रिपोर्टआइतबार, १९ जेठ , २०७६

नारायणहिटी हत्याकाण्ड, सनक कि षडयन्त्र ?

१९ जेठको राजदरबार हत्याकाण्ड (हिमाल–आर्काइभ)

हिमालखबर

- सुधीर शर्मा/प्रशान्त अर्याल

शायद इतिहासको विडम्बना भनेको यस्तै होला ! जुन राजाले देशलाई शान्तिक्षेत्र बनाउने परिकल्पना गरेका थिए, तिनै ‘शान्तिवादी’ राजा आफ्नै परिवारभित्रको कलहको शिकार बन्न पुगे । अकल्पनीय र आश्चर्यजनक ढङ्गले भएको शाही संहारले राजा र राजपरिवारलाई मात्र सखाप पारेन, मुलुकलाई पनि अशान्ति र अस्थिरताको आगोमा झाेस्ने बाटो खोलिदिएको छ ।

राजदरबार हत्याकाण्डका सूत्रधार मानिएका श्री ५ दीपेन्द्र ।

नेपाल एकीकरण भएको २३३ वर्षमा पहिलो पटक देशले यस्तो आकस्मिक घटना व्यहोर्नुं परेको छ, जसले स्वदेशमा डेढ सय वर्षअघि भएको ‘कोतपर्व’लाई ताजा बनाएको छ भने विश्वमा ८४ वर्ष पहिले रूसमा भएको जार परिवारको सामूहिक हत्याकाण्डको सम्झना गराएको छ ।

नारायणहिटी राजदरबारका निम्ति १९ जेठ २०५८ को रात साँच्चै कालरात्रि बनेर आयो । त्यस रातको रहस्यमय गोलीकाण्डबाट श्री ५ वीरेन्द्रको वंश नै विनाश भयो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन।, अधिराजकुमारीहरू श्रुति, शान्तिसिंह र शारदा शाह, शाहजादी जयन्ती शाह, कुमार खड्गविक्रम शाह र पूर्व अधिराजकुमार धीरेन्द्र शाह गरी राजपरिवार र शाही नाताका दश जनाको एकै चिहान भयो ।

त्यो हत्या किन र कसरी भयो भन्ने कुरा नै आज जनमानसमा सबभन्दा ठूलो कौतुहलको विषय बन्न पुगेको छ ।

हालसम्म उपलव्ध तथ्य, आधार र बयानहरू केलाउँदा शाही हत्याकाण्डको सूत्रधार श्री ५ दीपेन्द्र रहेको देखिन्छ । एउटा युवा युवराजले आफ्नो निजी जीवनको फैसला समेत आफूले गर्न नपाउने स्थिति उत्पन्न भएपछि गरेको पारिवारिक विद्रोहले यस्तो हिंसात्मक रुप लिएको देखिन्छ ।

के यो हत्याकाण्डमा अरू कसैको उक्साहट थियो ? वा, युवराज आफैँ थाहै नपाइकन प्रयोग त भएनन् ? अथवा, कुनै गोप्य षडयन्त्र त थिएन ? थुप्रै अनुत्तरित प्रश्नहरू छन् । तर प्रत्यक्षदर्शी र शाही नातेदारहरूको दावी दीपेन्द्रप्रति नै लक्षित छ ।

कालो शुक्रबार
राजपरिवारका निम्ति हरेक शुक्रबार रमाइलो साँझका रूपमा आउने गर्थ्याे । नातेदार वा निकटवर्ती कसैले राजालाई निम्त्याउने रात्रिभोजहरू पनि प्रायशः शुक्रबार नै हुने गर्दथे । जस्तो कि, राजदरबारमा गोलीकाण्ड हुनुभन्दा एक साताअघि १२ जेठमा पूर्वसचिव नारायणप्रसाद श्रेष्ठको घरमा यस्तै पार्टी भएको थियो ।

त्यसभन्दा अघिल्लो शुक्रबार साँझ श्री ५ वीरेन्द्रको उपस्थिति दरबारकै सचिव चिरनशमशेर थापाको नक्सालस्थित घरको जमघटमा भएको थियो । बाहिर कतै भोज नभएको शुक्रबार चाहिँ प्रायशः राजदरबारमै पारिवारिक भोजको आयोजना गरिन्थ्यो ।

१९ जेठको साँझ पनि राजदरबारको त्रिभुवन सदनमा त्यस्तै रात्रिभोज हुँदैथियो, राजपरिवारका सदस्यहरू भेला भइरहेका थिए । राजा वीरेन्द्र अङ्ग्रेजी साप्ताहिक स्पटलाइट का सम्पादक माधवकुमार रिमाललाई साँझ ६.५० देखि ८.१५ बजेसम्म मङ्गल सदनमा दर्शनभेट दिएर त्यहाँ सवारी भएको थियो ।

श्री ५ वीरेन्द्र ।

(पत्रकार रिमाल नै श्री ५ को दर्शनभेट पाउने दरबार बाहिरका अन्तिम व्यक्ति हुन् ।) रात्रिभोज चलिरहेको ‘विलियर्ड बैठक’ मा पुगेर राजाले मुमाबडामहारानी रत्नलाई दर्शन गर्दा युवराज दीपेन्द्रको आगमन भइसकेको थियो ।

त्यहाँ उपस्थित डा.राजीवराज शाहीका अनुसार, नशाको सुरमा आएका दीपेन्द्र लर्बरिएको अवस्थामा थिए ।

त्यही कारण रानी ऐश्वर्यको आदेशअनुसार उनलाई सुताउन लगियो । दीपेन्द्रलाई अधिराजकुमार निराजन, शाहजादा पारस, ज्वाइँ गोरखशमशेर र आफू भएर त्रिभुवन सदनको माथिल्लो तलामा रहेको खोपी (सुत्नेकोठा) मा पुर्‍याएर आएको डा.शाही बताउँछन् ।

