गल्ति फेरि दोहोर्याईदैनः ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्झौताका नाममा विगतका गल्ति नदोहोर्याउने बताएका छन् । राज्यपुनर्संरचना लगायतका विगतमा कतिपय 'अनजेन्यूइन' विषयमा पनि सम्झौता भएको तर यस्तो गल्ति फेरि गर्न नहुनेमा उनको जोड थियो ।
सम्पादकहरुसँग १९ मंसिरमा राजधानीमा भएको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले तराईका जिल्ला मात्रै राखेर प्रदेश बनाउने उद्धेश्यले संशोधन प्रस्ताव ल्याईएको बताए । तर पहाड विनाको प्रदेश बनाउने गल्ति अब नगरिने उनको भनाई छ । प्रदेश नम्बर दुई पहाडी जिल्ला विनाको बनाइएको र अहिले त्यसैलाई नजिर मानेर अन्य प्रदेश पनि त्यस्तै बनाउन दवाव आएको उनको विश्लेषण छ ।
सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयक प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बताए । संविधानतः रुपन्तारित संसदलाई प्रदेशहरुको सिमांकन चलाउने अधिकार समेत नभएको उनले सम्पादकहरुलाई बताए । सम्बन्धित प्रदेशका जनताको चाहना विपरीत सरकारले सिमांकन हेरफेर गर्न लागेको उनको भनाई थियो ।
अध्यक्ष ओलीले प्रस्तावित विधेयक फिर्ता लिएर निर्वाचनमा जानुपर्ने बताए । संशोधन प्रस्ताव दर्ता गरेर प्रधानमन्त्रीले राष्ट्रहित विपरीत काम गरेको उनको आरोप थियो ।