रहेनन् पर्यटन उद्योगका पिता
प्रतिष्ठित उद्यमी प्रभाकर शमशेर जबराको ८४ वर्षको उमेरमा निधन भएको छ ।
ढाडको शल्यक्रिया गरेर अमेरिकामा रहेका जबराको १७ जेठ बिहान ३ बजे अमेरिकाको न्यूयोर्कमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
सोल्टी ग्रुपको चेयरम्यान इमिरेट्स रहेका जबराले सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल लगायत व्यापारिक प्रतिष्ठान सञ्चालन गरेका छन् । उनको चिया र जलविद्युतमा पनि लगानी छ ।
सम्पन्न राणा घरानाबाट व्यावसायिक क्षेत्रमा आएका प्रभाकर शमशेर पाटा नेपाल च्याप्टरका संस्थापक अध्यक्ष थिए । उनी होटल एशोसिएसन अफ नेपाल, नेपाल हेरिटेज फाउण्डेसन, नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र अमेरिकन हिमालयन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष पनि हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघमा पनि आबद्ध जबरालाई पर्यटन उद्योगका संस्थापकमध्येका एक मानिन्छ । उनी राणा परिवारबाट व्यावसायिक क्षेत्रमा आउने पहिलो पुस्ताका उद्यमी हुन् ।
जबराको अमेरिकामै अन्त्येष्टि गरिने बताइएको छ । उनका एक छोरा सिद्धार्थ शमशेर एक छोरी माया राणा छन् । छोरा सिद्धार्थ पारिवारिक व्यावसायिक विरासत हाँकिरहेका छन् भने छोरी माया अमेरिकामा बस्दै आएकी छिन् ।
प्रभाकर शमशेर पहिलो प्रहरी महानिरीक्षक नरशमशेर जबराका छोरा हुन् । उनको जन्म २६ नोभेम्बर १९३५ मा सिंहदरबारमा भएको थियो । प्रभाकर शमशेरका दुई दिदीहरू प्रिन्सेप र हेलेनको राजा महेन्द्रका भाइहरू क्रमशः हिमालय र वसुन्धरासँग विवाह भएको थियो ।
सन् १९६५ मा उनले स्थापना गरेको होटल सोल्टी नेपालको पहिलो पाँचतारे होटल हो । २५ नोभेम्बर १९६६ मा राजा महेन्द्रले उद्घाटन गरेको उक्त होटलले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मद्दत गरेको छ ।
यसैबीच होटल एशोसिएसन अफ नेपालले आफ्ना संस्थापकको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । संघकी अध्यक्ष सृजना राणाले प्रभाकर शमशेरको निधनले देशले ठूला उद्यमी र व्यावसायिक द्रष्टा गुमाएको बताइन् । भनिन्, “उहाँको निधनले पर्यटन व्यवसाय र संरक्षण क्षेत्रको टावरिङ पर्सनालिटी गुमेको छ ।”
स्वर्गीय प्रभाकर शमशेरले सुविख्यात त्रिशक्ति पट्ट (२००१), प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (सन् १९९६), गौरवमय सुप्रदीप्त वीरेन्द्र प्रजातन्त्र भाष्कर (२००२) लगायत राष्ट्रिय सम्मान प्राप्त गरेका थिए । त्यस्तै, उनले इटलीको विश्व सांस्कृतिक पुरस्कार (सन् १९८५),अफिसर अफ द मस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस इम्पायर (१९८७) लगायत अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार पाएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रका निकटस्थ प्रभाकर शमशेरले २०६१ माघ १९ पछिका गतिविधि सच्याउन गरेको आग्रह राजा ज्ञानेन्द्रले नमानेपछि उनीहरूबीच दूरी बढेको थियो ।