रिपोर्टशुक्रबार, २४ जेठ , २०७६

ट्रमा सेन्टरमा चिकित्सक–व्यापारी ‘धन्दा’, यसरी हुन्छ बिरामीको शोषण

रामु सापकोटा

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक र व्यापारीको मिलेमतोका कारण हाडजोर्नीको उपचारमा प्रयोग हुने प्रत्यारोपण सामग्रीलाई झण्डै पाँच गुणा बढी मूल्य तिर्न बाध्य छन्, बिरामीहरू । 

दुर्घटनामा परेर घाइते रुद्र खत्रीको ट्रमा सेन्टरमा उपचार गरिंदै । तस्वीरहरुः रामु सापकोटा ।

दैनिक ज्याला–मजदूरीबाट गुजारा चलाउने गलकोट नगरपालिका–३, बाग्लुङका रुद्र खत्री (३५) गएको २१ वैशाख साँझ् कामबाट फर्कंदै गर्दा बाटोको डिलबाट लडेर घाइते भए । भोलिपल्ट बिहानै गलकोट अस्पताल पुर्‍याइएका उनलाई मेरुदण्डमा चोट लागेको भन्दै अस्पतालले पोखरा लैजान सल्लाह दियो ।

तीन दिनसम्म पोखराको मणिपाल अस्पतालमा राखेर उपचार गर्दा पनि सुधार नभएपछि उनलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइयो । ट्रमा सेन्टरमा सिटीस्क्यान र एमआरआई गरेपछि चिकित्सकले भने, “शल्यक्रिया गरेर मेरुदण्डमा प्रत्यारोपण सामग्री राख्नुपर्छ ।” 

चिकित्सकको सल्लाह अनुसार खत्रीका आफन्तले बालुवाटारस्थित ‘यती वेलकेयर प्रालि’ बाट रु.९५ हजार मूल्यका प्रत्यारोपण सामग्री किने ।

स्वास्थ्य मन्त्रालयले दुर्घटनामा गम्भीर चोटपटक लागेका (हेड र स्पाइनल इन्जुरी भएका) बिरामीलाई शल्यक्रिया मार्फत उपचार गर्दा रु.१ लाख बराबरको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरे पनि अस्पतालमै भएको खर्च मात्र व्यहोर्ने भएकाले खत्रीका हकमा त्यो सहुलियत उपलब्ध भएन । किनभने ट्रमा सेन्टरमै प्रत्यारोपण सामग्री उपलब्ध नहुँदा बिरामीका आफन्तले बाहिरबाट किनेका थिए । यसबाट एकातिर महँगोमा प्रत्यारोपण सामग्री किन्नुपर्‍यो, अर्कोतर्फ सरकारले दिंदै आएको सहुलियतबाट पनि बञ्चित हुनुपर्‍यो ।

शल्यक्रिया कक्षभित्रै साँठगाँठ
कुनै पनि खालका दुर्घटनामा गम्भीर घाइते बिरामीको हाडजोर्नी सम्बन्धी उपचार गर्ने देशभरमै कहलिएको एक मात्र सरकारी अस्पताल हो, राष्ट्रिय ट्रमा सेन्टर । भारत सरकारको सहयोगमा निर्मित यो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत संचालित छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट मार्फत संचालित अस्पतालमा उपचार शुल्क पनि सस्तो पर्ने हुँदा देशभरबाट गरीब र निम्न आयस्तर भएका धेरै बिरामी आउँछन् । जस्तो कि, २०७४/७५ मा मात्र यहाँ ४ हजार ९२१ जनाको शल्यक्रिया गरियो । (हे., इन्फो) 

शल्यक्रिया मार्फत उपचार गर्दा चोटपटक लागेका ठाउँमा टाइटेनिम वा स्टिलले बनेका रड, प्लेट वा स्क्रु जस्ता प्रत्यारोपण सामग्री (इम्प्लान्ट डिभाइस) पनि राखिन्छ । बिरामीको शरीरमा लामो समयसम्म राखिने तिनै सामग्री किनबेचमा भइरहेको फोहोरी खेलका एक भुक्तभोगी हुन्, बाग्लुङका खत्री ।