पहिला राजा त्रिभुवन बस्ने गरेको भवनलाई १५ वर्षअघि मर्मतसम्भार गरेर त्रिभुवन सदनको नाम दिई युवराज दीपेन्द्रको निवासस्थान बनाइएको थियो । त्यसको भुइँतलाको एउटा ठूलो कोठालाई राजा त्रिभुवनले नै विलियर्ड बैठक बनाएका थिए, जहाँ अहिले पनि विलियर्ड र स्नुकर खेलिन्छ । शुक्रबारे पार्टी त्यही अङ्ग्रेजी अक्षर ‘एल’ आकारको कोठामा भएको थियो ।

विलियर्ड बैठकमा खान–पीनको कार्यक्रम सिद्धिनै लागेको थियो, अकस्मात् राति नौ बजेको आसपासमा हातमा बन्दुक बोकेका युवराज दीपेन्द्रको प्रवेश भयो । डा.शाहीका अनुसार, शुरुमा दीपेन्द्रले राजा वीरेन्द्रलाई निशाना बनाए । अनि एकपटक ढोकाबाट निस्केर फेरि फर्कँदा उनलाई रोक्न खोज्ने धीरेन्द्रको छातीमै ताकेर गोली हाने ।

छेउमै रहेका अधिराजकुमारी शारदा, कुमार खड्गविक्रम र गोरख शमशेरलाई पनि गोली लाग्यो । ढोकाबाहिर पुगी फेरि फर्केर दीपेन्द्रले शोभा, श्रुति र ढलिसकेका राजा वीरेन्द्रमाथि गोली हाने । र, पुनः तेस्रो पटक पनि फर्केर राजामाथि गोली चलाए । यसपालि अन्धाधुन्ध चलाइएको गोली अरू थुप्रैलाई लाग्यो ।

श्री ५ ऐश्वर्य ।

त्यहाँ पहिलोपटक गोली चल्ने बित्तिकै अधिराजकुमार निराजन आफूसँग रहेको पिस्तोल घाइते भई ढलेका आफ्ना बुबा (राजा) नजिक फ्याँकेर तुरुन्तै मुमा (रानी) लाई बचाउन दगुरेका थिए ।

रानी बाहिर निस्केर भाग्दै गर्दा दीपेन्द्रले बगैँचामै रोके । त्यसवेला आमालाई जोगाउन अघि सर्दा निराजनको ढाडमा कैयौँ गोलीहरू लागे, जसले गर्दा उनको छाती छियाछिया परेर चाल्नो जस्तो भएको थियो । तर पनि निराजनले मुमालाई बचाउन सकेनन्, रानी ऐश्वर्यको इहलीला त्यहीँ समाप्त भयो ।

प्रत्यक्षदर्शीहरूको भनाइमा त्यसपछि दीपेन्द्रले त्यहीँ बगैँचामै बनाइएको सानो पुलमा पुगेर आत्महत्या गरे । यो सब घटनाक्रम डेढ वा बढीमा दुई मिनेट भित्रैमा भयो ।

प्रत्यक्षदर्शीले दिएको विवरण अनुसार, युवराज दीपेन्द्रले जर्मनीमा बनेको एमपी–५ सब–मेसिन गन, अमेरिकामा बनेको एम–१६ एसल्ट राइफल र अष्ट्रियामा निर्मित ग्लोक पिस्तोल बोकेका थिए । यिनै हतियार र गोलीका म्यागजिन बोक्न सजिलो हुने भएकाले उनले ‘कम्व्याट ड्रेस’ पहिरेको अडकल प्रत्यक्षदर्शीले गरेका छन् ।

शुक्रबारको पारिवारिक जमघट नितान्त व्यक्तिगत भएकोले सबै अङ्गरक्षक (एडीसी) हरूलाई छुट्टै कोठामा राखिएको थियो । तिनले समय छँदै कुनै कदम चाल्न भ्याएनन् । तर दरबार बाहिर गोलीकाण्डको पहिलो सूचना उनीहरूले नै दिएका थिए । आश्चर्यलाग्दो कुरा के छ भने, राजदरबार मामिला पनि हेर्नुहुने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भने घटना भएको दुई घण्टापछि मात्रै सूचित गरियो ।

घटनास्थलमा गोली चल्दाचल्दै भाग्न सक्ने र लुक्न सक्नेहरूले आफ्नो ज्यान जोगाए । शाकाहारी भोजन गर्ने श्री ५ रत्न र श्री ५ हेलेन छेउको अर्को कोठामा रहेको हुँदा गोली–आतङ्कको प्रत्यक्षदर्शी र शिकार हुनु परेन । उता शाहजादा पारसले अनुनय विनय गरेपछि दीपेन्द्रले उनीलगायत पूजा, प्रेरणा र सितास्मालाई छाडिदिएको दावी डा.शाहीले गरेका छन् ।

पारसले नै खबर गरेपछि राजा वीरेन्द्रका भाञ्जा एवम् स्व. शान्तिसिंहका जेठा छोरा बझाङ्गी राजा विनोदसिंह गोली चलेको आधा घण्टाभित्रै त्यहाँ पुगेका थिए । बाहिरबाट घटनास्थलमा पुग्ने उनी नै पहिलो व्यक्ति ठानिएको छ । श्री ५ रत्नले घाइते राजालाई आफ्नो काखमा राखेर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लैजाँदै गर्दा मौसुफको बाटैमा स्वर्गारोहण भएको बताइएको छ ।

अरू घाइतेहरूलाई भेटिए जतिका मोटरमा हाल्दै सोही अस्पताल लगियो । तर राजदरबार नजिक रहेका वीर अस्पताल र शिक्षण अस्पताल, जहाँ छाउनी अस्पतालका तुलनामा आधुनिक साधनहरू छन्, मा नलगिकन टाढाको अस्पतालमा लैजानाले झ्न् बढी समय खाइदियो । त्यहाँ अपरेशन थिएटरमा ठाउँ नपुगेर बडामहारानी कोमलको लवीमै अपरेशन गर्नु परेको थियो ।

