खेलकुदआइतबार, २६ जेठ , २०७६

अमित अर्थात् अथक धैर्यको अर्को नाम

निरञ्जन राजवंशी

राष्ट्रिय टोलीका लागि योग्य ठानिए पनि सधैं बन्द प्रशिक्षणमा पुगेर ‘बन्द’ हुँदै आएको ढोका कुनै दिन खुल्नेमा अझै आशावादी छन्, अमित श्रेष्ठ (२५)।

'क्षमता त अनिवार्य छ नै, राष्ट्रिय टोलीको जर्सी लगाउन शायद भाग्य पनि चाहिन्छ'- क्रिकेटमा भाग्यको परीक्षा दिइरहेका बारा, कलैयाका अमित श्रेष्ठलाई त्यस्तै लाग्छ । १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका दायाँहाते ब्याट्सम्यान हुन्, उनी । क्रिकेट मैदानमा डट्न थालेको एक दशक नाघिसक्यो । तर, उनको लागि राष्ट्रिय टोलीको ढोका अझै खुलेको छैन ।

यसका निम्ति अमितले धेरै मिहिनेत गरे । राष्ट्रिय प्रतियोगिता अनि घरेलु खेलहरूमा दर्शकमा छाप छोड्ने गरी प्रदर्शन पनि गरे । तर उत्कृष्टताको होडमा कहाँ चुक भयो, भेउ पाउन सकेका छैनन् । आफ्नो बारेमा उनी भन्छन्, “खै किन यस्तो भयो ! शायद अभागी खेलाडी हुँ जस्तो लाग्न थालेको छ ।”

अमितको खेल जीवनमा केही त्यस्ता घटना भएका छन्, जसले उनलाई भाग्य आफ्नो साथमा नभएको लाग्दो हो । १० वर्षअघि १५ वर्षका उनी, १० कक्षामा पढ्दै थिए ।

त्यतिबेला यू–१७ राष्ट्रिय प्रतियोगितामा सहभागी भएसँगै उनी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । तर, खेलाडीको उमेर जाँच्ने अन्तर्राष्ट्रिय मापदण्डमा उनी असफल भए । मापदण्ड अनुसार दाँतको जाँचमा उनको उमेर १५ वर्ष नै देखिए पनि हाडको जाँच गर्दा भने १९ वर्ष देखियो । उनी राष्ट्रिय टोलीमा पर्न योग्य भएनन् ।

मापदण्डमा विफल हुँदाको अपत्यारिलो स्थितिबारे उनी भन्छन्, “१० कक्षा पढिरहेको म कसरी १९ वर्षको हुन सक्छु ? त्यतिखेर म अलिक मोटो थिएँ, त्यसैले पो गर्‍यो कि ? जे होस्, म अन्यायमा परें ।” क्रिकेटमा उदीयमान अमितको लागि त्यो पहिलो नमीठो झट्का थियो ।

सागर पुन, आकाश परियार लगायत त्यतिबेलै उदाएका हुन् । विफलताले उनको मन कुँडिनु आफ्नो ठाउँमा थियो, त्यो घटनाले उनीभित्र क्रिकेटमा अझ मिहिनेत गर्ने भावना भने जगाइदियो ।

एक दशकअघिको नेपाली क्रिकेटमा ठूलो प्रतिस्पर्धा थिएन । अमितलाई १९ वर्षमुनिको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइयो । त्यहाँ उनी अन्तिम १८ भित्रसम्म त अटाए, तर अन्तिम छनोटमा फालिए ।

त्यतिबेला नेपाली क्रिकेट टोली श्रीलंकन प्रशिक्षक रोय लुक डायसले सम्हालिरहेका थिए । अमितको खेल नियालिरहेका डायसले उनलाई बाङ्लादेशमा सन् २०१० मा भएको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को टीममा राखे । अमितको पहिलो अन्तर्राष्ट्रिय भ्रमण तय भयो, तर उनले प्रतियोगितामा एक बल पनि खेल्न पाएनन् । सागमा डायस प्रशिक्षकका रूपमा गएनन्, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गएका प्रशिक्षकले उनलाई मैदानमा उतारेनन् । उनी फेरि पनि ‘अभागी’ बनाइए ।

सन् २०१३ को एसीसी यू–१९ एलिट कपमा अमित बल्ल टोलीमा परे । भुवन कार्कीको कप्तानीमा मलेशिया पुगेका उनी पहिलो पटक युवा राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान प्रवेश गरे । आफ्नो पहिलो प्रदर्शनलाई यादगार बनाएका उनले कतार विरुद्ध ३३ बलमा ७० रन बनाए । बहराइन विरुद्ध १२ बलमा २२ रन र कुवेत विरुद्ध ४६ रन जोडे ।

