कला/साहित्यआइतबार, १९ जेठ , २०७६

‘पोषिला’ पुस्तक

डा.अरुणा उप्रेती

‘चन्द्रनिघण्टु’ र ‘नेचुरल होम रिमेडिज’ यस्ता दुई पुस्तक हुन्, जसले हाम्रै वरपरका वनस्पतिको औषधीय उपयोगबारे बताउँछन् र दैनिक आहारविहारमा सजग तुल्याउँछन्।  

डा. अरुणा उप्रेती

हाम्रो स्वास्थ्य सपार्न वा बिगार्न खानाको अहम् भूमिका हुन्छ । चिकित्साका पिता मानिने हिप्पोक्रेटिसको भनाइ नै छ, “भोजनलाई औषधि हुन देऊ अनि त्यही औषधिलाई आफ्नो भोजन बनाऊ ।”

सानो छँदा पेट दुखेको बेला आमा–हजुरआमाले जाउलो पकाएर खान दिने गरेको यादै होला । मेथी र लसुनले झनेको जाउलो खाएपछि पेटलाई आराम मिल्थ्यो । गर्मीयाममा कागती–पानी पिउनुु हाम्रो जीवन–संस्कृति नै हो । अक्षय तृतीयामा सातु र सर्बत खाइन्छ ।

समाजमा प्रचलित यस्ता चलन यत्तिकै अस्तित्वमा आएका होइनन् । यिनको पछाडि विज्ञान छ।

विज्ञानको विकास र प्रभाव आज जस्तो नरहेको समयमा हाम्रा पुर्खालाई विभिन्न वनस्पतिमा पाइने औषधीय गुणबारे वैज्ञानिक ज्ञान हुने कुरै भएन । उनीहरूले वनस्पतिलाई विभिन्न तरिकाले प्रयोग गर्दा स्वास्थ्यमा अचुक काम गर्छ भनेर कति अग्रजबाट र कति आफ्नै अनुभवबाट सिकें । आधुनिक औषधि नपुुगेका कुुनाकन्दरामा यस्तै परम्परागत ज्ञानको योगदानले धेरै शिशुु, सुुत्केरी र बिरामीहरूले नयाँ जीवन पाए ।

स्वस्थ जीवनशैली र स्थानीयस्तरमा पाइने वनस्पतिको औषधीय महत्वबारे मैले समुदाय र विद्यार्थी भाइबहिनीलाई सल्लाह दिंदै आएकी छु । पछिल्लो समय दुई उपयोगी पुस्तक पढ्न पाएपछि त्यो क्रम अझ् बढेको छ । 

हाम्रो वरपर पाइने औषधीय गुण भएका वनस्पति र जडीबुटीको परिचय र उपयोगिता राम्ररी खुलाइएका यी पुस्तकले मानव स्वास्थ्यमा वनस्पतिको योगदानबारे बुझन अझ् बढी सघाए । तीमध्ये एउटा हो, राणा शासनकालमै प्रकाशित र केही वर्षअघि सिंहदरबार वैद्यखाना विकास समितिले पुनः छापेको चन्द्रनिघण्टु । र अर्को हो, नेशनल जियोग्राफिकले प्रकाशन गरेको नेचुरल होम रिमेडिज ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा भारतबाट समेत आयुर्वेद शास्त्रका जानिफकारलाई झ्किाएर हस्तलिखित ग्रन्थ चन्द्रनिघण्टु तयार पारिएको रहेछ । चन्द्रशमशेरका पालामा लेखिएको हुनाले शीर्षकमा उनकै नाम जोडेर राखिएको यस पुस्तकमा जडीबुटीबारे बृहत् जानकारी समेटिएको छ ।

देशमा उपलब्ध ८०० भन्दा बढी जडीबुटी तथा अन्य खनिज र द्रव्यको परिचय र उपयोगिताबारे जानकारी समेटिएको यो सचित्र पुस्तक असाध्यै उपयोगी छ ।

यस्तै, नेचुरल होम रिमेडिज मा विभिन्न देशमा पाइने वनस्पतिहरूको औषधीय महत्वबारे लेखिएको छ । यी पुस्तक पढेपछि लाग्यो, हाम्रा पुर्खालाई वनस्पति विज्ञानको ज्ञान नभए पनि स्वास्थ्य उपचारमा तिनको उपयोगको धेरै जानकारी रहेछ ।

बारम्बारको प्रयोग र अनुभवपछि कुन वनस्पतिमा कुन रोगको उपचारमा प्रयोग गर्न सकिने औषधीय गुण छ भन्ने पत्ता लगाइएको छ । जुन ज्ञान आजको पुस्ताको लागि वरदान बनेको छ ।

गाउँघरमा ‘नीमको पातले नुहायो भने छालाको घाउ निको हुन्छ’ भनेको सुन्दा मलाई ‘के वाहियात् कुुरा गरेको होला’ जस्तो लाग्थ्यो । डाक्टर भएर आएपछि पनि घरेलु औषधि सम्बन्धी पुरातन मान्यता फजुल हुन् भन्ने सोच थियो । तर, जब विश्व स्वास्थ्य संगठनले नै परम्परागत ज्ञानबारे लेख्न र बोल्न थाल्यो, त्यसपछि भने यस्ता वनस्पति र तिनले शारीरिक/मानसिक स्वास्थ्यमा पार्ने फाइदाबारे जान्ने चासो बढ्यो ।

यसबारे विस्तारै विद्वानहरूसँग छलफल पनि हुुन थाल्यो । अनि मात्र मैले हाम्रो परम्परागत ज्ञानको वैज्ञानिक तथ्य र महत्व थाहा पाएँ । आधुनिक औषधिहरू बनाउँदा समेत वनस्पतिको प्रयोग गरिंदो रहेछ भन्ने बुुझें ।