को कहाँ थिए ?
छिर्के सर्ट र नीलो रङ्गको हाफ ज्याकेट लगाएर शुक्रबार दिउँसो सातदोबाटोस्थित खेलकुद परिसरमा पुगेका युवराज दीपेन्द्रलाई देख्ने कसैले पनि यही व्यक्तिबाट त्यत्रो ठूलो हत्याकाण्ड मच्चाइयो होला भनेर कल्पनासम्म पनि गर्न सकेको छैन । त्यहाँ एक घण्टासम्म खेलहरू हेरेर र खेलकुद पदाधिकारीहरूसँग कुराकानी सकेर उनी चार बजेतिर फर्केका थिए ।

श्री ५ दीपेन्द्र ।

किन हो कुन्नि, उनले छोटो बाटोको साटो सातदोबाटोबाट बल्खु, कलङ्की, बालाजु चक्रपथ हुँदै राजदरबार आउने लामो बाटो रोजेका थिए । त्यसपछि राजा, रानी र युवराज दीपेन्द्र मानार्थ बडागुरुज्यू नयनराज पाण्डेको घर डिल्लीबजार पुगे । र, साँझ पाँचदेखि छ बजे एक घण्टासम्म त्यहीँ बसे ।

जानकार सूत्रहरूका अनुसार, वि.सं. १९८८ मा बडागुरुज्यू पाण्डेको बिहा हुँदा उनीकहाँ तत्कालीन राजा त्रिभुवनको सवारी भएको थियो भने अहिले ७० वर्षपछि पहिलोपटक अर्का राजा श्री ५ वीरेन्द्र त्यहाँ पुगिबक्सेको हो ।

सो दिन अधिराजकुमार निराजनको अन्तिम परीक्षा परेको र अधिराजकुमारी श्रुतिका पति गोरखशमशेरको कार्यालयमा काम भएकोले दुवै जना त्यहाँ जाने पूर्व निर्धारित कार्यक्रम रद्द भएको थियो । (निराजन त बीबीएको अन्तिम परीक्षा सिद्धिएको अवसरमा कलेजका साथीहरूले साँझ् आयोजना गरेका अलग्गै पार्टीमा पनि गएका थिएनन् ।) राजा–रानीहरू बसेकै कोठामा आँशु झार्दै ८२ वर्षीय पूर्व बडागुरुज्यू पाण्डेले भने, “मेरो घरमा राजारानी पहिलोपटक आएकै दिन यस्तो अनिष्ट भयो ।”

श्री ५ श्रुति ।

त्यो बेला पूरै समय धार्मिक विषयमा वार्तालाप भएको र आफूले राजारानीलाई धार्मिक कविता पनि सुनाएको पाण्डे बताउँछन् । त्यहाँ युवराजले एउटा कोक, रानीले सेलरोटी र राजाले दुई कप चिया खाएर सवा छ बजे तीनै जना राजदरबार फिर्ती सवारी भएको थियो ।

त्यसपछि युवराज दीपेन्द्र त्रिभुवन सदन पसेर एकैछिन विलियर्ड खेली मोटर लिएर बाहिर निस्केका थिए । दरबार सूत्रका अनुसार, दरबारबाट उनी सोझै आफ्नी प्रेमिका देवयानी राणालाई भेट्न उनको महाराजगञ्जस्थित निवास ‘विजयवास’ पुगे ।

त्यहाँबाट दीपेन्द्र र देवयानी निस्किए र देवयानी लाजिम्पाटमा सञ्जय र शिल्पा दुगडद्वारा आयोजित डिनरमा सहभागी भइन् भने दीपेन्द्र चाहिँ सो डिनरमा आउने वाचा गर्दै आफ्ना मित्र अनिल शाहको कान्तिपथस्थित घरमा पुगे । तर त्यसपछि दुगडको डिनरमा नगई दीपेन्द्र सोझै दरबार गए । त्यहाँ पुग्दा मातेर उनको होशहवास उडिसकेको डा. शाहीको भनाइ छ । त्यसबीच दीपेन्द्रले कोकिन वा अरू कुनै लागू औषध लिएको हुनसक्ने आशङ्का एकथरिको छ ।

दीपेन्द्र/देवयानी
नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डका पछाडि युवराज दीपेन्द्र र देवयानी राणाबीचको प्रेम सम्बन्धले निर्णायक भूमिका खेलेको कुरामा राजपरिवारका नातेदारहरू विश्वस्त छन् । स्थिति यस्तो थियोः दीपेन्द्र देवयानीलाई औधी मन पराउँथे तर राजपरिवारमा उनको पक्षमा कोही पनि थिएन । उनी पूरै एक्लिएका थिए । प्रारम्भमा दीपेन्द्रको झुकाव आफ्नी बालसखी सुप्रिया शाहतर्फ थियो र उनीसँग बिहाको तयारी समेत हुन थालिसकेको थियो ।

त्यसका निम्ति आवश्यक परम्परागत सामानहरू निर्माण गर्ने जिम्मेवारी आफैँले लिएर पूरा समेत गरेको राजदरबारका पूर्व सह–सचिव डा.सानुभाइ डङ्गोल बताउँछन् । मुमाबडामहारानी रत्नको चाहना पनि आफ्नी दिदी (प्यारु महारानी) का छोरा जर्नेल प्रदीपविक्रम शाहकी छोरी सुप्रियाकै पक्षमा थियो । तर बडामहारानी ऐश्वर्यको आपत्तिका कारण सो विवाह सम्भव भएन । यो कम्तीमा सात वर्षअघिको घटना हो ।

सुप्रियासँग विवाह नहुने भएपछि तन्नेरी दीपेन्द्रको सङ्गत बढ्न थाल्यो, पशुपतिशमशेर राणाकी कान्छी छोरी देवयानीसँग ।