अनौठो त के छ भने खत्रीको उपचारमा संलग्न डा. बद्री रिजालले प्रत्यारोपण सामग्री राख्न आफन्तलाई सुझएको भोलिपल्टै ‘यती वेलकेयर प्रालि’का प्रतिनिधि दिनेश श्रेष्ठ ट्रमा सेन्टर आइपुगेका थिए । बिरामीका भाइ सन्त खत्रीका अनुसार प्रत्यारोपण सामग्रीका लागि आफन्तले खबर गर्न नपाउँदै आएका उनले रु.९५ हजार बुझैपछि भ्याट बेगरको बिल दिएका थिए । (हे., बिल) 

बिरामी खत्रीको शरीरमा राखिएका प्रत्यारोपण सामग्रीको एक्सरे रिपोर्ट (बायाँ) र, प्रत्यारोपण सामग्री बिक्री गरेबापत यती वेलकेयर प्रालिले बिरामी खत्रीलाई दिएको बिल ।

त्यसअघि १० वैशाखमा रूखबाट लडेर घाइते भएका शान्तिनगर, दाङका घमण्डबहादुर खड्का (४०) लाई दाङकै तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल र बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि १२ वैशाखमा ट्रमा सेन्टर ल्याइएको थियो । चिकित्सकले गर्धनको हड्डीमा चोट लागेकाले शल्यक्रिया मार्फत रड राख्नुपर्ने बताएपछि खड्काका आफन्तले काठमाडौंको नक्सालस्थित अर्थो इन्टरप्राइजेजका प्रतिनिधि विजयसिंह ठकुरीलाई रु.९० हजार बुझाए । 

अचम्म के छ भने डा. रिजालले रड राख्नुपर्ने बताएपछि बिरामीका आफन्त रड किन्न जानै परेन । शल्यक्रियाको दिन अर्थो इन्टरप्राइजेजका प्रतिनिधि नै ट्रमा सेन्टर आइपुगे, शल्यक्रिया कक्षभित्र छिरे र बाहिर निस्केर आफन्तसँग पैसाको ‘डिल’ गरे । उनले रु.९० हजार बुझ्ेपछि बिल दिए, तर भ्याटमा दर्ता नभएको । खड्काका छोरा सुशीलका अनुसार ठकुरीले रड पहिल्यै शल्यक्रिया कक्षमा पुर्‍याइसकेका थिए । 

नाम, गुणस्तर, ब्याच नम्बर र उत्पादक कम्पनीबारे आफन्तलाई थाहै नदिई बिरामीको शरीरमा प्रत्यारोपण सामग्री राखियो । शल्यक्रिया गरेको केही दिनपछि एक्सरे गरेर हेर्दा मात्र आफन्तले ६ वटा रड राखेको थाहा पाएका थिए ।

स्वास्थ्य अर्थशास्त्री शिवराज अधिकारी प्रत्यारोपण सामग्रीमा भइरहेको अपारदर्शी व्यापारले सामान गुणस्तरीय भए÷नभएको थाहा नहुने र गुणस्तरीय उपचार भए/नभएको बारे समेत ढुक्क हुन नसकिने बताउँछन् । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक अधिकारी भन्छन्, “पाँच हजारभन्दा बढी मूल्यका सामानको अनिवार्य भ्याट बिल दिनुपर्छ । त्यसो गरिंदैन भने खुलेआम कर छली हो ।”

कर छलीको के कुरा, ट्रमा सेन्टरको शल्यक्रिया कक्षमै डाक्टर र प्रत्यारोपण सामग्री बिक्रेताबीच अचम्मको साँठगाँठ हुने गरेको छ । एउटा उदाहरण– गएको २ जेठमा रूखबाट लडेर घाइते भएका धादिङ, धुवाँकोटका रामचन्द्र शाहलाई भोलिपल्ट ट्रमा सेन्टरमा भर्ना गरियो । १२ जेठमा शाहको शल्यक्रिया हुँदै थियो ।

त्यसक्रममा अर्थो इन्टरप्राइजेजका प्रतिनिधि ठकुरीले शल्यक्रिया कक्षमै पुगेर चिकित्सकलाई प्रत्यारोपण सामग्री दिएको भेटियो । कतिसम्म भने, शाहको शल्यक्रिया नसकिंदासम्म उनी डाक्टरको गाउन लगाएर ‘अपरेशन थिएटर’मै बसे । उनलाई भेट्न पाँचौं तलाबाट शल्यक्रिया कक्ष रहेको दोस्रो तलामा आएका बिरामीका आफन्तलाई ढोकामा बसेकी सुरक्षागार्ड भन्दै थिइन्– “आफन्त भित्र जान मिल्दैन । 

