मोदीलाई इमरानको पत्रः कश्मीरलगायतको मुद्दामा वार्ता गर्न आग्रह
पकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई चिठी लेख्दै कश्मीर मुद्दासहित सबै समाधान योग्य समस्याहरूको समाधानका लागि इस्लामावाद दिल्लीसँग वार्ता गर्न चाहेको उल्लेख गरेका छन् ।
दुई देशबीच तत्काल द्विपक्षीय बैठक नहुने भारतले बताएको एकदिन पहिले पाकिस्तानका तर्फबाट कुराकानीको यस्तो प्रस्ताव आएको छ ।
पुलवामाको आत्मघाती हमलापछि भारत र पाकिस्तान युद्धको स्थितिमा पुगिसकेका थिए । नरेन्द्र मोदीले दोस्रो कार्यभार सम्हालेपछि पाकिस्तानले वार्ताका लागि आह्वान गरेको हो ।
दोस्रो कार्यकालका लागि पीएम मोदीलाई बधाई दिंदै पाकिस्तानी पीएम इमरान खानले पत्रमा लेखेका छन्, “वार्ताले नै दुवै देशका जनतालाई गरीबीबाट मुक्त गर्न सक्छ । क्षेत्रीय विकासका लागि दुवै सँगै मिलेर काम गरौं ।”
पुलवामा विस्फोटपछि दुई देशबीच तनाव बढ्दै जाँदा २६ फेब्रुअरीमा भारतले पाकिस्तानमा ‘एयर स्ट्राइक’ गरेको थियो । पाकिस्तानको सीमाभित्र भारतले बम खसालेको थियो । पाकिस्तानका तर्फबाट पनि प्रत्याक्रमण गर्दै एउटा भारतीय लडाकू विमान खसालिएको थियो ।
खसालिएको विमानको पाइलटलाई पाकिस्तानले सदाशयतापूर्वक भारतलाई फिर्ता गरेपछि तनाव कम भएको थियो ।
१७ औं लोकसभाको निर्वाचनमा मोदीको जीतपछि इमरान खानले मोदीलाई बधाई दिंदै दक्षिण एसियामा शान्ति र विकासका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गरेका थिए ।
यसअघि शुक्रबार पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैसीले आफ्ना भारतीय समकक्षी एस. जयशंकरलाई पत्र लेखेर इस्लामावाद सबै महत्वपूर्ण विषयमा नयाँदिल्लीसँग वार्ता गर्न चाहेको र क्षेत्रीय शान्ति स्थापनाको प्रयासका लागि प्रतिबद्ध भएको उल्लेख गरेका थिए। –एजेन्सी