उनीहरूलाई नजिक्याउन एकजना विदेशी पाहुनाको अप्रत्यक्ष भूमिका रह्यो । बेलायतका लर्ड क्यामोई, राजा वीरेन्द्र र पशुपतिशमशेर दुवैका परिचित व्यक्ति हुन् भने उनका छोरा विलियम चाहिँ दीपेन्द्रका साथी हुन् ।

विलियम एकपटक नेपाल आएका बखत पशुपतिशमशेरको घरमा बसेका थिए, जहाँ उनलाई भेट्न जाँदाजाँदै दीपेन्द्र र देवयानीका बीच घनिष्ठता बढ्यो ।

तथापि दरबार निकटस्थ व्यक्तिहरू दीपेन्द्रले सुप्रिया र देवयानीसँग समानान्तर सम्बन्ध राख्दै आएको दावी गर्छन् । भनिन्छ, राजदरबारमा गोलीकाण्ड हुनुअघि शुक्रबार दीपेन्द्रले सुप्रियासँग फोनमा कुरा गरेका थिए । तर उनको झ्ुकाव देवयानीतर्फ ज्यादा थियो ।

दीपेन्द्र र देवयानी नियमित रूपमा ठमेलस्थित इटालियन रेस्टुरेन्ट ‘फायर एण्ड आईस’ मा पिज्जा खान जाने गर्थे ।

उनीहरूले भाटभटेनी सुपरमार्केटमा सँगै किनमेल गरेको पनि यदाकदा देखिन्थ्यो । कान्तिपथस्थित अनिल शाहको घर पनि उनीहरूको भेट्ने ठाउँ बनेको थियो । अनिल देवयानीकी साथी रति शाहका श्रीमान् हुन्, जो एक वर्षअघि युवराज दीपेन्द्र र देवयानी सिड्नी ओलम्पिक हेर्न अस्ट्रेलिया जाँदा पनि सँगै थिए ।

देवयानी र रतिले सँगै प्राइभेट परीक्षा दिएर त्रिभुवन विश्व–विद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका थिए । रतिले अनिल शाहसँग बिहा गरेपछि देवयानीमार्फत अनिलको दीपेन्द्रसँग मित्रता बढेको ठानिन्छ । २०४६ सालताका भारतका लागि नेपाली राजदूत रहेकी विन्देश्वरी शाह र डा.नारायणकेशरी शाहका छोरा अनिल ग्रीण्डलैज ब्याङ्कको ‘अपरेशन मेनेजर’ हुन् । उनको उन्नतिमा दीपेन्द्रसँगको सम्बन्धले काम गरेको दाबी गरिन्छ ।

बिहा किन भएन ?
झण्डै दुई महिना पहिले गल्फ क्लवद्वारा सोल्टी होटलमा आयोजित पार्टीमा युवराज दीपेन्द्र एउटी साडी लगाएकी युवतीसँग नाच्दैथिए । एकछिनपछि आफ्नी श्रीमतीसित नाचिरहेका एकजना मन्त्रीछेउ आएर उनले कानमा खुसुक्क भने, “कस्तो छ मेरो च्वाइस ?” ती मन्त्रीले के जवाफ दिए थाहा भएन, तर दीपेन्द्रले वर्षौँदेखि मन पराएकी युवती देवयानी राणा तिनै थिइन् । उनीहरूमाझ् यति घनिष्ठता बढिसकेको थियो कि राजधानीको कुलीन वर्गले त्यसबारे धेरै कुरा थाहा पाइसकेको थियो ।

गत २१ वैशाखमा अर्जुनशमशेर जबराकी श्रीमती बिन्दुदेवीको ८० औं जन्मदिवसका उपलक्ष्यमा बौद्धस्थित हयात् रिजेन्सी होटलमा आयोजित पार्टी सिद्धिएपछि बारको ‘डान्सिङ फ्लोर’ मा पशुपतिशमशेर र उनकी श्रीमती उषाराजेकै सामुन्ने दीपेन्द्र र देवयानीले डान्स गरेपछि त्यो सम्बन्धको चर्चा अझ व्यापक हुनपुगेको थियो ।

युवराज दीपेन्द्र र देवयानीबीचको वर्षाैं पुरानो प्रेम सम्बन्ध हुँदाहुँदै पनि त्यो विवाह बन्धनमा परिणत हुन सकेन । यसमा मुख्य अवरोध स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्यबाट भएको दाबी सूत्रहरू गर्दछन् । दरबारभित्र रानी ऐश्वर्यको प्रभाव अत्यधिक भएको मानिन्छ ।

रानीको यस्ती युवराज्ञी भिœयाउने चाहना थियो, जसलाई आफ्नो वशमा राख्न सकियोस् । तर उमेरले युवराजभन्दा झण्डै दुई वर्ष जेठी देवयानीलाई त्यसरी प्रभावमा राख्न नसकिने रानीको ‘क्याल्कुलेसन’ थियो भन्ने एकथरिको निष्कर्ष छ । तर दरबारसँगै सम्बन्धित अर्कोथरि व्यक्तिहरूको भनाइमा देवयानीलाई दरबार भित्र्याउने सवालमा स्व. श्री ५ महेन्द्रले बनाएर छोडेको विवाहसम्बन्धी नियम नै मुख्य बाधक बनेको थियो ।

उनीहरूका अनुसार, श्री ५ वीरेन्द्र पनि आफ्ना पिताको मार्गनिर्देशनलाई उल्लङ्घन गर्न नहुने पक्षमा होइबक्सन्थ्यो । रानी ऐश्वर्यले खोजेजस्तो स्वभाव र योग्यता भएकी कन्या शायद सुप्रिया शाह थिइन्, जो दरबारको ‘आईमाई लबी’ की छनौट पनि हुन् । पहिले सुप्रियाको नाममा असहमति जनाउने बडामहारानी ऐश्वर्य युवराजले देवयानीलाई रुचाउन थालेपछि एकाएक सुप्रियाको पक्षमा लागिन् । विश्लेषकहरू सुप्रियालाई मन पराउनुको कारण राजदरबारमा रहेको राणा प्रधानमन्त्री जुद्धशमशेरको खलकको बाहुल्यलाई बताउँछन् ।

