ब्लगआइतबार, १९ जेठ , २०७६

तीनपुस्ते राजाका झझल्काे

१९ जेठको राजदरबार हत्याकाण्ड (हिमाल–आर्काइभ)

हिमालखबर

नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै अङ्ग्रेजीमा जवाफ आयो, “अहिले अपहरण गर न त ।” मैले पनि भनेँ, “पाए गर्थें नि, यस्तो सुन्दर युवकलाई !” 

- डा. दुर्गा पोखरेल

श्री ५ दीपेन्द्र लेखिकासँग वाशिङ्गटनमा, सन् १९९६ ।

मान्छेको महत्व सास फेरुन्जेलसम्म मात्र रहेछ । सास फेर्न छोडेपछि ढुङ्गा, माटोभन्दा पनि महत्वहीन । जतिसक्दो चाँडो डढाइ हाल्नुपर्ने । खरानी पार्नुपर्ने । कस्तो हाम्रो विधि ! मेरो पिताजीले मेरै अगाडि सास छोड्नुभएको थियो । उहाँको शरीर खरानीहुञ्जेलसम्म हेरेर बसिरहेँ आर्यघाटको डिलमा । मेरा बालाई सबभन्दा मन नपर्ने शब्द ‘लाश’ थियो ।

यसपालि टेलिभिजनमा राजारानीका लाश देखेर मलाई कता कता मुटु निमोठिए जस्तो भयो । एकै दिनमा कस्तो मुखमा झीँगा भन्केका ? प्रधानमन्त्रीलाई पनि त्यस्तै लागेछ क्यारे ! उहाँले इशारा गर्नुभयो र एउटा फूलको गुच्छाले बाहुनले साना राजाको मुखबाट झीँ धपाए । मलाई खट्किरह्यो त्यो दृश्य । अस्पतालको चौरमा केही ओछ्याएको भए पनि त हुने नि !

मायाको भाका पनि अलग अलग हुँदो रहेछ । बाचुञ्जेल यो शायद मूक हुन्छ । मरेपछि सुन्दैनन् भनेर होला टीका टिप्पणी गर्न सजिलो हुँदो रहेछ, खास गरी हाम्रो समाजमा । पश्चिमी समाजमा चाहिँ मायाका कुरा मान्छेहरू सजिलै जिउँदैमा गर्छन् । यसैलाई हामीले भौतिकवादी माया भनेर सार्वजनिक रूपमा अभिव्यक्त गर्न नसकेको होला ।

यतिबेला हामी सबै नेपाली, यहाँसम्म कि गणतन्त्रवादीहरू समेत, राजारानीको मायामा विह्वल भएका छौँ । ती मर्नेहरूले आफूलाई सारा नेपालीले यति साह्रो माया गर्छन् भन्ने थाहा पाएको भए आफ्नो सास पनि अँठ्याएर राख्थे कि ? कस्तो आनन्द लागेको होला ती आत्माहरुलाई यति विघ्न माया पाएर ? जीवित हुँदा जनताले शायद राजारानीलाई आफ्नो माया प्रकट गर्ने मौका पाएनन् अथवा हाम्रो सामाजिक संरचनाले दिएन ।

पश्चिमी संस्कृतिमा हात मिलाउने, अँगालो हाल्ने र गालामा म्वाइँ खाने चलन हुनाले सबैले नजिक भएको र माया आदानप्रदान गरेको ठान्छन् । हाम्रोमा यस्तो एकदम नजिकको सम्बन्धमा पनि सार्वजनिक रूपमा गर्न मिल्दैन क्यारे ! युवापीढीसँग हात मिलाउनाले साना राजा सबैको हाईहाई बन्न थालेका थिए ।

पाँच वर्ष अगाडि वासिङ्गटनमा मेरो पनि भेट भएको थियो, युवराज दीपेन्द्रसँग । आफ्नो छोरोजत्रो मान्छे, मैले त अँगालो नै हालेछु । मलाई उनको हृदयदेखि श्रद्धापूर्ण माया पनि लाग्दथ्यो । त्यो माया म एउटी नेपाली भएर मात्रै पलाएको थिएन । बीस वर्ष अगाडि तत्कालीन सरकारले तिनै युवराजको अपहरण गर्न लागेको भनेर मलाई यातनापूर्ण जेल सजाय दिएको थियो । विचरा त्यो आठ–नौ वर्षे नाबालकलाई किन अपहरण गर्थेँ होला र मैले ? 

