रिपोर्टआइतबार, १९ जेठ , २०७६

दीपेन्द्रकाे अन्तिम दिन

१९ जेठको राजदरबार हत्याकाण्ड (हिमाल–आर्काइभ)

हिमालखबर

भोलिपल्ट २० जेठमा साढे चार बजेदेखि ग्य्राण्ड रिहर्सल थियो । दीपेन्द्रले चार बजे नै आएर सबै तयारी हेर्ने वचन दिएका थिए। खेल पदाधिकारीका अनुसार त्यस दिन उनी प्रसन्न मुद्रामा थिए । 

– श्रीभक्त खनाल 

१९ जेठ अपराह्न चार बजे वीरेन्द्र अन्तर्राष्ट्रिय खेलपरिसर, 

सातदोबाटोमा युवराजधिराज दीपेन्द्र । तस्वीर: रवि मानन्धर

ललितपुर सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय खेलकुद परिसरमा १९ जेठमा पाँचौँ राष्ट्रिय खेलकुदको तयारी खेल चलिरहेको थियो । अपराह्न तीन बजे युवराजधिराज दीपेन्द्रबाट खेल हेर्ने कार्यक्रम थियो । 

तर निर्धारित समयभन्दा दश मिनेट पहिले, अपराह्न २.५० बजे, आफैँ गाडी हाँकेर त्यहाँ पुगेका युवराज परिसरमा गाडी नरोकिकन सीधै अगाडि बढे । र, परिसरको एक फन्को लगाएर ठीक तीन बजे रङ्गशालामा प्रवेश गरे । युवराजलाई शिक्षा राज्यमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर जबरा, खेलकुद परिषदका सदस्यसचिव विनोदशङ्कर पालिखे लगायत अन्य खेल पदाधिकारीहरूले स्वागत गरेका थिए । शुरुमा उनी पौडी पोखरीमा गए ।

पाँचौँ राष्ट्रिय खेलकुदमा पौडी खेल सकिन कति दिन लाग्छ ? कुन कुन इभेन्ट समावेश छन् ? खेलाडीलाई बस्ने प्रबन्ध कस्तो छ ? जस्ता विषयमा जानकारी लिए र पौडीको एउटा प्रशिक्षण खेल हेरे । युवराजले पौडीमा नेपालले ‘ब्रेष्ट स्ट्रोक’ इभेन्टबाट अन्तर्राष्ट्रिय पदक ल्याउनसक्छ भन्ने सुझव पनि दिए ।

पौडी संघका अध्यक्ष प्रदीपशम्शेर राणाले स्वीमिङ पुलमा हिटिङ सिस्टम नभएकोले राख्ने सोचाइ भइरहेको जानकारी गराए । युवराजले उक्त सोचाइ राम्रो भएको बताउँदै राजदरबारको स्वीमिङ पुलमा पनि हिटिङ सिस्टम भएको जानकारी दिएका थिए । पौडी परिसरबाट युवराज दीपेन्द्रको सवारी सुटिङ कक्षमा भएको थियो, जहाँ १० मीटर रेञ्जको एयर राईफल र एयर पेस्तोलको प्रशिक्षण भइरहेको थियो ।

खेलकुद परिषदका सदस्यसचिव पालिखेतिर फर्किएर युवराजले भने, “स्टेडियममा के–के बिग्रेका छन् ती कुराको विवरण मलाई दिनुहोला, सधैँ नचलाए पनि स्टेडियमलाई अपडेट राख्नु पर्छ ।”

त्यस दिन युवराजले पाँचौँ राष्ट्रिय प्रतियोगितामा पहिलो पटक समावेश हुने स्क्वास खेलको एउटा म्याच पनि हेरे । नेपाल स्क्वास संघका अध्यक्ष अमर सिंहले युवराजलाई “मौसुफ स्क्वास खेलिबक्सन्छ ?” भनी सोधेका प्रश्नको प्रतिउत्तर थियो, “नखेलेको १०–१२ वर्ष भयो, र्‍याकेटमा धुलो परिरहेको होला ।”