अर्थाे इन्टरप्राइजेजका प्रतिनिधि विजयसिंह ठकुरी ट्रमा सेन्टरकाे शल्यक्रिया कक्षकाे ढाेकामा उभिएर बिरामीका आफन्तसँग कुरा गर्दै ।

रड बिक्री गर्ने दाइ भित्र जानुभएको छ, एकछिनमा बाहिरै आउनुहुन्छ ।” नभन्दै ठकुरी केही बेरपछि गाउन खोलेर शल्यक्रिया कक्ष बाहिर आए र बिरामीका आफन्तलाई भेटे । (हे.तस्वीर) बिरामी शाहका छोरा प्रवेश भन्छन्, “डा.राजेश चौधरीले आफूले भनेकै एजेन्टबाट रड किन्नू भनेकाले हामीले ठकुरीबाटै किनेका हौं ।”

तर, यहाँ पनि आफन्तलाई कस्ता प्रत्यारोपण सामग्री प्रयोग गरियो भन्ने जानकारी दिइएन । १२ जेठमा शल्यक्रिया कक्ष बाहिर ठकुुरीले भने, “इम्प्लान्ट डिभाइसको सेट नै शल्यक्रिया कक्षभित्र लगेका छौं, बिरामीलाई जुन मिल्छ त्यही लगाउँछौं ।” कुरा सुन्दा लाग्थ्यो– उनी आफैंले पो शल्यक्रिया गर्दैछन् कि ! बिरामीका आफन्तले गुणस्तरमा प्रश्न उठाएपछि उनको जवाफ थियो, “यो जर्मनको कच्चा पदार्थबाट भारतको पुणेस्थित पिटकर कम्पनीले बनाएको डिभाइस हो ।”

त्यसक्रममा ठकुरीले बताए अनुसार बिरामीको अवस्था हेरेपछि डाक्टरले नै सप्लायर्सलाई फोन गरेर प्रत्यारोपण सामग्री मगाउँदा रहेछन् । “डाक्टरबाट खबर पाएपछि हामी अस्पताल आएर बिरामीका आफन्तसँग पैसाको डिल गर्छौं” उनी भन्छन्, “शाहको उपचारका लागि डा.राजेश चौधरीले इम्प्लान्ट डिभाइस मगाएकाले म आफैं आएको हुँ । बिरामीको शल्यक्रिया हुनुअघि नै इम्प्लान्ट डिभाइसको सेट अस्पतालको शल्यक्रिया कक्षभित्र पुर्‍याउँछौं ।” शुरूमा रु.१ लाख ८ हजार पर्ने बताए पनि ठकुरीले पछि भने रडको मूल्य रु.७५ हजार लिए ।

प्रत्यारोपण सामग्रीकै सप्लायर्स कम्पनी, ‘यती वेलकेयर प्रालि’का प्रतिनिधिले पनि बाग्लुङका खत्रीको शल्यक्रियाको दिन शल्यक्रिया कक्षमै पुगेर डाक्टरलाई प्रत्यारोपण सामग्री दिएको भेटियो । खत्रीका छोरा सन्त भन्छन्, “रडको गुणस्तर कस्तो थियो, शल्यक्रिया कक्षमा पु¥याइएका रडमध्ये कतिवटा प्रयोग गरिए भन्नेबारे केही बताइएन ।”

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा.ढुण्डी पौडेलका अनुसार चिकित्सकहरूले सप्लायर्सलाई फोन गरेर प्रत्यारोपण सामग्री मगाउनु चिकित्सकीय पेशाकै हिसाबले अनैतिक काम हो । सप्लायर्सका प्रतिनिधि शल्यक्रिया कक्षमा पस्नै नमिल्ने बताउने डा.पौडेल भन्छन्, “चिकित्सकले बिरामीको ढाड सेक्ने गरी महँगोमा सामान भिडाउने होइन, आफ्नो दायराभित्र बसेर सहज रूपमा उपचार गर्ने र गराउने व्यवस्था मिलाउने हो ।”