त्यसपछि अमित चम्किए । सोही वर्षको अन्त्यमा युएईमा भएको एसीसी यू–१९ एशिया कपमा पनि उनले प्रारम्भिक ब्याट्सम्यानको भूमिका पाए । त्यहाँ पाकिस्तानसँग पराजित भए पनि उनले ३७ ओभरसम्म क्रिजमा डटेर ६० रनको बलियो पारी खेलेका थिए । यो नै उनले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अर्थात् झन्डै ६ वर्षदेखि उनी सिनियर राष्ट्रिय टोलीको जर्सी लगाउने लक्ष्यमा संघर्षरत छन् ।

दुर्भाग्यको यात्राले दरिलो
२०६९ सालको राष्ट्रिय प्रतियोगितामा लगातार दुई खेलमा शतक प्रहार गरेपछि अमितका लागि राष्ट्रिय टोलीको बाटो लगभग खुलिसकेको थियो । उनी राष्ट्रिय टोलीमा बोलाइए पनि । तर आफू अध्ययनरत काठमाडौंको ट्रिटन कलेजबाट भारतको बैंग्लोरमा एउटा कलेजमा खेल्न जाने कार्यक्रम पहिले नै तय भइसकेकोले उनी त्यता गए । फर्केर आउँदासम्म राष्ट्रिय टोलीको नाम घोषणा भइसकेको थियो ।

योभन्दा पनि ठूलो दुर्भाग्य उनी नेपाल र केन्याबीच कीर्तिपुरमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको समयलाई ठान्छन् ।

बन्द प्रशिक्षणमा अभ्यासका बेला उनको टोलीका फिजियो राजेश चौहानसँग ठाकठुक भयो । अनुशासनको कारबाहीमा परेपछि उनको नाम हट्यो ।

त्यो घटना यता उनलाई राष्ट्रिय टोलीको छनोटमा बोलाइएको छैन । कतिपयले त्यही घटनाको कारण उनका लागि राष्ट्रिय टोलीको ढोका बन्द भएको टिप्पणी गर्छन् । अमितलाई भने लाग्छ, “म अनुशासनको कारबाहीमा परें । गल्ती मबाट पनि भयो । तर त्यो विषय सकिसक्यो ।”

क्रिकेट जीवनमा झेलेका यी आरोह–अवरोहले आफूलाई दह्रो बनाएको उनको अनुभव छ । एकपछि अर्को अवसर गुमे पनि आफूलाई सम्हाल्न र क्रिकेट करिअर जोगाइराख्न उनले साधना गरिरहेका छन् ।

सानोतिनो घटनाले असर पर्न छाडेको बताउँदै उनी भन्छन्, “पहिला धेरै रुन्थें । अब त बानी परिसक्यो । टोलीमा नपर्दा, नबोलाउँदा पहिला जस्तो मन भत्किंदैन ।”

यद्यपि अमितको पर्खाइ लामो भइसकेको छ । उनीसँगै खेलेका प्रायः खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन् ।

उनीपछिका नयाँ खेलाडीहरूले समेत राष्ट्रिय टीमबाट नाम चम्काइसकेका छन् । उनी भने आफू कुनै न कुनै दिन राष्ट्रिय टोलीबाट खेल्ने विश्वास बचाउन अझै संघर्षरत छन् ।

अमित प्रारम्भिक ब्याट्सम्यान हुन् । कलैया क्रिकेट क्लबमा सिकेका उनी आक्रामक शैलीमा खेल्न रुचाउँछन् । दुई वर्षअघि नेपाल पुलिसमा आबद्ध भएपछि भने उनी तेस्रो नम्बरमा आउने गरेका छन् ।

उनका प्रशिक्षक मनोज कटुवाल भन्छन्, “अमित प्रारम्भिक ब्याट्सम्यान भए पनि तल्लो क्रममा पनि मज्जाले खेल्न सक्छन् । अहिले राष्ट्रिय टोलीले स्थायी प्रारम्भिक ब्याट्सम्यान खोजिरहेको बेला उनी राम्रो विकल्प हुनसक्छन् ।”

अहिले राष्ट्रिय टोलीमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । उनी ब्याटिङ विशेषज्ञ पनि हुन् ।

यसैबेला भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा शतक प्रहार गरेर अमितले आफू फर्ममै रहेको पुष्टि गरेका छन् । उनी भन्छन्, “एउटा खेलमा राम्रो खेलेर राष्ट्रिय टोलीमा पुग्नेहरू पनि छन् । म पनि सक्छु । तर धैर्यको परीक्षा चाहिं अझै कतिन्जेल हुने हो !” 

प्रतिकृया दिनुहोस