श्री ५ ऐश्वर्य आफैँ जुद्धशमशेरको पनातिनी भएको र श्री ५ रत्न पनि जुद्धकै खलक भएको कारण पनि दरबार जुद्धशमशेरकै खलककी कन्यालाई बुहारीका रूपमा भित्र्याउन चाहन्थ्यो । उषाराजेले काठमाडौँका सम्भ्रान्त मण्डलीमा चल्ने पार्टीहरूमा दीपेन्द्र–देवयानीबीचको सम्बन्ध र प्रस्तावित विवाहका बारेमा बारम्बार बोल्ने गरेको कुरालाई पनि दरबारले रुचाइरहेको थिएन ।

नारायणहिटी निकट सूत्रहरूका अनुसार, देवयानीलाई दरबार नभित्र्याउने कुरामा रानी ऐश्वर्यको अडान जति दृढ थियो, देवयानीकी आमा पशुपति शमशेरकी श्रीमती उषाराजे राणा आफ्नी छोरीलाई दीपेन्द्रसँग बिहा गराउने पक्षमा त्यत्तिकै उत्सुक थिइन् । यसले रानी ऐश्वर्य र उषाराजेबीच व्यक्तित्वको टकरावको स्थिति पैदा गरेको अनुमान गरिन्छ ।

शुरुमा देवयानीका पक्षमा भएका श्रुति र निराजन पनि पछिआएर आमाकै पक्षमा भएको बुझिएको छ । युवराज दीपेन्द्रको छनौट अनुसार विवाह हुन नसक्नुमा दरबारमा जरा गाडेर बसेको जातभात प्रथाले पनि काम गरेको देखिन्छ । इतिहासकार पुरुषोत्तमशमशेर राणा ठोकुवा गर्छन्, “अहिलेको दुर्घटना जातभातकै कारणले भएको हो ।” राजदरबारले देवयानीको मावली (भारत, ग्वालियरको सिन्धिया राजघराना) लाई आफूभन्दा तल्लो जातको अर्थात् ग्वालाहरूका राजाको परिवारका रूपमा हेर्ने गर्दछ ।

त्यतिमात्र होइन, देवयानीकी मावलीपट्टिकी हजूरआमा राजमाता विजयाराजे सिन्धियालाई दरबारले ‘सी क्लास’ को राणाको सन्तान ठान्दथ्यो । केही महिनाअघि दिवङ्गत भएकी राजमाता सिन्धिया धीरशमशेरका छोरा खड्गशमशेरकी भित्रिनीपट्टिकी नातिनी (छोरीकी छोरी) हुन् । दीपेन्द्र–देवयानीको विवाह हुन नसक्नुका कारण यति मात्र छैनन् । युवराजको इच्छा अनुसार विवाह गरिदिँदा भविष्यमा देवयानीका बाबुआमा पशुपतिशमशेर र उषाराजेको प्रभाव बढ्ने त्रास पनि दरबारमा परेको थियो ।

उनीहरूको नाता सम्बन्ध भारतमा जोडिएकोले पनि राजदरबार झस्किएको हुनसक्छ । राजा महेन्द्रको शासनकालदेखि नै नेपालको राजपरिवारले भारतमा वैवाहिक सम्बन्ध कायम गर्ने परम्परा तोडिसकेको थियो । तत्कालीन राजदूत केभी राजनले पनि एकपटक राजासँगको दर्शनभेटमा दीपेन्द्रको देवयानीसँगको प्रस्तावित बिहाका बारेमा जिज्ञासा राखेको दरबार सूत्र बताउँछ ।

देवयानीको मावली परिवार सिन्धिया राजघरानाको भारतको सत्ता राजनीतिमा प्रभावशाली भूमिका रहेको छ । देवयानीकी हजूरआमा विजयराजे सिन्धिया जीवनपर्यन्त भारतीय जनता पार्टीकी वरिष्ठ नेता थिइन् । उनका छोरा माधवराव सिन्धिया काङ्ग्रेस आईमा प्रभावशाली भूमिका राख्दछन् । देवयानीकी एउटी सानीमा बसुन्धरा राजे हाल भारतको केन्द्रीय राज्यमन्त्री छिन् भने अर्की सानीमा मध्यप्रदेश राज्य विधानसभाकी सदस्य (एमएलए) छिन् ।

देवयानीसँग दीपेन्द्रको विवाह गरिदिएको खण्डमा वंश परम्परा कायम राख्न नसकिने आशङ्काले पनि दरबारलाई सताएको थियो । देवयानीकी आमा उषाराजेका दुइटी छोरी मात्र हुनु र तीमध्ये जेठी उर्वशी, जसको दक्षिण भारतीय धनाढ्य व्यापारी खेम्का परिवारमा बिहा भएको छ, उनीबाट पनि पुत्री मात्र जन्मनुले दरबारको यो आशङ्कालाई झन् बल पुर्‍याएको थियो ।

देवयानी–उर्वशीका मावलीपट्टिकी हजुरआमा राजमाताका पनि तीन छोरी र एक छोरा मात्र छन् । यो सबैले गर्दा सो परिवारको छोरीपट्टिबाट छोरी सन्तान नै बढी हुने प्रवृत्ति देखिएकोले राजवंश परम्परामा आघात पर्नसक्ने धारणाले दरबारमा जरो गाडेको थियो ।

तनावको विस्फोट
नेपाली जनमानसमा बन्द पर्खालभित्रको राजदरबारको छवि अत्यन्त रहस्यमय र कौतुहलपूर्ण रहिआएको छ । दरबारका हरेक विषयलाई गोप्यताको अनावश्यक आवरण भिराएर लुकाउने गरिएको र सञ्चारमाध्यमहरूले पनि त्यहाँका कुरालाई खोतल्नेतर्फ खासै चासो नदेखाएकोले जनतासामु राजपरिवारको यथार्थ चित्र आउन सकेको छैन ।

