करीब २ सय ५० घोडाले सेवा दिइरहेका छन् । घोडालाई ताल वरिपरि घुमाएर पर्यटकको खोजीमा हुन्छन् व्यवसायीहरू । पर्यटकसँग पैसाको बार्गेनिङ गर्दै आफ्नो घोडामा चढाउन उनीहरू लागिपर्छन् ।
व्यवसायीले घोडामा चढाएवापत रारातालदेखि विभिन्न ठाउँको आफैले भाडा निर्धारण गरेका छन् । घोडा चढेर घुम्दा विभिन्न स्थानको फरक मूल्य व्यवसायीले लिंदै आएका छन् ।
रारातालदेखि ताल्च एयरपोर्टसम्म २ हजार, मुर्माटप सम्म २ हजार, सल्लेरी रारा १ हजार, माथिल्लो मिलीसम्म ८ सय, तालछेउमै फोटो खिचेको ५० र थोरै घुमाएको एक सय लिने गर्छन्।
रारामा आउने हरेक पर्यटकको रोजाइमा घोडचढी हुने गर्छ । यति बेला रारामा पर्यटक बढेको होटल व्यवसायी बताउँछन् । ताल क्षेत्रमा घोडाको संख्या थामी नसक्नु छ ।
तर कुनै समिति र व्यवस्थापनबिनै आफ्नै मनोमानी तरीकाले चलिरहेको झ्यारी गाउँका व्यवसायी सन्तोष रावत बताउँछन् ।
–अच्युत राज भण्डारी