कला/साहित्यशनिबार, २५ जेठ , २०७६

नारी भोगाइमा समयचेत

पुस्तक समीक्षा

मस्त केसी

कविता हुँदै आख्यानलाई मूल क्षेत्र बनाएकी उमा सुवेदी नारी जीवनका दुःख–सुख र आम मान्छेलाई केन्द्रमा राखेर लेख्ने लेखक हुन् । 

खासगरी पितृसत्तात्मक संरचनाले थोपरेको सकसपूर्ण सामाजिक भोगाइ र त्यसमा उनिएका पात्रलाई उनी लेखनको विषयवस्तु बनाउँछिन्। नवीनतम कथासंग्रह ‘सयौं पुतली’ मा सुवेदीले यिनै नारी मुद्दाका विभिन्न रङलाई समेटेकी छन् ।

संग्रहभित्रका अधिकांश कथा महिला केन्द्रित छन्, जहाँ पात्रहरू सामाजिक परम्परा, संस्कार आदिको नाममा जञ्जालले घेरिएका छन् । कथाहरू पढ्दै जाँदा हाम्रै समाजको परिवेश र पात्रहरू आँखामा ठोक्किन आइपुग्छन् । हुन पनि नेपाली समाजका कैयौं महिला परम्परा र संस्कारले लादेको यस्तै समस्यामा पिल्सिएका छन् । 

१७ वटा कथा समेटिएको संग्रहभित्रको पहिलो कथा ‘उर्दी’ सबैभन्दा सशक्त लाग्छ । प्रेम र समर्पणको नाममा पुरुषले कसरी नारीको इच्छा र स्वतन्त्रतालाई नियन्त्रण गर्छ, कथाले आकर्षक शैलीमा भनेको छ ।

आफ्नो अनुकूलताको साँचोमा नारीलाई ढाल्ने र साँचोबाट निस्किएर आफ्नो रोजाइको जीवनमा फर्किंदा छटपटाउने पुरुषको चरित्रलाई पुरुष पात्र प्रताप मार्फत उदाङ्गो पारिएको छ । 

‘ढाड’ कथाले संसारलाई हेर्ने दृष्टिकोणले मानिस आफूलाई व्यावहारिक रुपमा कस्तो बनाउँछ भन्ने दार्शनिक पाटोसँग साक्षात्कार गराउँछ ।

कथाको सार हो– आफूले जस्तो सोचिन्छ र व्यवहार गरिन्छ, संसार त्यस्तै देखिन्छ । कथाले हिजो र भोलिको चिन्ता नगरी वर्तमानमै जिउनुपर्ने आध्यात्मिक सन्देश पनि बोकेको छ ।

शीर्ष कथा ‘सयौं पुतली’ समाजले कोरेको परिभाषा अनुसार ‘कुरुप’ केटीको त्यस्तो विसंगत मनोभाव हो, जो सामाजिक सोच र व्यवहारकै उपज हो ।

परिवारले बोझ ठानेर जतिसक्दो छिटो पन्छाउन विवाह गराइएकी कर्किनी आमा कुरुपपनकै कारण श्रीमानबाट अछूत झैं व्यवहार भोग्छिन्, यौन सुखबाट वञ्चित हुन्छिन् । त्यही अमानवीय भोगाइका कारण श्रीमानकाे मृत्युपछि उनले महसूस गर्ने स्वतन्त्रता कतिपय विवश महिलाको अव्यक्त मनोभावको वास्तविकता हुन सक्छ ।

‘हँसिया’ कथाले छोराको लागि पुरुषले बहुविवाह गर्दा महिलामा पर्ने विपत्देखि राजनीति र माओवादीको हिंसात्मक विद्रोहसम्मको आयामलाई छोएको छ । कथाकी म पात्र राजनीतिबाट आश्वासन बाहेक केही नपाएका र उल्टै यसको चलखेलमा फसेका जनताको प्रतिनिधि पात्र जस्तो लाग्छ, जो भन्छे– ‘यो राजनीति म जस्ता गरीबका लागि होइन रहेछ र यी नेता पनि हाम्रा होइन रहेछन् ।’