श्री ५ निराजन ।

अहिले युवराज दीपेन्द्रबाट भएको भनिएको हत्याकाण्डलाई आम मानिसले पत्यार गर्नै नसक्नुको एउटा मुख्य कारण यो पनि हुनसक्छ ।

हालसम्म प्राप्त तथ्यहरूले के देखाउँछन् भने दीपेन्द्र औपचारिकता र प्रोटोकलका हिसावले ‘युवराज’ भए तापनि उनको सङ्गत र सर्कल मुख्यतः मध्यम वर्गसँगै जोडिएको थियो । र, उनको सोचाइ ठीक त्यस्तै हुने गर्थ्याे, जस्तो सर्वसाधारण नेपालीले सोच्ने गर्छन् ।

यसमाथि निरन्तर भोग्नु परिरहेको पारिवारिक दवावले युवराज दीपेन्द्रमाथि मानसिक तनाव उत्तिकै थपेको थियो । उनी आफ्नो विवाहको कुरालाई लिएर निकै चिन्तित देखिन्थे । आफ्नो रोजाईको केटीप्रति मुमा (रानी ऐश्वर्य) को पूरै नकारात्मक धारणा रहेको गुनासो उनले साथीहरूसँग गर्ने गरेका थिए ।

बहिनी श्रुतिको विवाह भएको चार बर्ष बितिसक्दा पनि आफ्नो विवाहको टुङ्गो नलागेकोमा युवराज दीपेन्द्र चिन्ताग्रस्त हुनु अस्वाभाविक थिएन । यस्तो अवस्थामा आफूभन्दा सात वर्ष कान्छा भाइ निराजनको काठमाडौँकै एक राणा परिवारकी छोरीसँग २७ जेठमा बिहाको ‘कामकुरो छिन्ने’ घोषणा हुन आँटेपछि त युवराजको चिन्ता अरू बढेको अनुमान गर्न कठिन पर्दैन ।

बाहिरी दुनियाँले जतिसुकै भव्य र लोभलाग्दो देखे पनि युवराजको वास्तविक जीवन अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको थियो । उनले परिवारबाट विद्रोह गरेर भए पनि आफूले मन पराएकी केटीसँग बिहा गर्न नखोजेका होइनन्, तर त्यसो गरेमा उनलाई राजगद्दीबाट बञ्चित गरी भाइ निराजनलाई उत्तराधिकारी बनाउने चेतावनी आएपछि उनको तनाव एकदम उत्कर्षमा पुगेको हुनसक्छ ।

युवराजले आफ्नो बिहाको निर्णय आफैँले गर्न नपाउने अवस्था त छँदैथियो, वंश परम्पराका आधारमा प्राप्त हुने राजगद्दी पनि खोसिने सम्भावना उनले देखे । सम्भवतः उनी दुवै कुरा गुमाउन चाहँदैन थिए, जसको परिणति १९ जेठको भयानक दुर्घटना हुनसक्छ ।

टुहुरा भए छोरीहरू

गोलीकाण्डबाट बाँचेका कुमार गोरखशमशेर आफ्नी दिवङ्गत पत्नी अधिराजकुमारी श्रुतिका साथ ।

आफ्ना दुई छोरीहरू गिर्वाणी (साढे तीन वर्ष) र सुरङ्गना (आठ महिना) लाई ठमेलस्थित घरमै छाडेर आठ बजे नजिकैको माईती नारायणहिटी राजदरबार छिरेकी अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा फेरि घर फर्किनन् ।

१९ जेठमा दरबारभित्र भएको हत्याकाण्डमा कोखामा गोली लागेर उनको ज्यान गयो । उनका घाइते पति गोरखशमशेर अस्पतालमा उपचार गराइरहेका छन् ।

उनीहरूकी जेठी छोरी गिर्वाणीलाई अप्रत्यक्ष रूपमा आमा बितेको जानकारी दिइएको छ, तर काखकी बच्ची सुरङ्गनालाई त्यसबारे थाहा हुने कुरा भएन । अहिलेसम्म त दुबै छोरीले आमा खोजेका छैनन् । पाँच जना सुसारेले उनीहरूको स्याहार गरिरहेका छन् ।

त्यो रात को–को मारिए ?
श्री ५ वीरेन्द्र, श्री ५ ऐश्वर्य, श्री ५ दीपेन्द्र, श्री ५ निराजन, श्री ५ श्रुति, श्री ५ शान्तिसिंह, श्री ५ शारदा शाह, श्री ५ जयन्ती शाह, धीरेन्द्र शाह, कुमार खड्गविक्रम शाह ।

को–को बचे ?
श्री ५ रत्न, श्री ५ हेलेन शाह, श्री ५ कोमल, श्री ५ शोभा, श्री ५ पारस, श्री ५ पूजा, श्री ५ प्रेरणा, श्री ५ सितास्मा, कुमार गोरखशमशेर राणा, केतकी चेस्टर, रविशमशेर राणा, महेशकुमार सिंह, डा.राजीवराज शाही, हिमानी सिंह ।

मूडी युवराज
एक महिना पहिले मध्यपुर ठिमी महोत्सवको उद्घाटनपछि तत्कालीन युवराज दीपेन्द्रले एक प्याला लोकल रक्सी र एक फाँको च्यूरा मुखमा हालेको देख्नेहरू छक्क परे । तर यो उनको आफ्नै शैली थियो । उनी जनताका माझ्मा जाँदा ‘औपचारिकता’ र ‘प्रोटोकल’ को वास्ता गर्दैनथे ।

स्व. राजा वीरेन्द्रका तीन दिदीबहिनी (बायाँबाट क्रमशः) शोभा शाही, शारदा शाह र शान्तिसिंहमध्ये शोभा मात्र जीवित ।

