लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको छ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ‘लोकतन्त्रको नाममा लुटतन्त्र' मच्चाएको आरोप लगाएका छन् ।
पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बागलुङमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले देशमा भ्रष्टचार बढ्दै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैको सहमति भएको उनको भनाइ छ ।
उनले भने, “सत्तापक्ष र प्रतिपक्ष दुवैले मिलेर देश कंगाल बनाएका छन् । भ्रष्टाचारमा लिप्त भएका छन् ।”
देशमा अनियन्त्रितढंगले भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले यसप्रति खबरदारी गरेको बताए । मुलुकमा हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएको उनको भनाइ छ ।
“मुलुकमा गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुग्यो”, थापाले भने, “गणतन्त्रलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन हिन्दु संस्कृतिलाई मासियो । डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म परिवर्तनको चर्को रुप देखिएको छ ।”
थापाले राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु लोकतन्त्र विपरीत रहेको बताए ।
युवाहरूलाई सामान्य रोजगारीका लागि अरबको खाडी र मलेसियाको जंगलमा जान बाध्य पारिएको उनको भनाइ छ ।
नेपालमा गरीबी र बेरोजगार, भ्रष्ट्राचार, धर्म संस्कृतिमाथिको अतिक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्तावादको खतरा मुख्य चुनौतीको रूपमा देखिएको थापाले बताए ।
“जनआन्दोलन गर्ने र मुलुकको परिवर्तनका लागि बन्दुक बोक्नेहरू विदेशी मरुभूमिमा रगत पसिना बेच्न बाध्य छन,” अध्यक्ष थापाले भने, “बन्दुक बोक्ने खाडीमा, बोकाउनेहरू अर्बपति र चिल्ला गाडीमा छन् । यसै यथार्थ बाहेक मुलुकमा कुनै परिवर्तन हुन सकेको छैन ।”
“हामी देशमा शान्ति नपाउने हो भने, रोजगारी नपाउने हो भने, अब राजसंस्था र हिन्दुराष्ट्र यी दलहरूसँग फिर्ता माग्नुपर्छ,” उनले भने, “अहिले विप्लवको नाममा जे जस्तो गतिविधि भइरहेको छ, त्यसले अहिले सरकार सञ्चालन गरेका र प्रतिपक्षमा भएका दलहरू असफल भएको स्पष्ट छ ।
“उनीहरूले जनतासँग माफी मागेर राजसंस्था र हिन्दुराष्ट्र फर्काउनुपर्छ”, उनले भने । उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको औलाउँदै राप्रपाले अब सत्ता केन्द्रित राजनीति कहिल्यै नगर्ने समेत उल्लेख गरे ।