ब्लगसोमबार, २० जेठ , २०७६

‘ट्रेकिङ’ जाने हैन ?

कनकमणि दीक्षित

वैदिककाल पूर्वको इन्डो–युरोपियन शब्द उत्तरी युरोप, दक्षिण अफ्रिका हुँदै आधा शताब्दी मात्र अघि नेपाल छिर्‍यो अनि नयाँ अर्थ सहित ‘ट्रेक’ संसार फैलियो ! 

कतिपय पश्चिमा शब्द नेपाली भइसके; अथवा हुँदैछन्, एउटा उदाहरण– ‘सेटिङ’, जसले बिचौलियाको कर्तुतको अर्थ बोक्छ । यस्तै अर्को हो, ‘ट्रेकिङ’, जुन केही दशकयता मात्र नेपाली बोलीचालीमा पसेको हो ।

आजकाल हामी पहाड हिंड्न जाँदा ट्रेकमा जान्छौं, रारा होस् वा गोसाइँकुण्ड । तर पैदल देशाटन जनाउने यो शब्द नेपालमा मात्र चलनचल्तीमा नभएको होइन, सन् १९७० पूर्वको अंग्रेजी शब्दकोशका पाना पल्टाउँदा पनि आज प्रयोग हुने अर्थमा पाइँदैन ।

राणाशासन अन्त्य पश्चात जब विदेशी पर्यटकका लागि नेपाल खुल्यो सन् ’५० दशकको अन्त्यतिर, उनीहरूले स्वच्छन्द, रमणीय प्रकृति र बसोबासका हिसाबले विविधतायुक्त यस्तो ‘डेस्टिनेशन्’ फेला पारे, जो यसअघि पर्वतारोहीको यदाकदा किताबमा मात्र पढ्न पाइन्थ्यो । यो ‘नयाँ मुलुक’ मा बाटोघाटो थिएन, तर बाक्लो पहाडी आवादीका कारण गोरेटोले भने जताततै जोडेको थियो ।

यिनै गोरेटो मार्फत पहिले आएका पर्वतारोहीले चिनाइदिएका क्षेत्रमा पश्चिमा टुरिष्टहरू पैदल यात्रा गर्न तम्सिए — मुख्यतः अन्नपूर्ण, खुम्बु, लाङटाङ–जुगल र यिनको आसपास ।

दक्षिण अफ्रिकाको यो तस्वीर र नेपालको ‘ट्रेकिङ’ बीच के सम्बन्ध छ ?

सन् ’६० को दशकमा यी पैदल टुरिष्टहरूलाई नेपाल ल्याउने र चिनाउने मुख्यतः ब्रिटिश गुर्खाबाट अवकाशप्राप्त बेलायती साहेब हुन पुगे — कर्णेल जिमी रबर्टस्, माइक चेनी र अन्य । तर, समस्या पर्‍यो, नेपालका डाँडाकाँडा छिचोल्ने यो नयाँ पर्यटनको तरिकालाई के नाम र क्रियापद दिने ? भाषिक समस्या !

अंग्रेजीमा चलनचल्तीका ‘हाइकिङ’, ‘वाकिङ’ वा ‘क्याम्पिङ’ कुनैमा यो नयाँ हिंडाइको तरिकाको अर्थ साहेबहरूले भेटेनन् । किन भने नेपाली मध्यपहाड र हिमाली क्षेत्रको हिंडाइ अन्यत्रको भन्दा फरक थियो — प्रकृतिसँग विचरण गर्दै, गाउँबस्ती बीचका पैदल मार्ग हुँदै, ठाउँठाउँमा बास बस्दै, धेरै दिनको यात्रा जनाउने । प्रष्टै — यी डाँडाकाँडामा पैदलयात्रा गर्ने प्रक्रियालाई छुट्टै ‘ब्राण्डिङ’ चाहियो ।

अब बेलायती साहेबहरू उपयुक्त शब्द चयनमा जुटे । दक्षिण अफ्रिकाको एक प्रसंगमा ‘ट्रेक’ शब्दसँग उनीहरूको चिनारी थियो । सन् १८३०–४० तिर जब बेलायती सरकार र दक्षिण अफ्रिकाको ‘बोएर्’ भाषी समुदायबीच द्वन्द्व बढ्यो, समुद्र छेउबाट दशौं हजार बोएरहरु बसाइँसराइ गर्दै महाद्वीपको भित्री भागमा पर्ने ट्रान्सभाल प्रान्ततिर लागे । यो कष्टकर यात्रा गोरुगाडाको लस्कर सहित गरे, जुन ‘द ग्रेट ट्रेक’ (अफ्रिकान्स्ः ‘डाइ ग्रुट ट्रेक’) भनेर प्रख्यात भयो ।

‘कष्टकर लामो दूरीको यात्रा’ जनाउने ‘ट्रेक’ लाई साहेबहरूले नेपालको जुर्मुराउँदो पर्यटन क्षेत्रसँग गाँसिदिए । त्यसपछि त यो शब्द संसारभर फैलन समय नै लागेन ।

भाषा विज्ञान (एटिमोलोजी) को अध्ययनले देखाउन शायद मिल्छ कि ‘ट्रेक’ शब्द दक्षिण अफ्रिकी बोएर् समुदायको बाटो गर्दै अंग्रेजी भाषामा नेपाल मार्फत विश्वसामु आयो । शब्दकोशका अनुसार, ‘ट्रेक’ भनेको मूलतः गोरुगाडाको प्रयोगद्वारा लामो दूरीको यात्रा गर्नु हो ।

