रिपोर्टशनिबार, २५ जेठ , २०७६

‘यी कुकुर होइनन्, सन्तान हुन्’

गोपाल गडतौला

सडकबाट घाइते र रोगाएका कुकुरको उद्घार गरी उपचार र रेखदेख गर्न सृजना ठकुरीले संचालन गरेको स्याहार केन्द्रमा २०० भन्दा बढी कुकुरले संरक्षण पाइरहेका छन्। 

कुकुरसँग खेल्दै सृजना । तस्वीरहरुः गोपाल गड्तौला

७ जेठमा कसैले फोन गरेर भक्तपुरको सल्लाघारीमा गाडीले किचेर घाइते भएको कुकुर सडकमा छटपटाइरहेको खबर दियो । ललितपुरको धापाखेलस्थित श्रीज एनिमल रेस्क्यू नेपाल नामक कुकुर स्याहार केन्द्रको एक टोली तत्काल त्यहाँ पुग्यो ।

पछिल्तिरका दुवै खुट्टा किचिएको कुकुरलाई स्याहार केन्द्र पुर्‍याइयो, पशु स्वास्थ्यकर्मीले खुट्टामा काम्रो हालेर गुड्ने स्ट्रेचरमा राखी उपचार शुरू गरे । घाइते कुकुरले दुःखाइ मेट्ने औषधि र तातो पोषिलो खाना पायो । “यसलाई तङ्ग्रिन एक महीना जति लाग्ला”, स्याहार केन्द्रकी संचालिका सृजना ठकुरी भन्छिन् ।

स्याहार केन्द्रमा अहिले २०६ वटा कुकुर छन्, जसमध्ये ४५ वटालाई काम्रो लगाएर स्ट्रेचरमा राखिएको छ । स्याहार केन्द्रबारे थाहा पाएका व्यक्तिहरूले दुर्घटनामा परेका, स्याहार नपाई सडकमा थलिएका कुकुर देख्नासाथ खबर गर्ने गरेका छन् ।

सडकमा भेटिएका कतिपय घाइते कुकुर त निकै महँगो पर्ने उच्च नश्लका समेत हुन्छन् । एक महीनादेखि स्याहार केन्द्रमा रहेको सेन्ट बर्नार्ड स्विस कुकुर हो, जसको मूल्य झण्डै रु.१ लाख १५ हजार पर्छ ।

केन्द्रमा हाल जर्मन सेफर्ड, कर्कस्पाइनल, डालमेसन, जापनिज स्पिज, पग, बुल्डग, ल्याब्राडोर, बक्सर, फ्रेञ्च बुल्डग लगायत जातका कुकुर छन् । यीमध्ये धेरैजसो जातका छाउराको मूल्य नै बजारमा प्रतिगोटा रु.१० हजारभन्दा बढी पर्छ ।

पहिले सुरक्षाका लागि पालिने कुकुर शहरी क्षेत्रमा सोख र एक्लोपन मेटाउने साथीको रूपमा पालिन थालेको छ । कुकुरका सौखिनहरूको संख्यासँगै यसको व्यापार पनि फस्टाइरहेको छ ।

यसरी सोखका लागि सम्पन्न घरहरूमा पालिएका महँगा कुकुरलाई घरमै ब्रिडिङ गराइने र ब्याउन नसक्ने बूढो वा रोगी भएपछि अलपत्र छाडिदिने प्रवृत्तिका कारण काठमाडौंका सडकमा उच्च नश्लका कुकुर भेटिने गरेको सृजना बताउँछिन् । “यो त उमेर छउञ्जेल दूध खाएर बूढा भएका गाईलाई सडकमा छोड्ने जस्तै निर्दयी काम हो”, उनी भन्छिन् । सोखका लागि पाल्नेहरूबाट राम्रो स्याहार नपाएर रोगाएका तिनै भुस्याहा कुकुरहरूले स्याहार केन्द्रमा आश्रय पाइरहेका छन् । 

गुड्ने स्ट्रेचरमा राखिएका घाइते कुकुर ।

सडकमा अलपत्र छोडिएका कुकुर स्याहार्न स्याहार केन्द्रमा चार जना पशु स्वास्थ्यकर्मी र दुई जना सहयोगी खट्छन् । यसका लागि सृजनाले ललितपुरको धापाखेलमा दुई रोपनी जग्गा वार्षिक रु.२ लाख २० हजार भाडामा लिएकी छन् ।

केन्द्रमा कुकुरका लागि दैनिक ४५ किलो चामलको भात पाक्छ । सातामा १५० किलो कुखुराको मासु खपत हुन्छ । औषधि, खुराक, कर्मचारीलाई तलब र जग्गाको भाडा सबै गरेर मासिक रु.३ लाख खर्च हुने गरेको छ ।

स्याहारमा दत्तचित्त
काठमाडौं, नयाँबानेश्वरमा सम्पन्न परिवारमा जन्मेहुर्केकी सृजना (४०) सानैदेखि जनावरप्रेमी थिइन् । स्कूलबाट फर्किंदा बाटामा भेटिने कुकुरलाई घरमा ल्याउँथिन् र अभिभावकको झ्र्कोफर्को सुन्दै तिनलाई खुवाउने र नुहाइदिने काममा रमाउँथिन् ।

