टिप्पणीआइतबार, २६ जेठ , २०७६

घरबाहिर निस्किएको विभेद

हिमालखबर

समय बदलियो, व्यवस्था र कानूनहरू पनि बदलिए । तर, महिलालाई हेर्ने पुरानो दृष्टिकोणको चश्मा– बजार, कार्यस्थल, सामाजिक संजाल जस्ता ठाउँमा छ्याप्छ्याप्ती भेटिन्छ ।

निर्मला ढकाल

“म्याम तपाईं राम्री हुनुहुन्छ; केटाहरूको ध्यान त पढाइ भन्दा तपाईंमा ज्यादा जान्छ होला है !” हरेक दिनजसो आउने यस्तो धारणा मेरा लागि नौलो हुन छाडिसक्यो ।

“तिमी कलेज आउँदा टप्स, लेगिन्स छाडेर सारी लगाउने गर न, मोटी भए पनि राम्री देखिन्छ्यौ”, यो पनि बारम्बार सुन्नुपर्ने वरिष्ठहरूको सुझाव हो ।

“कलेज पढाउँछ्यौ, छोटा–छोटा लुगा लगाएका तस्वीर फेसबूकमा नराख, अरूले जे पनि सोच्न सक्छन्”, हितैषी पनि यस्तै भन्छन् । निःशुल्क सुझावहरू !

नारी स्वतन्त्रताबारे बोलेर हामी कहिल्यै थाक्दैनौं । नारीका हकहितका निम्ति नयाँ कानून र प्रावधान पनि आएका छन् । चाहेको खण्डमा बाबुको पहिचान विना पनि सन्तान जन्माउन सक्ने हैसियत हामीले कानूनी रूपमै बनाइसकेका छौं ।

वास्तविकता चाहिं के छ भने, समानता कानूनमा आए पनि सोचमा आउन सकेको छैन । पुरुष दृष्टिकोण समग्रतामा फेरिएकै छैन ।

हो, श्रीमानले श्रीमतीलाई दिने स्वतन्त्रताको दायरा बढ्दो छ, आमा–दिदीबहिनीप्रतिको व्यवहार बदलिंदो छ । तर, महिला सहकर्मी वा परिवार बाहिरका महिलाप्रतिको व्यवहारमा भने परिवर्तन आएको देखिंदैन ।

हालै मात्र एक अभिनेत्रीको पहिरनलाई लिएर भएका बहस र टिप्पणीले असमानताको खाडल कहाँनिर छ भनेर प्रष्ट पार्छ ।

काम, आम्दानी, ओहोदा र सम्मान समान हुँदा पनि महिला र पुरुषप्रतिको हेराइ फरक नै छ । आफू जिन्स–टीसर्ट लगाउँदा ‘इन्फर्मल’ पहिरन ठान्ने पुरुष सहकर्मी महिलाको पहिरनबारे सुझाव दिइरहेका हुन्छन् ।

‘सुन्दर’ हुनुको मजाक बनाइदिन्छन्, महिला ‘वस्तु’ ठानिन्छन् । कार्ल माक्र्सले कुनै पनि वर्गको आर्थिक अवस्थाले नै ऊ कति शक्तिशाली हुन्छ भन्ने निर्धारण गर्ने बताएका छन् ।

तर, म र म जस्ता महिलाले प्रायः भोगिरहने यस्ता सोचाइलाई आर्थिक निर्धारणवादको तहमा मात्रै राखेर कसरी हेर्ने ? आम्दानी, पद–प्रतिष्ठा समान हँुदा पनि हामी महिला र पुरुष हुनुको भिन्नता खेपिरहेका हुन्छौं ।

प्रश्न आउँछ, के समानताको लडाइँमा पुरुष महिला भन्ने द्वन्द्व छाडेर बराबरीका सामाजिक प्राणी भन्ने सोचाइबाट हातेमालो गर्दै अगाडि बढ्न सकिंदैन ? परस्पर विरोधी धारणाले समस्या समाधान होला ?