बोएर् समुदाय हल्याण्डबाट आएको हो, र अफ्रिकान्स् पनि डच् भाषाकै हाँगो हो । डच् शब्द ‘ट्रेकेन’ को उत्पत्ति पुरानो जर्मन (प्रोटो–जर्मन) ‘ट्रेकाना’ बाट आएको बुझिन्छ, जसको अर्थ ‘कुनै कुरा तान्नु’ हो (जसरी गोरुले गाडा तान्दछ) ।

प्रोटो–जर्मनमा यो शब्द ‘प्रोटो–इन्डो–युरोपियन’ भाषा(हरू)बाट आएको बुझिन्छ । ‘प्रोटो–इन्डो–युरोपियन’ भन्नाले आजको ६ हजार वर्षअघितिर मध्य एशिया क्षेत्रमा विकसित संस्कृति हो, जसको दक्षिण पूर्वी फैलिएको भाषिक हाँगो वैदिककाल यता संस्कृत हुनपुग्यो । प्रोटो–इन्डो–युरोपियनमा ‘ड्रेग’ को अर्थ कष्ट गरेर कुनै कुरा तान्नु या घिसार्नु हो, जसबाट आजसम्म आइपुग्दा अंग्रेजी (र नेपाली) भाषामा हामीले ‘ट्रेक’ र ‘ट्रेकिङ’ पायौं ।

मीठै कुरा बुझियो — वैदिककाल पूर्वको प्रोटो–इन्डो–युरोपियन ‘ड्रेग’ शब्द हजारौं वर्ष लगाएर उत्तरी युरोप, दक्षिण अफ्रिका हुँदै आधा शताब्दी अघि मात्र नेपाल छिर्‍यो अनि (वर्तमान अर्थ लाग्ने गरी) संसारभरि फैलियो !

आज ‘ट्रेकिङ’ नेपालमा मात्र होइन, विश्वभरका पहाडमा गरिन्छ । ‘ट्रेकिङ’ पर्यटनले नेपाललाई राम्रै गुन लगायो । राणाकालको अन्त्यसम्मै बाह्य संसारबाट अलग राखिएका जनतालाई संसार चिन्ने मौका दिलायो । शहरिया ‘एलिट’ ले फाइदा लिने 'टुरिजम्' उद्योगमा ‘ट्रेकिङ टुरिजम्’ ले केही हदसम्म आम्दानी गाउँघर पुर्‍यायो ।

पहिला तीन दशकमा अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रमा जरा गाडेको पैदल पर्यटन अन्यत्र फैलन तयार थियो, २०५२ सालताका । एक्कासी माओवादी द्वन्द्वको हुण्डरी आइलाग्यो, पर्यटन सुक्यो अथवा बढ्नुपर्ने र फैलनुपर्ने, त्यो भएन — थप दश वर्षको संक्रमणकालसम्मै ।

आज आएर ‘ट्रेकिङ’को ‘टरेन’ खुम्चिएको भान हुन्छ । गाउँघरको साँस्कृतिक वजन छिटोछिटो घटिरहेको छ । एक त स्थानीय चाडपर्व, पारिवारिक सम्बन्ध र सामुदायिक सोचमा अपत्यारिलो परिवर्तन आएको छ भने अर्कोतिर भूकम्प पश्चात पुरानो ढाँचाका घरहरूलाई जस्तापाता र सिमेन्टले विस्थापित गरेका छन् । अर्थात् जे कुराले पर्यटकलाई पैदल यात्रामा तान्दछ, त्यो हराउँदैछ ।

तर साँस्कृतिक र सामाजिक ह्रास भन्दा पनि भौतिक संरचना विकासले ट्रेकिङ पर्यटनलाई धक्का दिएको छ । एक्कासी मुलुकभरि सडक बनेका छन्, एउटै गाउँमा तीनतिरसम्मबाट डोजरले बाटो खोलेको छ । मध्यपहाडी क्षेत्र नै रहेन जहाँ डोजर–निर्मित बाटो नहोस् ।

अन्नपूर्ण सर्किट जस्तै जताततै मोटर बाटोले ऐतिहासिक पैदल मार्ग पहिल्याएको छ । ‘हाई हिमालयन ट्रेल’ को प्रवर्द्धन त गरिंदैछ, तर अधिकांश स्थानमा क्याम्पिङ गर्नुपर्ने, र उच्च हिमाली क्षेत्रको गोरेटो बेगरको हिंडाइका कारण यसलाई ट्रेकिङ भन्दा बढी ‘एड्भेन्चर हाइकिङ’ भन्नुपर्ने हुन्छ ।

यो स्थितिमा कि त हामीले कुनै बाँकीरहेको पहाडी क्षेत्रमा डोजर मार्ग नबनाउने निधो गर्नुपर्‍यो कि चाहिं ‘ट्रेकिङ’ शब्द र ट्रेकिङ पर्यटनबाट हुने फाइदा नेपालमा अस्ताउने क्रममा छ भनेर बुझ्नुपर्‍यो । 

प्रतिकृया दिनुहोस