कुकुर पाल्ने रहरले विवाहपछि आकार पायो । तीन वर्ष अघि उनको घरमा कुकुरको संख्या थपिंदै १८ वटासम्म पुग्यो । बिहानदेखि रातिसम्मको समय तिनैको स्याहारमा बित्थ्यो । मानसिक रूपमा अस्वस्थ छोरा सहित नेपाल बसेकी उनका श्रीमान् भानु ठकुरी भने अमेरिकामा होटल चलाउँछन् ।

कुकुरको संख्याले घर साँघुरो भएपछि उनले श्रीमान्सँगको सल्लाहमा घर बेचेर अपार्टमेन्ट किनिन्, र धापाखेलमा जग्गा भाडामा लिएर कुकुर स्याहार केन्द्र स्थापना गरेकी हुन् ।

बिरामी छोराको रेखदेख र घर चलाउन श्रीमान्ले पठाउनेमध्ये केही रकम बचाएर उनले कुकुरहरू स्याहार्दै आएकी छन् । “यिनीहरू मलाई आफ्नो सन्तान झ्ैं प्रिय छन्” उनी भन्छिन्, “मासिक लाखौं रकम खर्च भए पनि यो कामबाट शान्ति र सन्तुष्टि मिल्छ ।”

सृजनाको कुकुरप्रेमका कारण कतिपय चिनारु र आफन्त तर्किंदै गएका छन् । तर, त्यसका कारण घाइते र रोगी कुकुरको उद्धार, उपचार र स्याहार गर्ने उनको रुचिमा कत्ति पनि फेरबदल आएको छैन ।

कुकुर सुमसुम्याएको, तिनका किर्ना टिपिदिएको, लुतोले ग्रस्तलाई मल्हम लगाइदिएको देखेका आफन्तहरू घिन मानेर टाढिनुलाई उनी अस्वाभाविक मान्दिनन् । खुशीसाथ भन्छिन्, “मेरो हातबाट औषधि र खाना पाएको कुकुर दुई दिन भए पनि बढी बाँच्यो भने आफन्तहरू भेटेभन्दा बढी रमाउँछु ।”
छाउरा छाउरी उत्पादन गर्दा स्याहार पुर्‍याउन गाह्रो हुने भएकोले केन्द्रमा रहेका सबै कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रमा रहेको स्वस्थ कुकुर घरमा पाल्न चाहनेलाई उनी निःशुल्क दिन्छिन् । दैनिक सरदर १२ घण्टा कुकुर स्याहारमा खटिने उनी र उनका कर्मचारीले वर्षमा ६ पटक रेबिज विरुद्धको सुई लगाउने गर्छन् ।

भेटेसम्मका कुकुरलाई कालगतिले नमरूञ्जेल राम्रो खाना र उपचार दिएर जीवन बिताउने उनको उद्देश्य छ । भन्छिन्, “प्रकृतिकै सृष्टि भएकोले यी अबोध प्राणीका लागि पनि ठाउँ हुनुपर्छ भनेर यो काममा लागेकी हुँ ।” 

कुकुरका लागि खाना पकाउँदै सृजना ठकुरी ।

निकट साथी

मानिससँगको सम्बन्धमा हजारौं वर्षदेखि जोडिएको कुकुर घरको सुरक्षा गर्ने वफादार प्राणीको उदाहरण बनेको छ । हिजोआज परिवारका युवा सदस्यहरू कामको लागि शहर वा परदेश जाने भएकोले घरमा रहेका ज्येष्ठ सदस्य र बालबच्चाको साथीको रूपमा कुकुर पाल्ने गरिएको पाइन्छ । आफूले चाहेको बानी सिकाएर काम लिन सकिने भएकोले कुकुर भरपर्दो चौपाया मानिन्छ ।

कुकुर भावनात्मक साथी र तनाव हर्ने माध्यम बनेको विभिन्न अनुसन्धानले पनि देखाएका छन् ।

सन् २०१८ मा मेन्टल हेल्थ अमेरिका नामक संस्थाले गरेको शारीरिक र मानसिक स्वास्थ्य सर्वेक्षणले कुकुर र बिरालो पाल्ने ७४ प्रतिशत अमेरिकी (८ करोड ४६ लाख) मध्ये अधिकांशले त्यस्ता जनावर पाल्दा भावनात्मक सहयोग महसूस भएको, एन्जाइटी, निराशा, एक्लोपन र तनावबाट मुक्त हुन मद्दत मिलेको बताएका थिए ।

घरमा कुकुर वा बिरालो पाल्नेहरूको शारीरिक स्फूर्ति र काममा एकाग्रता पनि अन्यको तुलनामा केही बढी भएको सर्वेक्षणले देखाएको थियो ।

अपराध अनुसन्धानमा पनि कुकुरको प्रयोग महत्वपूर्ण मानिन्छ । संसारमा कम्तीमा ८० प्रतिशत प्रहरी अनुसन्धानमा कुकुरको साथ लिइएको अनुसन्धानकर्मीहरू बताउँछन् ।

नेपाल प्रहरीको केनाइन महाशाखाकी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक डा. देउती गुरुङ भन्छिन्, “कुकुरमा छिटै सिक्ने, भनेको मान्ने र मालिकप्रति वफादार हुने लगायत विशेष गुण हुन्छ, यसैले अनुसन्धानमा यो प्रहरीको अंग नै बनेको छ ।” 

प्रतिकृया दिनुहोस