नेपालमा प्रजातन्त्र आएपछि मात्रै मैले एकैचोटि अमेरिकामा आफ्नो मुख र कलम खोलेर किताब लेखेँ । त्यो किताब छापिएको दिन मलाई आफ्नो टाउकोमा गढेको काँडो झिक्दाको जस्तै हलुका अनुभव भएको थियो । युवराजलाई त्यो किताब दिएको दिन त पिप र खिल पनि निस्केर सञ्चो भयोे ।

नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै अङ्ग्रेजीमा जवाफ आयो, “अहिले अपहरण गर न त ।” मैले पनि भनेँ, “पाए गर्थेँ नि, यस्तो सुन्दर युवकलाई ।”

म सानैदेखि नेपाली काङ्ग्रेसमा लागेकी हुँ । तर न वीपी न जीपी कसैले पनि कहिल्यै राजा वा युवराजको गाथ गद्दी ताक्न लगाएका थिएनन् । नेपाली काङ्ग्रेसको सङ्घर्ष प्रजातन्त्र पुनर्स्थापनाको लागि भएकोले म त्यसमा लागेकी थिएँ । तर पञ्चायत व्यवस्थाले मलाई राजा विरोधी बनाएर पटक पटक जेल हाल्यो । म कहाँ गएर कोसँग कराउँ कि मैले राजतन्त्रको विरोध कहिल्यै गरिँन भनेर !

मान्छेको बाँच्ने एउटा आधार जीवनमा घटेका घटनाको अर्थपूर्ण निक्र्यौल निकाल्नु पनि हो । मेरो मनमा सधैँ खट्किने कुरा के छ भने हामी जनताले राजारानी जीवित हुँदै आफ्ना भावना, शङ्का र समाधान प्रकट गर्न पाएनौँ । पञ्चायत कालमा अर्को पक्षको राजनीतिको कुरै गर्नु हुँदैनथ्यो, राजद्रोहीको रुपमा जेलयातना, मृत्युदण्ड पाइन्थ्यो । यसो हुनुमा राजारानीको दोष थियो थिएन मलाई थाहा छैन ।

तर यसो गर्ने भरौटेहरू जो पनि हुन्थे । ढाँटछलबाट राजावादी बनेका कृत्रिम भक्तहरूको कामै खोजी खोजी राजभक्त जनतालाई राजद्रोही प्रमाणित गर्नु हुन्थ्यो । पञ्चायत र राजाबीच नङमासुको सम्बन्ध गराएर पञ्चायतका आलोचक वा सुधारवादीहरूलाई खतराको घण्टी बजाइन्थ्यो ।

तीमध्ये कति राजसंस्थाको अत्यन्तै माया गर्ने र त्यसप्रति संवेदनशील व्यक्ति थिए, कतिले राम्रो सरसल्लाह दिन्थे होलान्, तर धुपौरेहरू तिनलाई नजिक हुनै दिँदैनथे । आखिरमा जनआन्दोलनले राजाको शक्ति लियो । यद्यपि मेरो व्यक्तिगत विचारमा राजाको भूमिका गत दश वर्षमा जे थियो त्यो भन्दा अलिक बढी क्रियाशील नै हुनु पर्दथ्यो । 

हार्वर्ड विश्वविद्यालयमा सहपाठीहरूसँग श्री ५ वीरेन्द्र, सन् १९६८ ।

यो संवेदनशील घडी र झण्डै विचलित मन भएको बेला मैले आफ्ना भावनाहरू जुन रुपमा आए त्यही रुपमा व्यक्त गर्दैछु । मैले श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र र श्री ५ दीपेन्द्र तीनै पुस्ताका राजालाई भेट्ने सौभाग्य पाएँ ।

श्री ५ महेन्द्रलाई २०२० सालमा हाईस्कूलमै छँदा धनकुटामा विद्यार्थी नेताको हैसियतले भेटेकी थिएँ । त्यो बेला भएको कवि गोष्ठीमा मैले ‘दोस्रोपल्ट रामलाई जन्मन आह्वान’ भन्ने कवितामा राजाबाट इनाम पनि पाएकी थिएँ ।