अवस्था चाहिं कस्तो छ भने ट्रमा सेन्टरका प्रमुख, मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रमोदकुमार यादव सप्लायर्स कम्पनीका प्रतिनिधिहरू शल्यक्रिया कक्षमा बस्ने गरेको सगर्व सुनाउँछन् । प्रत्यारोपण सामग्री विशेष खालका हुने भएकाले कम्पनीका प्रतिनिधिले नै तिनलाई ‘फिट’ गर्ने तरिका सिकाउने उनको तर्क छ । डा. यादव भन्छन्, “शल्यक्रियाका क्रममा सप्लायर्स कम्पनीका प्रतिनिधिले गाइड गरे अनुसार नै हामी ती सामग्री बिरामीको शरीरमा राख्छौं ।”

सप्लायर्स–चिकित्सकको यो नेक्ससको एउटै कारण हो; प्रत्यारोपण सामग्रीको बिक्रीबाट आउने कमिसन । ट्रमा सेन्टरमै कार्यरत एक चिकित्सकका अनुसार शल्यक्रिया गर्ने सर्जनले ती सामग्री बिक्री बापत आउने रकमको करीब ३० प्रतिशत कमिसन पाउँछन् । 

बिरामी सहुलियतबाटै बञ्चित
२७ वैशाखमा चिप्लिएर लडेका लमजुङ, सुन्दरबजारका लेखराज सेढाईं (४०) लाई आफन्तले उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल पु¥याए । त्यहाँ सुधार नभएपछि उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइयो ।

चिकित्सकले कम्मरमुनिको भाग नचल्ने सेढाईंलाई शल्यक्रिया गरेर ढाडमा रड राख्नुपर्ने बताएपछि आफन्तले रडका लागि सप्लायर्स कम्पनीकै प्रतिनिधिलाई महँगो मूल्य तिरे । “अस्पतालमा महँगो औषधि र उपचार सामग्री पाइँदो रहेनछ, पैसा नहुनेको त उपचार हुनै गाह्रो” बिरामीका आफन्त महेन्द्रप्रसाद सेढाईं भन्छन्, “डाक्टरले फार्मेसीमा उपलब्ध औषधि पनि बाहिरका मेडिकलबाट ल्याउन लगाउँदा रहेछन् ।”

ट्रमा सेन्टरमा प्रत्यारोपणका कुनै सामग्री नपाइने हुँदा यहाँ उपचार गरेका बिरामीले सरकारबाट पाउने सहुलियतको औसतमा ३८ प्रतिशतभन्दा कमै मात्र सुविधा पाउँछन् । कारण, धेरै रकम प्रत्यारोपण सामग्रीमै खर्च हुन्छ । सप्लायर्सबाट किनिने ती सामग्रीमा सरकारले सहुलियत दिंदैन ।

ट्रमा सेन्टर आफैंले प्रत्यारोपण सामग्री नराख्नुको प्रमुख कारण सप्लायर्सबाट डाक्टरले पाउने कमिसन नै हो । नाम उल्लेख गर्न नचाहने सेन्टरकै एक डाक्टर भन्छन्, “सर्जनहरूले नै सेन्टरमा प्रत्यारोपण सामग्री नराख्न दबाब दिइरहेका छन् ।”

अस्पताल आफैंले प्रत्यारोपण सामग्री राख्दा मूल्य सस्तो पर्छ, जसको सीधा लाभ बिरामीलाई हुन्छ । जस्तो कि, काभ्रेको धुलिखेल अस्पतालले बोलपत्र मार्फत सप्लायर्सबाट प्रत्यारोपण साम्रगी खरीद गरेर बिरामीलाई उपलब्ध गराउँछ ।

धुलिखेल अस्पतालका अर्थोपेडिक सर्जन प्रा.डा.दीपक श्रेष्ठ सरकारले दिने सहुलियत रकमबाटै बिरामीले प्रत्यारोपण सामग्री पाइरहेको बताउँछन् । श्रेष्ठ भन्छन्, “अस्पताल आफैंले प्रत्यारोपण सामग्री उपलब्ध गराउँदा बिरामीका आफन्तलाई अनावश्यक आर्थिक बोझ् नै पर्दैन ।”