स्क्वासपछि युवराज लन टेनिस कोर्टमा गए र भने, “आई नो नथिङ अबाउट टेनिस, एब्सुलिट्ली आई एम जिरो ।” फूटबल कम्प्लेक्सभित्र थुपारिएको निर्माण सामग्री देखाउँदै उनले भनेः ढुङ्गा–ईटा राम्रोसँग पन्छाउनु, अरू खेलमा त डर छैन तर फूटबलमा हुलदङ्गा हुनसक्छ । भोलिपल्ट २० जेठमा साँढे चार बजेदेखि ग्य्राण्ड रिहर्सल थियो ।

दीपेन्द्रले चार बजे नै आएर सबै तयारी हेर्ने वचन दिएका थिए । खेल पदाधिकारीका अनुसार त्यस दिन उनी प्रसन्न मुद्रामा थिए । अपराह्न चारबजेपछि स्टेडियमबाट निस्केर युवराज दीपेन्द्र सातदोबाटो, बल्खु, बालाजु, लैनचौर हुँदै नारायणहिटी दरबार गएका थिए । सातदोबाटो खेलपरिसरमा युवराज कोटेश्वरको बाटो हुँदै पुगेका थिए । अनौपचारिक सवारी भएको कारण प्रहरीलाई दीपेन्द्रको सवारी कुन–कुन रुटबाट भएको थियो भन्नेबारे कुनै जानकारी थिएन । 

फूटबल खेलाडीहरूसँग विजय मनाउँदै युवराज दीपेन्द्र । तस्वीर: रवि मानन्धर

खेलकुदमा भुतुक्क राजपरिवार

- मुकुल हुमागाइँ  

दुई वर्षअघि आठौँ साफमा नेपाल र माल्दिभ्सबीच भएको फूटबल सेमीफाइनलमा युवराज दीपेन्द्रले मैदानमै उत्रेर खुशियाली मनाएका थिए । दीपेन्द्रले नेपाली टिमको विजयका लागि खेलाडीहरुलाई ‘चियर’ मात्र गरेनन् प्रशिक्षक स्टीफन कन्टेन्स्ट्टाइनलाई अँगालो समेत हाले । 

दीपेन्द्रबाट त्यस्तो प्रतिक्रिया होला भनेर शायदै कसैले सोचेका थिए । दुई वर्षअघिको त्यो क्षण नेपाली खेलप्रेमीहरूको स्मृतिमा ताजै छ । आठौँ साफमा नेपालको उल्लेखनीय प्रदर्शनसँगसँगै युवराज दीपेन्द्रको सक्रिय अभिरुचि चर्चाको विषय बनेको थियो ।

ओलम्पिक खेलदेखि ओलम्पिक काउन्सिलको बैठकसम्म, खेलाडीलाई पदक बाँड्नेदेखि खेलाडीको पसिना पुछिदिने कामसम्म, सबैमा दीपेन्द्रको सक्रिय सहभागिता हुन्थ्यो । दीपेन्द्रले खेलकुदमा देखाएको अभिरुचिले खेलाडीहरूलाई हौसला दिनुका साथै आम जनतासँग राजपरिवारको सम्बन्ध नजिक पार्ने काम गरेको थियोे ।

साफको तयारीदेखि खेल अवधिभर दीपेन्द्रको अधिकांश समय साफ परिसरमै बित्ने गर्दथ्यो । फूटबल फाइनलमा नेपाल बाङ्लादेशसँग पराजित हुँदा उनको ‘मूड अफ’ भएको स्मरण गर्दै ‘एन्फा’का अध्यक्ष गणेश थापा भन्छन्, “त्यतिखेर मौसुफले नेपालले अरू जुनसुकै खेल हारे पनि फूटबलमा हारेको पचाउन सक्दिनँ भनिबक्सेको थियो ।” 

आफैँ पनि जुडो, कराँते र बक्सिङमा रुचि लिने दीपेन्द्र सोतोकान कराँतेका दोस्रो डान थिए । जापानको विश्व सोतोकान कराँते महासंघले उनलाई सम्मानार्थ सोतोकानको चौथो डान प्रदान गरेको छ ।