राजालाई भेट्ने रहर र उत्साह शाही क्याम्पको आधा बाटो काटेपछि मानसिक तनावमा परिणत भएको मलाई अझै सम्झना छ । बाटाभरि राजाका धुपौरेहरूले ‘ए ! यसरी हिँड् उसरी हिँँड्, हात तल झर्, शिर निहुरा’ भन्दा भन्दा म राजारानी भएको पालमा पुग्दा वित्थामा आएछु भन्ने निश्कर्षमा पुगिसकेकी थिएँ ।

तर राजारानी पनि मेरै आमा बा जस्तै मकलमा आगो तापेर बसिरहेका देखेर त्यो बाटाभरिको पीडा बिर्सिन खोजेकी थिएँ । त्यही बेला राजारानीले नदेख्ने गरी उभिएको एउटा व्यक्तिले मलाई ‘हात जोड्’, ‘टाउको निहुरा’ भन्ने सङ्केत गरेकोले मैले राजासँग कुरा गर्न नसकेको बुझी राजा स्वयंले “केही छैन, भन भन” भनेपछि म ढुक्कले बोल्न सकेकी थिएँ ।

तत्कालीन बडामहारानी रत्नले मलाई “घर कहाँ हो ?” भनेपछि मैले हातले देखाएर “त्यहीँ तल छ” भन्दा फर्कने बेलामा को को हुन् मान्छेले मलाई धुरुधुरु रुनु जस्तै पारे, मानौँ मैले ठूलो अपराध गरेकी थिएँ हातले देखाएर, हात नजोडी र शिर ननिहुर्‍याई उभिएर । पछि मैले तिनलाई जवाफ दिएकी थिएँ, “तिमीहरूका राजारानीलाई बाकसमा थुनेर राख अबदेखि ।” म त त्यतिबेला १३/१४ वर्षकी केटी, तैपनि भनेछु ।

अन्य जनतालाई पनि यस्तै वा यो भन्दा निम्न व्यवहार गर्दागर्दै पछि गएर यति साँघुरो घेरामा राजालाई पारियो कि; आखिर एघार वर्षअघि २०४६ सालमा जनताले त्यो घेरा तोडे । राजालाई पहिलो पल्ट भेट्नु र नेपाली काङग्रेसमा भूमिगत रुपले लाग्नु मेरो जीवनका हाराहारीका घटना हुन् । घरमा म छ जना पछिकी सन्तान, पाँचौँ छोरी हुनाले खास महत्व थिएन जस्तो लाग्थ्यो । राजालाई भेटेको घटनाले मलाई दुःखी बनाएको थियो ।

तर काङ्ग्रेसमा लागेपछि मलाई आफू शक्तिशाली भएको अनुभव भयो । भूमिगत पार्टीमा काम गर्नु भनेको आफूलाई एकप्रकारले सबलीकरण गर्नु हुने रहेछ । राजा महेन्द्रलाई त्यसपछि नजिकबाट दुईपल्ट देखेँ । एकपल्ट राजकीय प्रज्ञा–प्रतिष्ठानमा र अर्कोपल्ट स्वर्गारोहणपछि त्रिभुवन विमानस्थलमा । राजा वीरेन्द्रलाई चाहिँ व्यक्तिगत रुपमा जेलबाट छुटेपछि धनकुटामा एकपल्ट र सन् १९८३ डिसेम्बरमा म हार्वर्ड विश्वविद्यालयको विद्यार्थी हुँदा अर्कोपल्ट भेट्ने मौका पाएकी थिएँ ।

श्री ५ बडामहारानी ऐश्वर्यलाई चाहिँ मैले २०३२ सालमा त्रिविविको प्राध्यापन पेशाबाट राजनैतिक अभियोग लगाई निकालिएको तीन वर्षपछि पटक पटक भेटेको हो । तर बडामहारानीसँग मेरो राजनीतिक सम्झैता हुन नसकेपछि ऐतिहासिक र साँस्कृतिक संरक्षण गर्छु भन्दा “गर” भन्ने हुकुम भएकोले आफ्नै खर्चमा चारुमति बिहारको खोज शुरु गरेकी थिएँ । पछि सम्बन्धित सबै व्यक्ति र संस्थाले असहयोग र विरोध गरेकाले मैले हार खाएर त्यो काम त्यागेँ ।