ट्रमा सेन्टरमा भने यो अभ्यास हुन नदिन केही सर्जनहरूकै स्वार्थले काम गरेको छ । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.विकास देवकोटाले भने यसबारे आफूलाई थाहै नभएको बताए । “ट्रमा सेन्टरले प्रत्यारोपण सामग्री उपलब्ध नगराएको बारे मलाई जानकारी छैन” उनले भने, “त्यस्तो रहेछ भने हामी छानबिन अघि बढाउँछौं ।”

पाँच गुणा बढी मूल्य
ट्रमा सेन्टरले आफैं प्रत्यारोपण सामग्री खरीद गरी बिरामीलाई उपलब्ध गराउने भनेर २४ माघ २०७५ मा बोलपत्र आह्वान गर्‍यो । त्यसक्रममा विभिन्न सप्लायर्सले पेश गरेका प्रस्तावले प्रत्यारोपण सामग्रीमा भइरहेको लूट उदाङ्गो पारेका छन् ।

जस्तो कि, बाग्लुङका खत्रीको शल्यक्रियामा प्रयोग भएका प्रत्यारोपण सामग्रीबाट यती वेलकेयर प्रालिले रु.९५ हजार असुलेको थियो । एक्सरे रिपोर्ट अनुसार खत्रीको शरीरमा एउटा रड, चार वटा पेडिकल स्क्रु र एउटा क्रसलिंक एसेम्बली राखिएको छ । एक सप्लायर्स कम्पनीले पेश गरेको प्रस्ताव अनुसार खत्रीको शरीरमा रहेको एउटा रडको रु.१ हजार, (रु.३६०० का दरले) चार वटा पेडिकल स्क्रुको रु.१४ हजार ४००, एउटा क्रसलिंक एसेम्बलीको रु.३२०० समेत गरी कुल रु.१८ हजार ६०० पर्छ । 

दाङका घमण्डबहादुर खड्काको शल्यक्रिया गर्ने क्रममा प्रयोग भएका प्रत्यारोपण सामग्रीबापत अर्थो इन्टरप्राइजेजले उनका आफन्तबाट रु.९० हजार असुल्यो । एक्सरे रिपोर्ट अनुसार खड्काको शरीरमा ६ वटा ल्याट्रल मास स्क्रु, दुइटा डुअल रड र दुइटा ल्याट्रल मास रड प्रयोग भएको छ ।

अर्को एक सप्लायर्स कम्पनीले ट्रमा सेन्टरमा पेश गरेको प्रस्ताव अनुसार खड्काको शरीरमा प्रयोग गरिएका ६ वटा ल्याट्रल मास स्क्रुको (रु.३५०० का दरले) रु.२१ हजार, (रु.१ हजारका दरले) दुई वटा डुअल रडको रु.२ हजार र (रु.४ हजारका दरले) दुइटा ल्याट्रल मास रडको रु.८ हजार गरी कुल रु.३१ हजार पर्छ । यसरी अर्थो इन्टरप्राइजेजले भने बिरामीबाट तीन गुणा बढी रकम असुल्यो ।

ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रमोदकुमार यादवले बोलपत्र मार्फत प्रत्यारोपण सामग्री खरीदका लागि कम्पनी छनोट भइसकेको र बिरामीले छिट्टै सस्तोमा सामग्री पाउने दाबी गरे ।

तर, यथार्थ अर्कै छ । जस्तो कि, सेन्टरले ७ जेठमा मुनलाइट टे«डर्स र सीपी अर्गनाइजेसन गरी दुई वटा कम्पनीबाट स्पाइनल इन्जुरीका लागि चाहिने प्रत्यारोपण सामग्री खरीद गर्ने आशयको सूचना प्रकाशित गरे पनि कोहीसँग सम्झैता गरेको छैन ।

सेन्टरमा कार्यरत एक चिकित्सकका अनुसार सर्जनहरू नै सम्झैता हुन नदिने पक्षमा छन् । सम्झैता भइहाले पनि ‘स्पाइनल इन्जुरी’ बाहेकका बिरामीले सप्लायर्स मार्फत चर्को रकम तिरेर प्रत्यारोपण सामग्री खरीद गर्ने बाध्यता कायमै रहनेछ । 

प्रतिकृया दिनुहोस