आफ्ना सहपाठीदेखि देशको प्रधानमन्त्रीलाईसम्म मिलनसार छवि दिन सफल थिए, उनी । ‘भावी सम्राट’ जनमानसमा यति भिजेछन् कि, १९ जेठमा नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश गर्ने घटनाको दोषी युवराज हुन् भन्ने तर्क सुन्न जनता विल्कुलै तयार भएनन् । एउटा सिने कलाकारको ‘रियल लाइफ’ र ‘फिल्मी लाइफ’ मा जति अन्तर हुन्छ, युवराज दीपेन्द्रको जीवनमा पनि त्यही भिन्नता थियो भन्दा पत्याउनेहरूको सङ्ख्या थोरै हुनेछ । तर यो वास्तविकता हो ।

‘नेपालको राजनीतिमा राजदरबार’ विषयमा पीएचडी गरेका डा. सानुभाइ डङ्गोल भन्छन्, “राजपरिवारका सदस्यको लाइफ भनेको ड्रामा जस्तो हुन्छ । निजी जीवन अर्कै हुन्छ, जनताका अगाडि चाहिँ अभिनय गर्नुपर्छ ।” युवराज दीपेन्द्र पनि यसको अपवाद थिएनन् । यद्यपि उनी आफ्नो विशिष्ट शैली र व्यवहारका कारण राजपरिवारका अरू सदस्यभन्दा पृथक थिए ।

उनको दिमाग तीखो थियो तर उनी ‘मूडी’ पनि थिए, जे गर्थे उत्कर्षमा पुगेर गर्थे । युवराज दीपेन्द्रले २०४८ सालमा शाही सेनाको ‘२९ बेसिक’ तालिम लिएपछि त्यहाँ प्रशिक्षक रहेका तत्कालीन कर्णेल प्यारजङ्ग थापाले खरिपाटीमा दिएको एउटा भोजमा त्यस्तै भयो । त्यहाँ युवराजका मामा सुरज शमशेरलाई पनि बोलाइएको रहेछ, जसलाई दीपेन्द्र बिल्कुलै मन पराउँदैन थिए ।

आफ्ना मामालाई देख्नासाथ उनी यति झाेँक्किए कि कसैलाई थाहै नदिइकन गायब भए । रातभरि उनको खोजी भयो । तर बिहान ४ बजेतिर मात्र थाहा भयो, उनी त आफ्ना एडीसी राजु कार्कीको कुपण्डोलस्थित घरमा सुटुक्क बसेका रहेछन् ।

युवराज दीपेन्द्र फुर्सदको समय राजदरबारमा काग, चमेरो र बिरालो मारेर बिताउँथे । घुमफिर गर्नु, शिकार खेल्नु र रमाइलो गर्नु उनको शोख थियो । खेलकुद र पदयात्रा रूचिका विषय थिए । उनी बन्दुक चलाउनमा जति ‘सार्प सूटर’ थिए, कम्प्युटरमा पनि उत्तिकै पोख्त मानिन्थे । प्रविधिसँग औधि लगाव राख्थे ।

युवराज दीपेन्द्रले सधैँजसो यसैगरी काखीमुनि (तस्बिरमा देखिएँझै‌ं) छोटो आकारको एमपी–५ सबमेशिन बोक्थे । तस्वीर: किरण पाण्डे

साथीभाइसँग मध्यरातसम्म पार्टीहरूमा रमाउन रुचाउँथे । लागू पदार्थको कुलतमा परेको शाही परिवारको युवा पुस्ताबाट युवराज अलग थिएनन् । सामान्य युवाहरू जस्तै सुरा र सुन्दरी उनका कमजोरी थिए । त्यसका लागि उनी नागार्जुन र गोदावरी धाइरहन्थे । आम मानिसको जस्तो स्वभाव र राजकीय पृष्ठभूमि हुँदाहुँदै पनि दीपेन्द्रमा राजपाटप्रति उतिसारो रूचि थिएन । तर, २०५५ सालमा राजा वीरेन्द्र मुटुको उपचारको सिलसिलामा बेलायत जाँदा एक महिनासम्म राजप्रतिनिधि परिषदको अध्यक्ष भएपछि उनमा राजकाजको चस्का पसेको दाबी राजदरबार सूत्रहरू गर्दछन् ।

युवराजले राजकाजका मामिलामा आफ्ना हजुरबा राजा महेन्द्रलाई आदर्श ठान्दथे र युवा पुस्तालाई बढी रोल दिइनुपर्ने उनको धारणा थियो । आफू राजा भएपछि राजप्रासाद सेवाको नेतृत्व तहमा समेत युवाहरूलाई ल्याउने योजना आफ्ना साथीहरूलाई सुनाउँथे ।

नारायणहिटी दरबारका अनुभवीहरूका अनुसार, राजा वीरेन्द्रले आफूले शुरुदेखि नै विदेशमा पढेकाले ‘नेपाल चिन्न’ धेरै समय लागेको हुँदा युवराजलाई विचार पुर्‍याएरै काठमाडौँकै बुढानीलकण्ठ स्कूलमा भर्ना गरिएको थियो, जहाँ छात्रवृत्ति पाएर मुलुकको कुनाकुनाबाट अनेक वर्गका विद्यार्थी पढ्न आउँथे ।

त्रिभुवन सदनको बिलियर्ड बैठक, जहाँ १९ जेठमा भयानक हत्याकाण्ड भयो ।

यस किसिमको सङ्गतले दीपेन्द्रलाई आम नेपाली जस्तै त बनाइदियो तर, लालनपालनका क्रममा राजपरिवारबाट भने उनले ‘युवराज’ का रूपमा औपचारिक व्यवहार बाहेक अभिभावकको भूमिका पाएनन् ।

राजपरिवारभित्र राजाकी प्यारी श्रुति थिइन् भने रानीका लागि निराजन । त्यहाँ कोही एक्लो थियो भने ती निश्चय नै युवराज दीपेन्द्र थिए । त्यसमाथि उनको मुमासँग त ठ्याम्मै कुरा मिल्दैन थियो । शायद त्यसैले उनी साथीभाइसँगै ज्यादा रमाउँथे ।