राजा रानीप्रति सद्भाव भएरै मैले नेपालमा छँदा शुभजन्मोत्सव स्मारिकाहरू पनि प्रकाशित गरेकी थिएँ । तर आखिरमा मलाई युवराजको गाथगद्दी ताक्ने सम्मको आरोप लगाएर थुनेपछि जेलबाट छुट्ने वित्तिकै म विदेश भास्सिएँ । मलाई यस्ता षडयन्त्र रच्ने व्यक्तिका हातबाट मर्नुभन्दा विदेशिनु राम्रो लाग्यो ।

त्यतिबेला राजालाई झाेलीका देउता मात्र बनाएर उनको नामबाट आतङ्क मच्चाई जनतालाई दुःख दिने व्यक्तिहरूबाट मर्नु वा बाँचेमा भाग्नु बाहेक अर्को उपाय मैले देखिन । मैले सत्र वर्ष अमेरिका बस्दा आठ वर्ष त राजा वीरेन्द्र पढेकै विश्वविद्यालयमा बिताएछु ।

हामीले शाही परिवारप्रति शोकको यो घडीमा प्रत्यक्ष देख्यौँ जनताको राजाप्रति कस्तो संवेदना रहेछ । आखिर मनशान्तिका स्रोत र आधार भनेका हाम्रा आध्यात्मिक, धार्मिक र साँस्कृतिक परम्पराहरू नै रहेछन् ।

राजाले यस्तो आध्यात्मिक, साँस्कृतिक र धार्मिक नेतृत्व लिई जनतालाई एकताको सूत्रमा बाँधेर उनीहरूको सम्मानलाई आत्मसात् गर्नु पर्थ्याे । आफ्नो मन र सबैको मन पवित्र र संवेदनशील नभएसम्म देशमा कुनै विकास हुँदैन । अर्कालाई होच्याउने, अर्काको खुट्टा तान्ने, आफू मात्रै बाँचौँ र मोज गरौँ भन्ने मन लिएर सबैको लागि राम्रो गर्छु, देशको विकास गर्छु भन्नेहरू सफल हुनै सक्तैनन् ।

आजका हाम्रा राजनेता र पार्टीहरु यस्तै कलुषित मनका भए र राजा क्रियाशील हुनुपर्ने क्षेत्रमा क्रियाशील भएनन्, जसले गर्दा हामी अत्यन्तै विचलित स्थितिमा छौँ ।

बितेका कुराबाट अब सबै नेपालीले शिक्षा लिएर आशौचको समय सकिएपछि नेपालको पुनर्निर्माण शुरु गर्नु पर्नेछ । नेताहरू स्वच्छ मन, वचन र कर्मले अघि सर्नुपर्‍यो र सबै नेपाली यसमा लाग्नु पर्छ । सबैले राजनीतिभन्दा अलि माथि उठेर पूर्वाग्रहलाई त्यागेर एकजुट हुनुपर्ने आवश्यकता छ अहिले ।

नयाँ राजाले यसमा अत्यन्तै संवेदनशील भएर जनतालाई लाखापाखा नगरी नयाँ नेपालको निर्माण गर्न गराउन दुन्दुभी बजाउनु पर्छ । हामी सबै एक भए भोलिको नेपाल बनाउन सम्भव छ । हाम्रा मतभेद आफ्ना ठाउँमा रहुन् ।

त्यस्ता मतभेदको राजनैतिक निकास खोज्नु पर्छ नकि एउटा दलले अर्कोको खुट्टा तानेर राष्ट्र निर्माण नै अवरुद्ध गर्ने वा राज्य संचालन नै रोक्ने । राजनेता भनिएकाहरू केटाकेटी हुन थाले भने आजका राजाले यी केटाकेटीलाई सक्रियताको बाटोतिर डोर्‍याउनु पर्छ ।

पढ्नुहाेस् 
दीपेन्द्रकाे अन्तिम दिन

 

प्रतिकृया दिनुहोस