व्याडमिन्टनका सोखिन वीरेन्द्र । 

नेपाली खेलकुदसँग राजपरिवारको सम्बन्ध निकै पुरानो छ । २००७ सालअघि राणादरबारको संरक्षण रहेको नेपाली खेलकुदलाई २००७ पछि राजदरबारले जनतामाझ् पुर्‍याउने प्रयास गर्‍यो ।

फूटबल, हकी र शारीरिक व्यायाममा रुचि राख्ने श्री ५ त्रिभुवनको उपस्थितिमा २००८ सालमा नरशमशेर राणाको घर जावलाखेलमा नेपालमा खेलकुद विकासका संभावनाहरूबारे छलफल भएको थियो, जसमा युवराज महेन्द्र, अधिराजकुमारहरू हिमालय र बसुन्धरा लगायत प्रम मोहनशमशेरको पनि सहभागिता थियो ।

“टुँडिखेल, छाउनी, पाटन टुँडिखेल ९हाल शाही सेनाको राजदल गण रहेको लगनखेल०, जहाँ फूटबल म्याच भए पनि श्री ५ त्रिभुवनको सवारी हुने गर्दथ्यो,” पूर्व राष्ट्रिय फूटबल खेलाडी कोमल पाण्डे बताउँछन् । श्री ५ महेन्द्रको टेनिस, सुटिङ, ब्याडमिन्टन र फूटबलमा विशेष लगाव थियो ।

नेपालमा लन टेनिसको नियमित प्रतियोगिता महेन्द्रको शुभराज्याभिषेकको अवसरमा शुरु भएको हो । त्यस्तै अधिराजकुमार बसुन्धरा गल्फ र विलियर्डमा सोखिन थिए । २०३३ सालमा बसुन्धराले दशरथ रङ्गशाला परिसरस्थित ‘काठमाडौँ स्पोर्टस् क्लब’लाई स्नुकर टेबल प्रदान गरेका थिए।

काठमाडौँमा सोही समयदेखि सर्वसाधारणले विलियर्ड र स्नुकर खेल्न थालेका थिए । हिमालय र बसुन्धराले न्यूरोड टीम ९एनआरटी० बाट तीन वर्षसम्म फूटबल खेलेका थिए । स्कूले विद्यार्थी छँदा श्री ५ वीरेन्द्रको व्याडमिन्टनमा र श्री ५ ज्ञानेन्द्रको हकीमा रुची थियो । 

नेपालमा खेलसम्बन्धी संस्थाहरूको स्थापना र विकासमा पनि राजपरिवारको भूमिका महत्वपूर्ण देखिन्छ । अखिल नेपाल टेनिस संघको स्थापना श्री ५ त्रिभुवनको प्रमुख संरक्षकत्वमा भएको थियो भने अधिराजकुमार हिमालय र अधिराजकुमारी प्रिन्सेप शाह यसका आजीवन सदस्य थिए । त्रिभुवनको अवसानपछि राजा महेन्द्रले निरन्तरता दिए, नेपाली खेलकुदको संस्थागत विकासलाई । 

पौडी पोखरीमा अधिराजकुमार निराजन। तस्वीर:श्याम चित्रकार

महेन्द्रकै पालामा २०१५ सालमा राष्ट्रिय खेलकुदपरिषद ९राखेप०को स्थापना भयो, जुन २०२१ सालसम्म ‘राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद’को नामले चिनिन्थ्यो । पञ्चायतकालमा नेपाली खेलकुदले संस्थागत फड्को मार्दा यसका हर्ताकर्ता राजपरिवारकै सदस्यहरू थिए ।

२०२४ सालमा राखेप पुनर्गठन भएपछि अधिराजकुमार बसुन्धरा अध्यक्ष र कुमार खड्गविक्रम शाह सदस्यसचिव हुन पुगे । त्यतिबेला श्री ५ महेन्द्रले आर्थिक रूपले कमजोर खेलकुद परिषदलाई आफ्नै कोषबाट रु एक लाख प्रदान गरेका थिए ।

विभिन्न खेललाई वर्गीकरण गरेर सम्भावना भएकालाई प्राथमिकताको सूचीमा राख्ने पहल खड्गविक्रम शाहकै पालामा भएको थियो । त्यसको दश वर्षपछि २०३४ सालमा परिषदको पहिलो संरक्षक अधिराजकुमार धीरेन्द्र र नयाँ सदस्यसचिव शरदचन्द्र शाह भए ।

