टिप्पणीबिहिबार, २३ जेठ , २०७६

जबजमा अड्किएको एकता !

गोपाल गडतौला

३ जेठ २०७५ मा नेकपा एमाले र माओवादीबीच एकता घोषणा भएपछि धेरैलाई एमालेले वैचारिक मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेको बहुदलीय जनवादको भविष्य के होला भन्ने लाग्यो ।

तस्वीर स्रोतः नेकपा फेसबूक पेज

माओवादीले मान्दै आएको विचारधाराबारे धेरैमा प्रष्टता नभएको कारण खुला राजनीतिक वातावरणमा अभ्यस्त भइसकेको एमालेको वैचारिक दृष्टिकोण नै छलफलको केन्द्रमा थियो ।

एकतापूर्व माओवादीले भन्दै आएको एक्काइसौं शताब्दीको जनवादले वैचारिक आकार ग्रहण गरिनसकेको हुँदा उसको त्यो सिद्धान्तले एकतालाई कुनैपनि किसिमको पोषण दिएको थिएन ।

आउँदो महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्त के तय गर्ला भन्ने प्रश्न अनुत्तरित भए पनि बहुलवाद, शक्तिपृथकीकरण र लोकतन्त्रिक मान्यता प्रतिकूल नहुने विधि वा सिद्धान्त हुनु अपरिहार्य हुनेछ ।

एमालेले २७ वर्षदेखि आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको जबजकै सेरोफेरोमा नेकपाको भावी राजनीतिक कार्यदिशा तय हुने परिस्थिति निर्माण बन्दै गएको छ ।

“नाम थोरै तलमाथि होला” भावी मार्गदर्शक सिद्धान्त जबज नै हुनेमा ढुक्क नेकपाका एकजना स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली भन्छन्, “कम्युनिष्ट आन्दोलनको मुल ‘कोर्स’ लोकतान्त्रिक पद्दति नै भइसकेकोले बहुदलीय जनवादले देखाएकोभन्दा अलग बाटो हिंड्न अब सम्भव छैन।”

एकतापूर्वको माओवादीले माक्र्सवाद लेनिनवाद, माओवाद र २१औं शताब्दीको जनवादको बाटो अंगिकार गरेको थियो ।

ज्ञवाली माओवादीले सशस्त्र विद्रोहपछि भन्ने गरेको २१औं शताब्दीको जनवादलाई बहुलवादलाई स्वीकार्ने दिशामा उसको चालेको मन्द पाइलो मान्छन् ।

त्यसपछि खुुल्लापनमाथि माओवादीमा बहस अलिक बाक्लै शुरु भएको बताउँदै उनी भन्छन्, “आजको युगको राजनीति अघिल्लो शताब्दीको जस्तो जड्तापूर्ण तरिकाबाट अघि बढ्न सक्दैनथ्यो, जुन माओवादीले बुझ्यो र एकता सम्भव भयो ।”

के हो जबज ?
भूमिगत जीवनबाट एकाएक बाहिर आएका तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीले २०४७ सालमा माले र माक्र्सवादी एकीकरणका बखत बहुदलीय जनवादलाई बहसमा ल्याए ।

२०४८ सालको पहिलो संसदीय निर्वाचनमा भागलिँदासम्म बहुदलीय जनवाद नेकपा एमालेको मार्गदर्शक सिद्धान्त बनिसकेको थिएन, छलफलको चरणमा मात्र थियो ।

कुनै पनि राजनीतिक विचार मार्गदर्शक सिद्धान्त बन्न महाधिवेशनबाट अनुमोदित हुनुपथ्र्याे ।

माले र माक्र्सवादी एकीकरणबाट एमाले बनेको करीब दुई वर्षपछि १४—२० माघ २०४९ मा सम्पन्न एमालेको पाँचौ महाधिवेशनमा तत्कालिन महासचिव मदन भण्डारीले बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा प्रस्तावित गरे, जुन बहुमतबाट अनुमोदन भयो ।

बहुदलीय प्रजातन्त्रको अभ्यास भर्खर शुरु भएको देशमा कम्युनिष्ट आन्दोलनले त्यसपछि गीयर बढाएको मान्न सकिन्छ ।

यद्यपि अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल थिएन । सोभियत रूसको सातदशकभन्दा लामो कम्युनिष्ट सत्ताको आकाशमा कालो बादल मडारिरहेको थियो ।

त्यहाँ कम्युनिष्ट सत्ता धरासायी भयो । पूर्व र पश्चिम जर्मनीलाई छुट्याउने बर्लिनको पर्खाल पनि ढाल्दै थियो ।

यूरोपेली मुलुकको राजनीतिक मैदानबाट लाल झण्डा हराउँदै गएको थियो ।

छिमेकी देश भारतमा कम्युनिष्ट पार्टी निर्वाचनमा भाग त लिन्थ्यो, तर, उसको हालत खोपिको देउता झैं थियो, कहिल्यै नबढ्ने बरु खिइरहने ।

