टिप्पणीशनिबार, १८ जेठ , २०७६

तामाङ समुदायमा विवाहका दुःख

हिमालखबर

मौलिक र जैविक विवाह संस्कार भएका रसुवाका तामाङ समुदायमा यतिबेला विवाह नै गरीबीको कारक बन्न थालेको छ।

फूर्पा तामाङ

रसुवा सानो भार्खु गाउँका छिरिङ पासाङ तामाङ (७९) को भनाइमा उहिले टोलच्याङ भनेर चार दाम (चार पैसा) केटीका बाबुआमापट्टिलाई चढाउनुपथ्र्यो ।

कि तीन कि पाँच वटा चाँदी वा पित्तलको बेरुवा लगाएको काठबाट बनेको भाँडा (दम्पी) भरी अन्नबालीबाट पकाएको रक्सीको श्यालकर राख्नुपथ्र्यो । बेहुलीलाई गच्छे अनुसार सुन, चाँदी, नम्सी, मुगा (बिरु) को गहना बोल/बोजाउ भनेर बैना दिइन्थ्यो ।

‘घरको मुख्य व्यक्तिलाई खादा ओढाई मकै, कोदो, करु, गहुँ, जौ जस्ता अन्नबालीबाट बनाएको जाँड, रक्सी, छ्याङ खुवाइन्थ्यो । एउटा बरुवाल खसी वा बोका काटे जन्तीलाई भतेर ख्वाउन पुग्ने । चामल भने त्रिशूलीबाट बोकाएर लैजानुपथ्र्यो ।

यति सर्दाम जुटाएर विवाह भोज ख्वाएपछि मानिसहरू खुशी हुन्थे । गीत गाएर बेस्सरी नाच्थे’, तामाङ सम्झ्न्छन् ।

तर, अहिले यही गाउँमा विवाह संस्कार पहिलेभन्दा महँगो मात्र होइन बिल्कुलै बदलिएको छ । घरमा बनाएको रक्सी होइन, बियर, भोद्का, ह्विस्की र रम दिनुपर्छ । दुई वटा राँगा र चार वटा खसी काट्नुपर्छ । पाँच लाखसम्म टोलच्याङ चाहिन्छ ।

आउने जति सबै पाहुनालाई खादा किन्दै एक लाख जति लाग्छ । जन्तीलाई गाडी पठाएर ल्याउने र पुर्‍याउनुपर्ने ।

त्यसैले पनि तामाङलाई अहिलेको विवाह, विवाह नभई औपचारिकता जस्तो मात्र लाग्छ । उनी स्मरण गर्छन्— उहिले त जन्तीले आँगन, भर्‍याङ हुँदै ढोका उघार्ने गीत गाउनुपथ्र्यो । नत्र ढोका नै उघ्रिंदैनथ्यो ।

बेहुली बोकेर लैजाने बेलामा बेहुलीपट्टिकाहरू बाटो छेक्ने गीत गाउँदै परसम्म आउँथे । जन्तीले गीतबाटै जवाफ फर्काएर बाटो खोल्नुपथ्र्यो, त्यसो गर्न नसके दस्तुर तिर्नुपथ्यो । नत्र विवाह नै बदर हुन्थ्यो ।

“अहिले जस्तो चीलले चल्ला टिपे झैं बेहुली टपक्क टिप्न पाइँदैनथ्यो”, उनी भन्छन् ।

साँच्चै नै रसुवाका तामाङ जातिका अभिभावकलाई विवाह खर्च धान्न गाह्रो लाग्न थालेको छ । धेरै पाहुना, सत्कार, टोलच्याङ, केटी पक्षका बाबुआमा र आफन्तलाई बाँड्ने रकम (सुम्देन), सुम्देनभन्दा बढी दिइनुपर्ने दाइजो जस्ता थुप्रै विकृतिले घर गर्न थालेका छन् ।