बलात्कार र त्यसमा जोडिएको राजनीतिक जञ्जाल सम्बन्धी यो कथाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण स्मरण गराउँछ । समयचेत राख्दै यथार्थको चित्रण गर्न रुचाउने कथाकारले दशक लामो सशस्त्र द्वन्द्वमा लागेका अधिकांशको जीवन कि यथास्थितिमा रहेको कि तहसनहस भएको र सीमित नेताले मात्रै अवसरको लाभ चाखेको तस्वीर प्रस्तुत गरेकी छन् ।

संग्रहका अरु कथाले पनि समय र समाजलाई दह्रो गरी समातेका छन् । ‘संविधान’ कथाका धेरै पात्र आफ्नै कामदेखि सन्तुष्ट छैनन्, सबैलाई अर्कोले गरिरहेको काम सजिलो र राम्रो लाग्छ । संविधानको अपूर्णता र यसप्रतिको असन्तुष्टिलाई जीवनसँग जोडेको कथाले जीवनमा पनि दुःख–सुख हुने तर त्यसलाई कसरी लिने भन्ने आफैंमा भर पर्ने गुह्यतर्फ संकेत गर्छ ।

शहरिया युवापुस्तामा यौनको खुलापनले विवाहअघि र पछि पाउने फरक परिभाषा र पारिवारिक कलहलाई ‘रोग’ कथाले प्रस्तुत गरेको छ । प्रेममा यौनलाई स्वाभाविक रूपमा लिने विशाखा विवाहअघि आफ्नो हुनेवाला श्रीमानसँग शारीरिक सम्पर्क गर्छे, ताकि विवाहपछि यौनकै कारण दुईबीच खटपट नआओस् ।

तर, सम्बन्धलाई दिगो बनाउने उसको त्यही उपाय नै पछि सम्बन्ध बिगार्ने ‘विष’ बनिदिन्छ । श्रीमानकाे एकोहोरो प्रताडनाले ऊ मानसिक रोगी बन्छे । यौनको मामिलामा खुल्ने नारीको चरित्रमाथि अनेक लाञ्छना लगाइने प्रवृत्तिले समाजमा पुरुषले महिलालाई हेर्ने दृष्टिकोण सतहमा ल्याउँछ ।

‘साउदी’, ‘प्रश्न’, ‘बेसुर’ लगायतका कथाहरूले वैदेशिक रोजगारीले पारिवारिक जीवनमा ल्याएको उथलपुथल, जातीय छुवाछूतको विकृति र राजनीतिले भुइँमान्छेलाई गरेको उपेक्षा जस्ता विषयलाई उजागर गरेका छन् । मसिना लाग्ने विषय उठान गरिएको कथाहरूमा मुलुकको आर्थिक, राजनीतिक स्थितिले आम मानिसको जीवनयापनमा पारेको असर चित्रण गरिएको छ ।

तर, केही कथाहरू एकापसमा मिल्दोजुल्दो लाग्दा पाठक खिन्न हुन सक्छन् । एकपछि अर्को कथा पढ्दै जाँदा विषयवस्तु र पात्रहरूबारे अलमल हुन्छ ।

यस बाहेक सरल भाषा–शैलीमा नारी बन्धन, स्वतन्त्रताको आकांक्षा, युवाका सपना, बाटो बिराएको राजनीति जस्ता संवेदनशील पाटो समेटेर कथाकार सुवेदीले प्रखर समयचेत भएको दसी पेश गरेकी छन् । 

पुस्तक – सयौं पुतली (कथासंग्रह)
लेखक – उमा सुवेदी
प्रकाशक – सांग्रिला पुस्तक
पृष्ठ – १८२
मूल्य - रु. २९५

 



प्रतिकृया दिनुहोस