थली–साँखु सडक बनाउन दबाब दिंदै स्थानीय आन्दोलित
चाबहिल–थली–साँखु सडक लामो समयदेखि नबनेकोमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीवासी आन्दोलित भएका हुन् ।
वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारका विभिन्न सडक कालोपत्र गर्न थाले पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायत सडकमा ठूला–ठूला खाल्डाखुल्डीमा दैनिक आवतजावत गर्ने सवारीसाधन र उपभोक्ताले सडककै कारण निकै कष्ट भोग्नुपरेको स्थानीयवासी बताउँछन् ।
मंगलबार बिहान थलीका स्थानीयवासीले सडक बन्द गर्दै प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयवासीले कुनै पनि सवारीसाधन चल्न नदिई सडक अवरुद्ध गरेका थिए ।
सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले कान्तिपुर क्याम्पस अगाडि, मिलनचोक र थलीमा सडक अवरोध गरेका थिए ।
११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।