महिलाका भरमा मुगु–हुम्ला सडक
ग्रामीण पहुँच कार्यक्रम (र्याप ३) को मुगु–हुम्ला लिंक रोड निर्माण कार्य तीव्रगतिमा अघि बढेको छ ।
– अच्युत राज भण्डारी
बेलायत सरकारको आर्थिक सहयोगमा संचालित उक्त सडक निर्माणमा ११ वटा डोजर र १ हजार ५ सय ४ जना कामदारले धमाधम काम गरेका छन् ।
गत पुसदेखि निर्माण सुरु गरिएको मुगुको गमगढीदेखि हुम्लाको देउलीसम्मको ६७ किलोमिटर सडकमध्ये ४५ किमी ट्र्याक खुल्ला भइसकेको ग्रामीण पहुँच कार्यक्रमका फिल्ड म्यानेजर सुनील तण्डुकारले जानकारी गराए ।
सडक निर्माणमा नियमित १ हजार ५ सय कामदार र ११ वटा स्काभेटर परिचालन गरिएको छ । सडक साढे ४ मिटर चौडा बनाइएको छ । भने एक रु अर्ब ७१ करोड ८५ लाख आठ हजार सम्पूर्ण निर्माणको अनुमानित लागत रहेको छ ।
सडक खन्न महिलाको भीड
सडक निर्माणमा महिला र पुरुष गरेर ८३ वटा समूह रहेका छन् । जसमा महिलाको सहभागिता ५२ प्रतिशत रहेको छ ।
छायाँनाथ रारा नगरपालिका– १३ र १४ वडाका महिलाहरू घरको खाना खाएर सडक निर्माणमा खटिएका छन् । उनीहरू दैनिक ५ देखि सात सयसम्म कमाइ गर्छन् ।
रुगा, लुम, बाम, फोइपाटा, दर्खे लगायत गाउँका महिलाहरू ६ महीनादेखि सडक निर्माण कार्यमा जुटेका छन्।
घरको काम बिहान बेलुकी गर्ने र दिउँसो सडकमा काम गर्दै आएको बाम गाउँकी ४२ वर्षीया जौला बडुवालले बताइन् । “६ महीनामा दुई सासु–बुहारीले काम गरेको पहिलो किस्तामा एकजनाको २१ हजारका दरले ४२ हजार पाइयो”, उनले भनिन् ।
यो पैसाले घरखर्च, लत्ताकपडा, खाद्यान्न र बालबच्चाको कापीकलम किन्नमा खर्च गर्ने छौँ, । अब दोस्रो किस्तामा पनि यत्तिनै पैसा पाउने उनले बताइन् ।
घरदैलोमै सडक निर्माणको काम खुलेपछि स्थानीय महिलाहरू गत पुसदेखि नियमित सडक खन्ने काममा लाग्ने गरेका छन् ।
पुस २५ गतेदेखि ६ महीना सडक खन्ने काम गर्दा १९ हजार कमाइ भयो, छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँकी २६ वर्षीया मायादेवी बुढाले बताइन् । आफ्ना लोग्नेस्वास्नी नै सडक खन्ने काममा छौँ, उनी भन्छिन्, दुवैजनाको कामले पहिलो किस्तामा ४० हजार बुझेको अब दोस्रो किस्तामा थप यतिकै रकम पाइने छ ।
एकै घरका ४ जनासम्म सडक निर्माणमा खटिदा ६ महीनामा ३० देखि ८० हजार प्रत्येक घरमा कमाइ भइसकेको छ । गरीबीका कारण बिगतका वर्षमा रोजगारीका लागि लोग्ने मान्छेले भारत जानुपर्ने समस्या थियो । यो वर्ष भने घरकै खाना खाएर आँगनमै लोग्नेस्वास्नी सँगै काम गर्न पाउँदा खुशी लागेको दर्खे गाउँकी रामकला बडुवालले बताइन् ।
सधैँ चुलोचौकामा सीमित हुने हामी महिलालाई यस कार्यक्रमले पुरुषसरह घरदैलोमै रोजगारी दिएको छ । उनी भन्छिन् “६ महीना काम गरेर १९ हजार ४ सय ८० कमाइ गरेकी छु । दोस्रो किस्तामा पनि यति नै रकम लिन बाँकी छ ।”
सडक निर्माणमा खटिएका ८३ समूहका १ हजार ५ सय ४ जना कामदारको ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था समेत गरिएको छ ।
समूहमा दर्ता भएका हरेक कामदारलाई चोटपटक लागे उपचारको पूरै व्यवस्था गरिएको ग्रामीण पहुँच कार्यक्रमका फिल्ड म्यानेजर सुनील तण्डुकारले बताए । कामदारको मृत्यु भएको खण्डमा ५ लाखसम्मको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।
सडक पुग्दा बूढापाका खुशी
मुगुदेखि हुम्ला जोडिने सडक दैलोमै पुग्दा स्थानीय बूढापाका हर्षित भएका छन् । सडक पुगेसँगै गाडी आउने आशमा छन् बाम गाउँका ६४ वर्षीया कृष्णबहादुर बुढा । उनी भन्छन्, "यसरी घरदैलोमै सडक आउने कुरा सपनामा समेत देखेको थिइनँ, आज घर अगाडि सडक आयो । गाउँलेले रोजगारी पाए ।" भोलि घर अगाडिबाटै गाडी चढेर काठमाडौं घुम्न जाने उनले बताए ।
घर अगाडि सडक आयो । पछिल्लो पुस्ताका छोरानातिलाई सजिलो हुने भयो बाम गाउँकी ६३ वर्षीया गोरी खड्काले बताइन् । अब बिरामी हुँदा अस्पताल जानसमेत सजिलो हुने भयो गाउँमा भएको उत्पादन घरै अगाडि बेच्न पाइने उनले बताइन् ।
त्यस्तै सडक बनेपछि छायाँनाथ रारा नगरपालिका– १४ अन्तर्गतका गाउँमा एकघर एक बगैँचाको अवधारणा ल्याइएको छ । गत वर्ष मात्रै ८ हजार स्याउका बिरुवा वितरण गरिएको १४ नम्बरका वडा अध्यक्ष नन्दलाल बडुवाले बताए । अब बाम आउने पर्यटकलाई ‘बाम जाऊँ निःशुल्क स्याउ खाऊँ’ भन्ने नारासमेत तय गरिएको उनको भनाइ छ ।
यस सडकबाट मुगुका रुगा, लुम, बाम, दर्खे र फोइपाटा लगायत गाउँबस्ती जोडिएका छन् । भने हुम्लाका बोहोराबाडा, रिमी देउली गाउँ सडक सञ्जालमा जोडिने छन् ।