फुटमाथि फुटको श्रृंखला भारतीय कम्युनिष्ट पार्टीहरुमा व्याप्त थियो । देशभित्र र बाहिर कम्युनिष्टलाई वैचारिक र व्यवहारिक दृष्टिकोण पूरापुर परम्परागत थियो । नेकपा एमालेप्रति पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको बुझाइ संसयपूर्ण थियो ।

यी सबै प्रतिकुलताको सामना गर्दै विकसित बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएपछि एमाले देशको धेरै समय वैकल्पिक र निर्णयक राजनीतिक शक्ति बन्यो ।

यो क्रम पछिसम्म कायम रह्यो । बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त बनेपछि सृजित ऊर्जाले एमालेलाई पिकअप लिन गाह्रो भएन ।

बहुदलीय जनवादका एकजना ब्याख्याताको रुपमा समेत परिचित ज्ञवालीको भनाइमा बहुदलीय जनवाद लोकतन्त्रका हरेक मान्यताप्रति पूर्ण प्रतिवद्ध राजनीतिक विधि भएकोले यसको भाष्य जनताले तुरुन्तै बुझे र यसलाई स्थापित हुन गाह्रो भएन ।

पाँचौं महाधिवेशनमा अरु चारवटा फरक विचारधारा ल्याउने पक्षहरु पनि पार्टीको दायराबाट बाहिर नगएको स्मरण गर्ने उनी भन्छन्, “यो आफैंमा एउटा पूर्णाङ्ग विधि हो ।”

उक्त महाधिवेशनमा परिमार्जित नौलो जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा प्रस्तावित गर्ने पक्षका झलनाथ खनाल करीब डेढ दशकपछि आठौं महाधिवेशनबाट नेकपाको अध्यक्षमा निर्वाचित भएका थिए ।

मदन भण्डारीले जुन महाधिवेशनमा बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा प्रस्तुत गरेका थिए, त्यो महाधिवेशनमा परिमार्जित नौलो जनवाद, सामाजिक जनवाद, वातावरणीय जनवादजस्ता विचार पनि प्रस्तुत भएका थिए । तर, ती विचारहरु आजको राजनीतिक मैदानमा चर्चा हुने तहमा पनि छैनन् ।

पाँचौं महाधिवेशनबाट भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त बनेको चार महीना नपुग्दै ३ जेठ २०५० मा रहस्यमय जीप दुर्घटनामा भण्डारीको निधन भयो ।

लगत्तै अर्काेवर्ष २०५१ कार्तिकमा भएको मध्यावधि निर्वाचनमा एमाले संसदको ठूलो दलको रुपमा विजयी भयो र सरकार चलाउने तहमा पुग्यो ।
यसले बहुदलीय प्रतिस्पर्धामा कम्युनिष्ट पार्टी पनि खरो उत्रिनसक्छ भन्ने सन्देश दियो ।

कम्युनिष्ट पार्टीलाई परम्परागत बुझाइ र व्यवहारबाट बाहिर निकालेर शान्तिपूर्ण विधिबाट समाजवादसम्म जान सकिन्छ भन्ने वैचारिक पोषण दिनु बहुदलीय जनवादको विशेषता थियो ।

यसले बहुलवाद, शक्तिपृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, प्रतिस्पर्धात्मक र आवधिक निर्वाचन जस्ता लोकतन्त्रिक मान्यतालाई सहजै आत्मसात गरेकोले खुला राजनीतिक वातावरणलाई माध्यम बनाएर पार्टी अघि बढ्न सजिलो भएको नेता ज्ञवालीको टिप्पणी छ ।

बहुलवादलाई अंगाल्न नसकेका कम्युनिष्ट पार्टीहरुले पूर्वी युरोप र रसियामा ठूलो क्षति व्यहोर्नुपरेको बताउने नेता ज्ञवाली नेपाली कम्युनिष्ट आन्दोलनको उठान नै फरक धारबाट भएको धारणा राख्छन् ।

उनी नेपालमा भएका सबै लोकतन्त्रिक आन्दोलनको अग्रमोर्चामा कम्युनिष्ट सहभागिता हुनुलाई यसको फरकपना मान्छन् ।

प्रतिस्पर्धात्मक राजनीतिबाट कम्युनिष्ट पार्टी अलग हुने र एकदलीय तथा प्रतिस्पर्धाविहिन सत्ता स्थापना गर्ने भन्ने कुरा भुतकाल भइसकेको ज्ञवालीको भनाइ छ ।

उनी भन्छन्, “कम्युनिष्टले बहुलवाद र प्रतिस्पर्धालाई स्वीकार्ने बाटो भनेको बहुदलीय जनवाद नै हो ।”

प्रतिकृया दिनुहोस