थप समाचारमंगलबार, २५ श्रावण , २०७३

असोजमा चिनियाँ राष्ट्रपति नेपाल आउन सक्ने

हिमालखबर

नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउन सक्ने जानकारी दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पष्ट पार्‍यो । 

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिट्टै स्वागत गर्न पाउने अपेक्षा गर्दै यसबाट द्विपक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

उनले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउनाका साथै दुई ठूला देशसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताएको प्रधानमन्त्रीका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले जानकारी दिए । 

प्राध्यापक जी झेईको नेतृत्वमा आएको उक्त टोलीले भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ अनुभवको आदानप्रदान तथा सहयोग गर्न, ठूला परियोजनामा सहयोग उपलब्ध गराउन, चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न र यहाँको पर्यटन पूर्वाधार विकासका लागि सघाउन चीन तत्पर रहेको पनि जानकारी दिएको थियो ।

रासस 

प्रतिकृया दिनुहोस