परम्परागत ज्ञानलाई महत्व दिनु र प्रयोग गर्नुको अर्थ आधुनिक चिकित्सा विज्ञानलाई नकार्नु होइन रहेछ । अहिले म परम्परागत ज्ञान अनुसार औषधीय गुणयुक्त वनस्पतिको उपयोगलाई बढावा दिंदै आधुुनिक चिकित्सा विज्ञानको विवेकशील प्रयोग हुुनुुपर्छ भन्ने विचारसँग नजिक छु ।

यी दुई पुस्तक पढ्दा थाहा भयो, खाँदा प्रशस्तै लाभ हुने कतिपय फूल र पातलाई हामी केवल सौन्दर्यको दृष्टिले सजाउन मात्र प्रयोग गर्दा रहेछौं । तिनीहरू त औषधिका पोका पो रहेछन् । औषधीय गुणले भरिपूर्ण यस्तै फूल हुन्, गुलाफ र क्यामोमाइल । गुलाफको फूल छालाको समस्या, जलन आदिमा लाभदायक हुने रहेछ ।

यस्तै, पोषकतत्वयुक्त क्यामोमाइल फूलबाट बनाइएको चिया खाँदा पाचन समस्या, मानसिक तनाव आदिमा फाइदा हुने र छालाको एलर्जी पनि निको पार्ने पुस्तकमा उल्लेख छ । क्यामोमाइलको तेलले मुखको घाउ र गिजाको संक्रमणमा फाइदा गर्दोरहेछ ।

नेचुरल होम रिमेडिज मा कुन वनस्पति कुन स्वास्थ्य समस्यामा कसरी प्रयोग गर्ने भन्नेबारे व्यावहारिक जानकारी दिइएको छ । जस्तोः ‘घाँटी दुखेको बेला हर्बल चिया वा लसुनको सुप खाएर आराम गर्दा धेरै फाइदा मिल्छ ।’ पुस्तकमा कतिपय दीर्घ रोगहरूमा पनि आधुनिक औषधिसँगै जडीबुटीको प्रयोग गर्न सकिने विवरण राखिएको छ ।

तर, त्यस क्रममा डाक्टरको सल्लाह भने आवश्यक हुन्छ । कुनै वनस्पति उपयोग गर्दा निम्तिन सक्ने समस्यातर्फ पनि सचेत पारिएको छ । यसमा विभिन्न किसिमका दाल, प्रोटिनको खानी राज्मा लगायतका सिमीबारे पनि चर्चा गरिएको छ । सिमीको सलाद र सुप बनाउने विधि पनि सिकाइएको छ ।

सामाजिक जीवनमा खासै महत्व नदिइएका र अपव्याख्या गरिएका कतिपय वनस्पतिको विज्ञान सिद्ध औषधीय महत्वबारे पढ्दा रोचक लाग्छ । सुगन्धरहित फूल पलाँसलाई प्रायः हामी बेकामे ठान्छौं । तर चन्द्रनिघण्टुका अनुसार रातो र पहेंलो पलाँस पेटको जुका मार्न असरदार हुन्छ ।

त्यस्तै, पूर्वीय संस्कृतिमा भगवान शिवको प्रिय नशा धतुरो एकखाले विष भएको भन्दै हामीलाई सानैदेखि सिकाइएको छ । तर, पेट र दाँतको दुखाइ ठीक पार्न, कपालका जुम्रा÷लिखा मार्न लगायतमा धतुरोको पात, फलको दाना काम लाग्दोरहेछ ।

उपयोगी वनस्पतिमध्ये घरको भान्सामा प्रायः नछुट्ने तरकारीहरूको गुणकारी पाटोबारे पनि दुवै पुस्तकमा चर्चा गरिएको छ । त्यसमध्ये अदुवाले वाक्वाकी लागेको बेला फाइदा गर्छ । गर्भवतीलाई त अदुवाको टुक्रो मुखमा राखिराख्न सल्लाह नै दिइन्छ ।

यस्तै, भुटेर वा काँचै पनि खान सकिने आलस भान्सामै पाइने अर्को औषधि हो । यसमा माछामा जस्तै ‘ओमेगा–थ्री फ्याटी एसिड’ पाइन्छ, जुन मुटु र मधुमेह रोगीका लागि फाइदाजनक मानिन्छ । पर्याप्त रेसादार हुने भएकाले यसले कब्जियतको समस्या पनि निराकरण गर्छ ।

दुवै पुस्तकमा लसुन, बेसार आदिको महत्व बुझउँदै यी वस्तु आयुुर्वेद र चिनियाँ चिकित्सा विज्ञानमा कसरी प्रयोग भइरहेछ भन्नेबारे पनि जानकारी दिइएको छ । नेचुरल होम रिमेडिज मा आयुर्वेदिक औषधि, मालिस गर्ने तरिका, योगको महत्व र स्वस्थ रहन सुधार्नुपर्ने जीवनशैलीबारे पनि चर्चा गरिएको छ ।  

चन्द्रनिघण्टु मा भने एउटा कुरा खट्किन्छ । यसमा वनस्पतिको मुख्य उपयोगबारे संस्कृतमा लेखिएको छ । नेपाली अनुवाद पनि राखिएको भए पुस्तकको ज्ञानको दायरा अझै फराकिलो हुन्थ्यो ।

प्राकृतिक चिकित्सा, भोजन र पोषणबारे काम गर्नेहरूका लागि त यी महत्वपूर्ण स्रोत हुँदै हुन्, स्वास्थ्यप्रति जागरुक सर्वसाधारणको लागि आरोग्य प्राप्त यी पुस्तक पोषिला खुराक हुन् भन्दा फरक नपर्ला ।  

प्रतिकृया दिनुहोस