केही वर्षअघि दरबारका पुराना जर्नेलहरू शान्तकुमार मल्ल र ताराबहादुर थापा सेवानिवृत्त भएपछि युवराजलाई बुझ्ने र सम्झाउने कोही नभएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । पुस्तौँदेखि राजपरिवारप्रति वफादार मल्ल र थापाको युवराजलाई अभिभावकले जस्तो सल्लाह दिने र चित्त नबुझेको कुरा राजासमक्ष उजुरी गरिदिने बानीले उनलाई केही हदसम्म नियन्त्रित गरेको थियो । थाहा भएअनुसार, केही महिनादेखि तनावमा रहेका युवराजले पुनः लागू औषध सेवन गर्न थालेका थिए ।

त्रिभुवन विश्वविद्यालयका मनोविश्लेषक शिशिर सुब्बाका विचारमा दरबार हत्याकाण्डमा दीपेन्द्रको संलग्नता केलाउँदा उनलाई युवराजका रूपमा नहेरी एउटा व्यक्तिका रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । “युवराज बाहिरी समाजमा बढी घुलमिल भएकाले आम मान्छेले जस्तै सोच्थे तर आफ्नो लाइफसमेत आफूखुशी बिताउन नपाउने बाध्यता थियो । यस्तो अवस्थामा उनले परिवारबाट आवश्यक नैतिक र मनोवैज्ञानिक सहयोग पनि पाएनन् । समस्या समाधानको अरू कुनै उपाय नदेखेपछि तनावग्रस्त युवाले समस्याको स्रोतको रूपमा रहेको परिवारलाई नै खत्तम पार्ने बाटो समातेको हुनसक्छ,” सुब्बाको विश्लेषण छ ।

अनुत्तरित प्रश्नहरु
राजदरबारमा १९ जेठमा भएको हत्याकाण्डप्रति सुनिने आम धारणा एउटै छः त्यो षड्यन्त्र हो, युवराज दीपेन्द्रबाट त्यत्रो हत्या हुनै सक्दैन । सो घटना भएपछिको सङ्कटपूर्ण स्थितिमा राज्य संयन्त्रको भूमिकामा कमजोरी देखिनु, आकस्मिक रूपमा बन्दुक पड्केर सो हत्याकाण्ड भएको भनी राज्यसहायकका रूपमा श्री ५ ज्ञानेन्द्रबाट वक्तव्य आउनु, श्री ५ वीरेन्द्रको वंश नै सखाप हुनु, अप्रत्याशित रूपमा सडक–आक्रोश उठ्नु, छिमेकी मुलुकले आफ्नो सुरक्षा निकायहरूलाई एकाएक सक्रिय पार्नु जस्ता परिघटनाहरूले गर्दा शाही संहारलाई स्वाभाविक मानवीय आक्रोश वा सनकपन मात्र मान्न नसकिने आधारहरू विकसित भए ।

यसबाहेक यस्ता अरू थुप्रै अनुत्तरित प्रश्नहरू पनि उठेका छन्, जसको पत्यारलाग्दो जवाफ नमिलेसम्म आम मानिसको आशङ्का मेटिन गाह्रो हुन्छ । जस्तोः प्रत्यक्षदर्शी डा.राजीवराज शाहीको भनाइमा गोली चलाउनुपूर्व युवराज दीपेन्द्र मातेर लठ्ठ थिए र उनलाई समातेर सुताउन लगिएको थियो । यस्तो अवस्थामा रहेको मान्छेले कम्तीमा दुइटा राइफल लिएर त्यत्रो नरसंहार मच्चाउन सक्छ ?

घटनास्थलमा दीपेन्द्रबाहेक अरूले बोकेको हतियार पनि भेटिएको बताइन्छ, सो हतियार त्यहाँ चलाइएको थियो या थिएन ?

दीपेन्द्रले अन्त्यमा बाहिर आई गरेको भनिएको आत्महत्यालाई पुष्टि गर्ने पर्याप्त आधारहरू के छन् ? वा उनीमाथि अरू कसैले प्रहार गरेको थियो कि ?

डा.शाहीको भनाइमा दीपेन्द्र सुत्न गएको ४५ मिनेटपछि आएर गोली प्रहार गरेका थिए; त्यसबीच उनले के–के गरे ? को–कोसँग सम्पर्क राखे ? यदि दीपेन्द्रबाटै सो हत्याकाण्ड भएको हो भने त्यस अवधिमा उनलाई उक्साउने किसिमको भूमिका कतै कसैबाट भयो कि भएन ?

दीपेन्द्रले भोज चलिरहेको कक्षमा भित्र बाहिर गर्दै गोली चलाएको बयान प्रत्यक्षदर्शीबाट आएको छ; उनले त्यसो गर्नुपर्ने कारण के थियो ?

सो हत्याकाण्डबाट शाहजादा पारस लगायत अरू थुप्रै जना कसरी सकुशल रहन सम्भव भयो ?

घटना हुनुपूर्व शाही भोजमा युवराज दीपेन्द्रको विवाहको प्रसङ्ग उठेको थियो कि थिएन ?

घटना भइसकेपछि घाइतेहरूलाई नजिकका अस्पतालमा नलगिकन टाढा छाउनीको सैनिक अस्पतालमै किन पुर्‍याइयो ?

राजपरिवारका मृत सदस्यहरूको शव परीक्षण (पोस्टमार्टम) गरियो कि गरिएन ? त्यस्तै शव र घटनास्थलको मुचुल्का भयो कि भएन ? भएन भने किन गरिएन ?

(१–१५ असार २०५८ मा प्रकाशित)

पढ्नुहाेस्: 

कर्मको क्रूर खेल: एक्लै जले दीपेन्द्र

दीपेन्द्रकाे अन्तिम दिन

प्रतिकृया दिनुहोस