विवाह खर्चको विकृतिले अधिकांश विवाहमा ऋण काढ्नुपर्ने बाध्यता छ । विवाहमा काढेको ऋण तिर्न नसक्दा ठूलो भार्खुका नोक्र्याल तामाङले आलुबारी चप्काएको कुरा गाउँमा कसैले भुलेका छैनन् । गाउँमा यस्ता उदाहरण प्रशस्त भेटिन्छन् ।

अहिले त स्थानीय सरकार छ, आफ्ना परम्परागत संस्कार र नियम, कानून आफैं बनाउने अधिकार पनि छ । त्यसैले स्थानीय तहले यो कुरामा ध्यान दिनुपर्छ । स्थानीय अगुवाले सोच्नुपर्छ ।

जनविश्वास
विवाह नगरी जन्मिएको शिशुलाई तामाङ भाषामा ‘प्रो कोला’ भनिन्छ । बाबुको ठेगाना पत्ता नलागे सल्लाको रूखसँग भए पनि विवाह गरिदिने चलन रसुवाको हाकु गाउँमा छ । यसलाई तामाङ भाषामा ‘थङ्शिङ दोङ्पो तिङ् बामा लप’ अर्थात् खोटो सल्लासँग विवाह गर्ने भनिन्छ ।

भगवानकी छोरी ‘गङ्सल डोल्मो’ लाई मानिसका छोराले विवाह गरेको कुरा झाँक्री (बोन्पो) धर्ममा पाइन्छ । तर, मानिसको लोभ, झूटो बोल्ने बानी र रिसाहा स्वभावले भगवानले कुटुम्ब चलाउन बन्द गरेको बताइन्छ ।

रसुवाकै गोगने गाउँमा बाबुको ठेगाना पत्ता नलागे लामा बोलाएर ‘सङ ताङ्पा’ गरेर शुद्ध पार्ने काम गरिन्छ । र, बगरबाट लोहोरो ढुंगा (तिम्बु) ल्याएर रातो हुने गरी पोलिन्छ । त्योे ढुंगा गाउँदेखि टाढा फालिने र ढुंगा खसेको ठाउँमा पहिरो जाने गाउँले बमबहादुर तामाङ बताउँछन् ।

ठूलो भार्खुमा भने बाबुको ठेगाना पत्ता नलागे लामाले सङ ताङ्पा गरेर गर्भवतीलाई डोकोमा खानेकुरा, पकाउने भाँडाकुँडा, लुगाफाटा हालेर गाउँ घुमाई ओडारमा पुर्‍याउने चलन छ ।

रसुवाका तामाङमा भगवान र मानिसबीचमा पनि विवाह हुन्थ्यो भन्ने जनविश्वास छ । भगवानकी छोरी ‘गङ्सल डोल्मो’ लाई मानिसका छोराले विवाह गरेको कुरा झाँक्री (बोन्पो) धर्ममा पाइन्छ ।

तर, पछिपछि मानिसको लोभ, झूटो बोल्ने बानी र रिसाहा स्वभावले भगवानले कुटुम्ब चलाउन बन्द गरेको बताइन्छ । जुन दिनदेखि भगवान—मानिस कुटुम्ब नाता विच्छेद भयो, त्यसै बेलादेखि भगवानले मानिसलाई देख्न सक्ने तर मानिसले भगवानलाई देख्न नसक्ने भयो भन्ने भनाइ छ।

त्यसैले अहिले पनि बोन्पोले पूजा थान बनाउँदा तितेपाती (च्येन्डी), पैंयू (बीरु), पानी सल्ला (क्वी दोङ्पो), गोब्रे सल्ला (कल्ता दोङ्पो) को हाँगाले छेकेर (ब्रन्के) बनाउनुपर्छ ।

तामाङ समाजमा मृत्युपछि मानिसको पहिलो भेट दिवंगत श्रीमान् वा श्रीमती, बाबुआमा र त्यसपछि मीत–मीतिनीसँग हुन्छ भन्ने मान्यता छ ।

प्रतिकृया दिनुहोस