टिप्पणीशुक्रबार, १७ जेठ , २०७६

कसरी बनाउने सुरक्षित र किफायती भवन ?

हिमालखबर

भवन निर्माणका लागि निर्धारित विधि र प्रक्रियासँगै भइरहेको अभ्यासमा समेत उल्लेख्य सुधार आवश्यक छ । 

किरण आचार्य

२०७२ सालको भूकम्पअघि काठमाडौं उपत्यकामा ‘हाइराइज’ भवनहरूको निर्माणले विस्तारै भए पनि गति लिंदै थियो । नेपालका निम्ति नौलो अभ्यास नै किन नहोस्, ‘अपार्टमेन्ट संस्कृति’ बढ्न थालेको थियो ।

तर, भूकम्पको धक्काले अपार्टमेन्ट संस्कृतिलाई पनि यसरी हल्लाइदियो कि, ‘हाइराइज’ भवनमा बस्नेहरूले सम्भव भएसम्म त्यसको विकल्प खोज्न थाले । परिणाम, अग्ला आवासीय भवन निर्माणको गति पनि निकै सुस्त हुन पुग्यो । 

नेपालमा भूकम्प यताका चार वर्षमा देखापरेको यो अवस्था पछिल्लो समयको अपवाद हो । किनभने, एउटै संरचनामा हजारौं मानिस अटाउने अग्ला र ठूला भवनको माग संसारभर बढ्दो छ । बसोबास र खेती दुवैका लागि सीमित जमीन भएको सानो मुलुक, नेपाल पनि यसबाट टाढा रहन सक्दैन । र, त्यसका लागि व्यवस्थित भू–उपयोग र ठूला भवन निर्माण सम्बन्धी उपयुक्त नीति अपरिहार्य छ । 

सुरक्षित भवनका शर्त
सामान्यतया कंक्रिट भवनको आयु ५० वर्ष हुन्छ । यस्ता भवनको डिजाइन गर्दा भविष्यमा आउन सक्ने ठूला भूकम्पलाई ध्यानमा राखिएको र कति ठूलो भूकम्पमा कुन तहसम्मको क्षति हुन सक्छ भन्ने आकलन गरिएको हुन्छ । भवनको डिजाइन कत्रो भूकम्पका लागि गर्ने भन्ने चाहिं ‘रिटर्न पिरियड’ (भूकम्प कति वर्षमा दोहोरिन्छ भन्ने) मा निर्भर हुन्छ ।

२० वर्षमा एक पटक आउने ठूलो भूकम्प त्यति शक्तिशाली नहोला, तर १०० वर्षमा आउने भूकम्प निकै शक्तिशाली हुन सक्छ । यस हिसाबले हजार या दुईहजार वर्षमा एक पटक आउने भूकम्प भयंकर शक्तिशाली हुन सक्छ ।

भवन निर्माण गर्दा लामो ‘रिटर्न–पिरियड’ भएका शक्तिशाली भूकम्पमा पनि सामान्य क्षति समेत नहुने गरी डिजाइन गर्न सकिन्छ । तर, त्यस्तो डिजाइन गर्दा भवनको लागत निकै बढ्न जान्छ । एक हिसाबले भन्दा त्यो व्यावहारिक नै हुँदैन ।

त्यसकारण विभिन्न ‘रिटर्न–पिरियड’ का भूकम्प जाँदा भवनको संरचनामा कुन भागमा कुन तहसम्मको क्षतिलाई स्वीकार गर्ने भन्ने कुरा भूकम्प प्रतिरोधात्मक डिजाइनको महत्वपूर्ण सैद्धान्तिक पक्ष हो ।

आधुनिक भवन निर्माण संहिता (डिजाइन कोड) अनुसार ५०० वर्षमा एक पटक आउन सक्ने महाभूकम्पलाई ध्यानमा राखेर भवनको डिजाइन गर्दा मर्मत गर्न सकिने गरी ठूलै क्षति भए पनि मानवीय क्षति नहोस् भन्ने सिद्धान्त अवलम्बन गरिएको हुन्छ ।

२५०० वर्षमा आउने भयंकर शक्तिशाली महाभूकम्पको लागि डिजाइन गरिएका भवनमा भने ठूलो क्षति पुगे पनि ठूलो मानवीय क्षति हुने गरी भवन नै गल्र्यामगुर्लुम नलडोस् भन्ने कुरालाई ध्यानमा राखिएको हुन्छ । 

काठमाडौंमा बनेका सात–आठ तलाका भवनमा पनि ‘पाइल्ड–राफ्ट फाउन्डेसन सिस्टम’ को प्रयोग गरिएको देखिन्छ। भवनको भार न्यून हुने गरी उपयुक्त डिजाइन गर्दा ‘पाइलिङ सिस्टम’ को न्यूनीकरण या कतिपय अवस्थामा निर्मूल नै गर्न सकिन्छ, जसबाट भवनको कुल लागत नै घटाउन सकिन्छ।

यस्ता भवन चाहिं मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिंदैन । ७०–८० वर्षमा आउने भूकम्पका लागि चाहिं भवनमा न्यून क्षति हुनसक्ने, तर सामान्य मर्मत गरेर पुनः बस्न योग्य बनाउन सकियोस् भन्ने हेतुले डिजाइन गरिन्छ ।

२०७२ सालको भूकम्पबाट काठमाडौंका अग्ला भवनहरूमा त्यति धेरै क्षति पुगेको देखिंदैन । तर, अग्ला भवनहरू सुरक्षित छन्/हुन्छन् भन्ने विश्वास दिलाउन स्ट्रक्चरल इन्जिनियरदेखि सम्बन्धित सरकारी निकायहरू भने चुकेको देखिन्छ । आम मानिसमा अझैसम्म अग्ला भवन देखेर तर्सिने मनोविज्ञान कायमै छ ।