२०३४ देखि २०४६ सालसम्मको अवधिमा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा उल्लेखनीय सफलता पायो, साथै देशभित्र खेलकुदको भौतिक पूर्वाधारको पनि विकास भयो । तर परिषदका तत्कालीन हर्ताकर्तालाई यही समयमा पंचायत व्यवस्थाका विरोधीहरूलाई दबाउन खेलकुद परिषदलाई प्रयोग गरेको आरोप पनि लागेको थियो । 

प्रजातन्त्रको पुनर्स्थापनापछि केही समय खेलकुदमा राजपरिवारको सक्रियता पहिले जस्तो रहेन । तर यो रिक्ततालाई तोडे युवराज दीपेन्द्रले, जसले खेलकुदमा आफूलाई राजपरिवारका पूर्ववर्ती सदस्यहरूभन्दा भिन्न रूपमा प्रस्तुत गरे ।

उनले सधैँ उद्घाटन र पदक/पुरस्कार वितरणमा मात्र सामेल हुने राजपरिवारका अन्य सदस्य भन्दा फरक ढङ्गले मैदानमै उत्रिएर खेलाडी र प्रशिक्षकसँग घुलमिल हुने काम गरे । खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूबीच खेलकुदका समस्या र चुनौतीबारे छलफल गर्ने, खेलाडीहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्ने कामले दीपेन्द्रलाई लोकप्रिय बनायो । 

 जुडोमा व्ल्याकबेल्ट धीरेन्द्र । तस्वीर: श्याम चित्रकार

दीपेन्द्र जति चर्चामा नआए पनि अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिको पनि खेलकुदमा अभिरुचि थियो । बुढानीलकण्ठ स्कूलमा जुनियर स्वीमिङ च्याम्पियन रहेका निराजनले केही वर्षअघि दशरथ रङ्गशालाको स्वीमिङ पुलमा आयोजित एक प्रतियोगितामा भाग लिएका थिए।

पछिल्लो समय फूटबलमा रुचि राख्न थालेका निराजनको काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना गर्ने सोचाइ थियो । त्यस्तै पेन्टिङमा अभिरुचि राख्ने श्रुतिको घोडसवारीमा ज्यादै लगाव थियो ।

निराजन र श्रुतिलाई राजदरबारमा घोडसवारी सिकाएका शिशिरचन्द्र शाह भन्छन्, “निराजनमा एक कुशल घोडसवारीमा हुनुपर्ने सबै विशेषता थियो भने श्रुति घोडसवारी भनेपछि हुरुक्कै होइबक्सन्थ्यो ।” थोरैलाई मात्रै थाहा होला, श्रुति जुडोमा ब्ल्याक वेल्ट पनि हुन् । 

आधुनिक खेलकुदमा नेपालले प्रवेश गरेको पाँच दशक बितिसकेको छ । खेलकुदमा राजपरिवारको रुचि नभएको भए नेपाली खेलकुदको स्वरुप अहिलेको जस्तो हुन्थ्यो रु राखेपका प्रशासक रमेश खनाल भन्छन्, “खेलकुद कुनै न कुनै रूपमा अघि त बढ्थ्यो तर यसले यत्तिको गति लिँदैनथ्यो ।

राजपरिवारको संलग्नताले खेलकुदमा गति ल्याइदिने काम गर्‍यो ।” १९ जेठको दुःखद घटनाको असर नेपाली खेलकुदमा कस्तो होला रु कुनैबेला दीपेन्द्रसँग फूटबल खेलेका खेल फोटोग्राफर श्याम चित्रकार भन्छन्, “राजपरिवारको प्रत्यक्ष उपस्थिति हुँदा त खेलकुदको यो हविगत छ, अब दीपेन्द्रजस्तो खेलप्रेमी नरहँदा असर त पर्छ नै । नेपाली खेलाडीहरूले जित्दा प्रोत्साहन दिने र हार्दा सुम्सुम्याउने व्यक्ति गुमाएको छ ।” 

पढ्नुहाेस् 

तीनपुस्ते राजाका झझल्काे

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस