ब्लगसोमवार, मंसिर २०, २०७३

गोठमा हुर्कंदैछ एउटा पुस्ता

मीना शर्मा

 

महिला भएकाले पनि होला ‘छाउ’ बारे अलि बढी नै चासो लाग्छ । छाउ नेपालभरि नै छ भन्ने जानकारी मलाई छ, तर आफ्नै आँखाले दुर्गमका छाउ हेर्न मैले बाजुरा, हुम्ला र मुगुका गाउँबस्ती जाने निधो गरेर ६ कात्तिक २०७३ मा काठमाडौंबाट बस चढेर तेस्रो दिन बाजुरा सदरमुकाम मार्तडी पुगें ।

मार्तडीमा जिल्लाको अति दुर्गम उत्तरी गाविसहरू– बिच्छ्या र रुगिनका साथै हुम्लाका मैला, मदेना अनि मुगुको ह्याङ्गलु, श्रीकोट र सेरी गाविस पुग्ने १० दिने पैदल यात्राको तयारी भयो । साथ दिन तयार भए, स्थानीय पत्रकार प्रकाश सिंह ।

९ कात्तिक बिहान मार्तडीबाट पाण्डुसैन जान चढेको जीप एक घण्टा पनि नगुडी हिलोमा फस्यो । आधा घण्टाको प्रयासमा बल्लतल्ल जीप निकालेर अर्को चार घण्टामा हामी पाण्डुसैन पुग्यौं । त्यहाँबाट तीन घण्टा पैदल हिंडेर कोल्टी पुग्यौं । १० कात्तिक बिहान कोल्टीबाट बाँधुतर्फ लागियो । यात्रामा पत्रकारको प्रयास हुन्छ– भेटेसम्म समाचारका कुनै विषय नछोड्ने । तर, गोठमा बसेका सुत्केरी भेट्नु हाम्रो यात्राको विशेष उद्देश्य थियो । हामी ४७० घरधुरी भएको बाँधुको धिम गाउँ जाने उकालो लाग्यौं ।

बाजुराको रुगिनकी सुत्केरी सरस्वती बुडथापा छाउ गोठबाट बाहरि निस्किदै ।           तस्वीर: मीना शर्मा ।

 

अनि धिक्कार लाग्यो

धिम उत्तरी बाजुराको सबभन्दा ठूलो बस्ती हो । राँघे भीरको अप्ठ्यारो उकालोमा पानीको बोत्तल र शरीरको शक्ति सँगसँगै रित्तिंदै थियो । तर पनि धिम पुग्नु थियो । सातघण्टा नाक ठोक्किने उक्कालो हिंडेर हामी ११ कात्तिक दिउँसो १.३० बजे धिम पुग्यौं । हामी स्वयंसेविका रामुदेवी मल्लको घरमा झेला राखेर अर्की स्वयंसेविका चन्द्रकला बुढासँग सुत्केरी बसेका गोठहरूमा पुग्यौं ।

गोठको अवस्था हेरेपछि मेरो भोक, तिर्खा र थकाइ करुणामा बदलियो । फोहोर, चिसो र हावा नखेल्ने गाईगोठमा सुत्केरी बसेका छन् । अँध्यारोमा भविष्यका कर्णधारहरू हुर्काइरहेका छन् आमाहरू । मैले ‘सुरक्षित मातृत्व’, ‘नियमित गर्भ परीक्षण’, ‘पोषणयुक्त खाना’ भन्ने सरकारी नारा सम्झ्एिँ अनि धिक्कार लाग्यो । त्यस अपराह्न हामीले कुरा गरेका तीन जना सुत्केरीको भनाइ आफैंमा राज्यको हेपाइ, सामाजिक भेदभाव–विभेद, विपन्नता र अन्धविश्वासका ‘टेस्टामेन्ट’ थिए । १० दिन तीन जिल्लामा हिंड्दा भेटिएका ९ जना सुत्केरीको अवस्था हाम्रो देशको दुर्दान्त तस्वीर पनि थियो ।

फोहोर गोठमा परालको ओछ्यान, झ्ंिगाको बथान, बासी खाना नियाल्दै मैले काठमाडौंका अस्पतालमा बच्चा जन्माउने सुत्केरीहरूलाई सम्झेँ । एउटै देश, एकै पुस्ता, एउटै नागरिकता भएर के गर्नु, जीवनशैलीमा आकाश र धरतीको फरक छ । हामी सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ भन्छौं, महिला अधिकारको कुरा गर्छौं र आफ्नो शरीर आफ्नो अधिकार पनि भन्छौं । ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भनेर महिला हिंसा विरुद्धको १६ दिने अभियानमा छौं । तर, मैले धिममा भेटेका सुत्केरीहरूले देउता खुशी बनायो भने परिवार खुशी हुन्छ भनेर गोठमा बसेको बताए । अन्धविश्वासको पराकाष्ठा !

मेरै उमेरका र अझ् साना पनि कुपोषण सहेर महीना दिनसम्म गाईगोठमा बसेका छन् । उनीहरूको लागि जीवन, जवानी, अधिकार, स्वतन्त्रता अर्थहीन भएको छ । समाजका गन्यमान्यहरूलाई भेटेपछि अर्को कुरा थाहा भयो– गोठका सुत्केरीलाई घरमा सार्न सहज छैन । किनभने, उनीहरूलाई भगवानको डर छ, परिवारको अहित नहोस् भनेर आफूपछिको पुस्ता गोठमा हुर्काइरहेका छन् !

११ गते राति धिममा हामी लिपपोत गरेको सफा घरमा बास बसेका थियौं, ज्यादै थाकेको भए पनि उडुसले टोकेर निदाउन दिएन । गोठमा सुत्केरीहरूको हालत के होला ? भनेर सोच्दै रात काटेर बिहानै रुगिनतिर हिंड्यौं । भीरको साँघुरो बाटो, सीधै तल कर्णाली । ढुंगे बाटामा कतैकतै सिस्नुका पोथ्रा र सिउडीका रूख भेटिन्छन् । सास रोकेर हिंड्दै साढे दुई घण्टामा रुगिनको फैती पुग्यौं, जहाँ कुरा गर्न शिक्षक देवराज पाण्डे भेटिए । उनले बच्चा जन्मने समय भएकी श्रीमतीलाई चारघण्टा परको रुगिनतिर हिंडाउन नसकेको बताउँदै भने, “म त तपाईंहरू डाक्टर हो कि भनेर दौडेर आएको !”

संस्कार हो, मान्नै प¥यो !

फैतीबाट हामी सातघण्टामा रुगिन स्वास्थ्यचौकी पुग्यौं । स्वास्थ्यकर्मीहरू भेटिंदैनन् कि भन्ने चिन्ता थियो, तर काठमाडौंबाट पत्रकार आउँदैछन् भन्ने सुनेर पर्खेर बसेका रहेछन् । गोठमा सुत्केरीको प्रसंग उठाउनासाथ अहेव धनबहादुर फडेराले फरर्र भने, “बाजुरामा मात्रै होइन, मध्य र सुदूरपश्चिमका दुर्गम गाउँमा यो समस्या छ, मेरै जिल्ला कालीकोटमा पनि यस्तै चलन छ ।”

त्यसपछि हामीले गोठमा बसेकी १२ दिनकी सुत्केरी सरस्वती बुढथापालाई भेट्यौं । उनले ‘भूत नलागोस् भनेर’ ढोकामा बन्चरो झ्ुण्ड्याएकी थिइन् । अरू सुत्केरीको जस्तै उनको कम्मरमा पनि हँसिया थियो । रुगिन स्वास्थ्य चौकीकी अनमी प्रेमकला मल्लले चाहँदैमा यस्तो अन्धविश्वास हटाउन नसकिने बताइन् । आफूलाई बिहान सातबजे कालो चियासँग कोदोको रोटी, दिउँसो १२ बजे पानीसँग त्यही चिसो रोटी अनि चारबजे चाउचाउको झेलसँग त्यही रोटी छ, खोज्दै हिंडेको अवस्था छ यस्तो !

अनि हामी बाजुराको कवाडी भन्ने ठाउँतिर लाग्यौं । मुगु, हुम्ला र बाजुराको संगमस्थल जस्तो रहेछ, कवाडी । रात पर्न थालिसकेको बेला साँघुरो ओरालो बाटोमा आठजना स्थानीय थकाइ मारिरहेका भेटिंदा हामी पनि एकछिन बस्यौं । समूहमा काखमा सानो बच्चा लिएकी गर्भवती महिला पनि थिइन् । ‘तपाईंको बच्चा जन्मने कहिले हो ?’ भनेर सोध्दा उनले मसिनो स्वरमा भनिन्, “पुसमा ।”

मैले ‘पुसको चिसोमा पनि गोठमै बस्नुहुन्छ होला’ के भनेकी थिएँ, पुरुषहरूले लगभग एकैस्वरमा भने, “संस्कार हो, मान्नु परिहाल्यो नि !”

अन्धविश्वासको पराकाष्ठा !

बाजुराका गाउँहरूमा दिक्क भएको मन हुम्लाको मैला पुग्दा झ्न् विरक्तियो । त्यहाँका महिलाहरूको समान बुझइ थियो– परिवारलाई राम्रो हुन्छ भने गोठमा किन नबस्ने ? आफू गोठमा जन्मिएको हो, आफूले पनि गोठमा बच्चा जन्माउँदा राम्रै भइरहेको छ । गहिरोसँग जरा गाडेको यस्तो अन्धविश्वासबारे कुरा गर्दा एमालेका जिल्ला नेता देउचे सार्कीले उल्टो प्रश्न गरे, “देउताको डरले आफैं गोठमा बसेका महिलाहरूलाई हामीले कसरी रोक्नु ?”

हुम्लामा त ‘सुत्केरीलाई हरियो सागसब्जी दिनुहुन्न’ भन्ने मान्यता पनि रहेछ । यसरी आमा र बच्चा दुवैलाई कुपोषणको शिकार बनाइँदो रहेछ । बाटामा दूध–मही छ कि भनेर सोध्दा कसैले छ भनेनन् । गाई–भैंसी भएको घरमा पनि ‘छैन’ भने । मुगुको श्रीकोटमा थाहा भयो– गोरस दिनलाई दलित होइन भन्ने प्रमाणित हुनुपर्ने रहेछ । श्रीकोटबाट चारजना भएका हामीले ‘दुई बाहुन, एक क्षेत्री र एक जना ठकुरी हौं’ भन्यौं । मैले छुइ भएको छैन, भएको भए यसरी हिंड्न सक्दिनथें भनेर थप एउटा स्पष्टीकरण दिनु प¥यो । छुइ भएकालाई पनि गोरस नदिइँदो रहेछ । अहिले राजधानीमा रहँदा पनि मलाई दिक्क लागिरहेको छ– देउता रिझउन महिलाले कहिलेसम्म यो सब सहिरहने ?

प्रतिकृया दिनुहोस