प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन– आलोपालो प्रधानमन्त्री बन्ने कुरा पार्टीको निर्णय अनुसार हुने
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए ।
प्रधानमन्त्री ओलीले सम्बोधनमा नेपालको राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताए ।
नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगेलगत्तै हेलिकोप्टर मार्फत अक्सफोर्ड पुगेका हुन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन्।
कार्यक्रमको अन्तमा प्रधानमन्त्री ओलीलाई पुष्पकमल दाहाल र उनीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबारे सोधिएको प्रश्नमा ओलीले एकीकृत पार्टी बनिसकेकाले पार्टीको निर्णय अनुसार हुने’ बताएका थिए ।