फोक्सिङटारको बेलिब्रिज झिकिएपछि खोटाङबाट तराई झर्ने बाटाे बन्द
सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङबाट तराईका जिल्ला आवतजावत गर्ने मुख्य नाका बन्द भएको छ ।
वर्षा शुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएपछि तराईका जिल्ला जोड्ने नाका बन्द भएको हो ।
हिउँदभर सञ्चालन हुने र वर्षामा झिक्ने गरिएको अस्थायी बेलिब्रिज निकालिएसँगै दिक्तेल–गाईघाटबीचको सीधा यातायात सम्पर्क ६ महीनाका लागि बन्द भएको छ ।
फोक्सिङटारको बेलिब्रिज निकालिएपछि यातायातका साधन वारिको वारि र पारिको पारि भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
गत मंसिरदेखि सञ्चालनमा ल्याइएको खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज गत सोमबार निकालिएपछि दिक्तेलबाट सीधै गाईघाट हुँदै धरान, विराटनगरलगायत शहर जाने छोटो बाटो बन्द भएको हो ।
फोक्सिङटारमा पक्की पुल नभएपछि पूर्वी शहर जान आउन एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता शुरु भएको छ ।
फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदा विकल्पमा बेलिब्रिज राख्ने गरिएको हो । खोटाङ भित्रिदा वा बाहिरिदा फोक्सिङटारमा सुनकोशी र जयरामघाटमा दूधकोशी पार गर्नुपर्ने बाध्यता छ ।
बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदैआएको छ ।
फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाइएसँगै यातायातका सवारीसाधन आवतजावत नहुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मूल्यमा समेत प्रत्यक्ष असर परेको छ ।
पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रडजस्ता निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्दा ढुवानी मूल्य वृद्धि भएको व्यापारीको भनाइ छ ।
गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो रु साढे तीनदेखि रु ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रु साढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए ।
फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा चार वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो ।
खोटाङको खोटेहाङ, जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीले समेत शहर जाने र उपभोग्य सामान ल्याउने क्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका छन् ।
निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि फोक्सिङटारमा निर्माणाधीन पक्की पुलको फाउण्डेशन मात्र तयार भएको छ ।
–केदार मगर