घरमा पुरुष सदस्यको धारणा परिवर्तन गर्न सक्यौं भने बाहिरका अरू पुरुषले हामीलाई हेर्ने दृष्टिकोणलाई पनि सकारात्मक रूपबाटै परिवर्तन गर्ने पहल गर्न नसकिएला त ? केही पुरुषको सोच नकारात्मक हुँदैमा पुरुष जातिलाई नै गाली गर्नु मूर्खता होइन र ? एकोहोरो लडाइँले समतामूलक समाजको निर्माण होला त ?

मलाई लाग्छ, पुरुषवादी सोच अन्त्यको लडाइँको लागि न्यायाधीशको भूमिका पनि पुरुषलाई नै दिऊँ । र, महिलाप्रतिको रुढिवादी दृष्टिकोण कहिलेसम्म कायम राख्नुहुन्छ भनेर सोधौं ।

सामाजिकीकरण र विभेद

प्राकृतिक रूपमा नै महिला र पुरुषमा केही शारीरिक भिन्नता हुन्छन् । यही शारीरिक भिन्नताकै कारण नै मानसिक र सामाजिक रूपमा नै ‘महिला’ र ‘पुरुष’ को निर्माण गरिन्छ जसले विभेदको पाटो देखाउन थाल्छ । साँस्कृतिक, धार्मिक, सामाजिक विभेदले एउटा व्यक्तिलाई कसरी ‘महिला’ वा ‘पुरुष’ बनाउने भूमिका सामाजिकीकरण मार्फत खेल्छ ।

घरमा पुरुष सदस्यको धारणा परिवर्तन गर्न सक्यौं भने बाहिरका अरू पुरुषले हामीलाई हेर्ने दृष्टिकोणलाई पनि सकारात्मक रूपबाटै परिवर्तन गर्ने पहल गर्न नसकिएला त ? केही पुरुषको सोच नकारात्मक हुँदैमा पुरुष जातिलाई नै गाली गर्नु मूर्खता होइन र ? एकोहोरो लडाइँले समतामूलक समाजको निर्माण होला त ?

छोरालाई ‘ब्रेड ओनर’ ठानेर आर्थिक, मानसिक र सामाजिक रूपबाट नै बलियो बनाउने जग जन्मेदेखि नै शुरू हुन्छ ।
अर्थ जीवनको सशक्त हतियार हो । उता छोरीलाई चाहिं शान्त, सुशील, घरपरिवार सम्हाल्ने, मुलायम स्वभाव सिकाउँदै ‘महिला’ बनाउन थालिन्छ।

विभेद यहींबाट शुरू हुन्छ । र, यो काममा घरपरिवार मात्र होइन, एक हिसाबमा राज्य संयन्त्र नै लाग्छ। फलस्वरुप सोच, व्यवहार, शक्ति, आर्थिक पाटो, पैत्रिक सम्पत्तिको हक आदिबाट महिलालाई टाढा पुर्‍याइन्छ ।

हिजोको सामन्तवादी विभेदको स्वरुप आर्थिक र शैक्षिक हैसियत राम्रो भएका परिवारमा लगभग अन्त्य भएको छ । हिजो छोरीलाई ‘समान शिक्षा, स्वास्थ्य दिऊँ’ भनेर कानून निर्माण गर्नुपथ्र्याे । अब भने अधिकार र स्वतन्त्रताका व्याख्या फरक किसिमले बाहिर आउन थालेको छ । विभेदले पनि आफ्नो स्थान र दायरा फराकिलो बनाएका छन् ।

आज घरभित्र भन्दा पनि विभेद बजार, स्कूल, कलेज, सार्वजनिक स्थान, सवारी साधन, कार्यालय, साइबर, सामाजिक संजालमा पुगेको छ ।
सामाजिक संजालमा महिलाप्रति अभिव्यक्त टिप्पणीले बरोबर यसको पुष्टि गर्छ कि महिला कानूनी रूपमा बलिया त भए तर उनीहरूप्रतिको आम सोच भने उही छ ।

सोच बदल्न घरपरिवार, समाज, संचारमाध्यम मार्फत पनि सामाजिक उत्तरदायित्व सहितको सिकाइमा जोड दिइनुपर्छ।

प्रतिकृया दिनुहोस