भूकम्प प्रतिरोधात्मक भवनहरू भूकम्पका बेलामा कुनै पनि ठाउँमा चर्कनु हुन्न भन्ने मानसिकता आफैंमा गलत छ । सही ठाउँमा चर्किएको भवनले नै ठूलो भूकम्पको धक्का थेग्न सक्छ । जति ठूलो भूकम्पमा पनि नचर्किने घर बनाउन सकिन्छ, तर ५० वर्ष आयु हुने घरलाई ५०० वर्ष या त्योभन्दा लामो समयमा आउने भूकम्पमा पनि क्षति नहोस् भनेर डिजाइन गर्नु व्यावहारिक हुँदैन ।

हो, अस्पताल र अरू महत्वपूर्ण संरचनाहरू महाभूकम्पका बेला पनि सेवाहरूमा अवरोध आउने गरी क्षति नहोस् भनेर डिजाइन गरिएको हुन्छ ।

नेपाल जस्तो भूकम्पीय जोखिमयुक्त ठाउँमा भवनको डिजाइन र निर्माण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनैपर्छ । तर, अझै पनि ‘ओभर–डिजाइन’ गर्नुलाई सुरक्षित भवन मान्ने गलत मान्यता हावी छ ।

कुनै पनि भवन ठूला, भद्दा पिलर र बिम राख्दैमा भूकम्पीय दृष्टिले सुरक्षित हुँदैन । संरचना जति गह्रौं र भद्दा भयो, त्यति धेरै भूकम्पीय धक्का लाग्छ । परिणाम, गलत ठाउँमा क्षति पुग्यो भने भवन नै गल्र्यामगुर्लुम लड्ने खतरा हुन्छ । 

‘भूकम्प प्रतिरोधात्मक’ डिजाइनको अर्को महत्वपूर्ण पाटो भवनको तौल कसरी कम गर्ने भन्ने पनि हो । सन्तुलित डिजाइन र हलुका तौलका विभाजन पर्खालहरूको प्रयोगले भवनको भार घटाउन सकिन्छ ।

त्यसैगरी, सुरक्षित भवनका लागि आर्किटेक्टले कल्पना गरे अनुसारको संरचना बनाउन स्ट्रक्चरल इन्जिनियरले कुशल र नवप्रवर्तक डिजाइन मार्फत समाधान दिन सक्नुपर्छ ।

उत्तम डिजाइन रचना गर्न स्ट्रक्चरल इन्जिनियरमा आत्मविश्वास नहुनु, निर्माणका क्रममा ठेकेदारको ‘डिजाइन’ हावी हुनु, गुणस्तरीय निर्माण सामग्रीको अभाव तथा सिंगो निर्माण प्रक्रियाको गुणस्तर कायम नहुने लगायतका कारणले लागत जति नै बढे पनि ‘भवन सुरक्षित बनोस्’ भन्ने चाहनाले ‘ओभर–डिजाइन’ निम्त्याइरहेको छ ।

भद्दा र गह्रौं डिजाइन–संरचना भूकम्पीय दृष्टिले खतरनाक त हुन्छ नै, भवनको जगको लागत पनि निकै बढी हुन्छ । काठमाडौंमा बनेका सात–आठ तलाका भवनहरूमा पनि ‘पाइल्ड–राफ्ट फाउन्डेसन सिस्टम’को प्रयोग गरिएको देखिन्छ ।

भवनको भार न्यून हुने गरी उपयुक्त डिजाइन गर्दा काठमाडौंको जमीनमा यति साना भवन बनाउँदा ‘पाइलिङ’ को आवश्यकता न्यूनीकरण या कतिपय अवस्थामा निर्मूल नै गर्न सकिन्छ, जसबाट भवनको कुल लागत नै घटाउन सकिन्छ ।

अर्को कुरा, एक टन सिमेन्ट उत्पादन गर्दा ०.८ देखि १.२ टनसम्म कार्वनडाइअक्साइड निस्कन्छ । कुशल डिजाइनले कंक्रिट संरचनामा कंक्रिटको प्रयोग जति कम गर्न सक्यो, पर्यावरण जोगाउन उति नै मद्दत पुग्छ । 

सुधार प्रणालीमै
गलत डिजाइनबाट निर्मित संरचनालाई सुधार गर्न निकै ठूलो धनराशी खर्च गर्नुपर्छ । त्यसकारण शुरूमै सही डिजाइन गर्नु सम्भावित ठूलो र अनावश्यक लागतबाट जोगिनु पनि हो । भवनको डिजाइनमा पहिला ‘कन्सेप्च्युअल’ डिजाइन गर्ने, त्यसपछि क्रमशः ‘स्केमेटिक’ र ‘डिटेल्ड डिजाइन’ हुँदै अन्तिममा ‘गुड फर कन्स्ट्रक्सन ड्रईङस्’ बनाउने अन्तर्राष्ट्रिय अभ्यास छ ।

आवश्यकता अनुसार स्केमेटिक र डिटेल्ड डिजाइन एकै चरणमा पनि गर्न सकिन्छ । कन्सेप्च्युअल डिजाइनको चरणदेखि नै स्ट्रक्चरल इन्जिनियर र आर्किटेक्टको राम्रो समन्वय भएमा पछिल्लो चरणका डिजाइनमा समस्या आउँदैन । अर्थात् यो चरणमा संरचनाको अवधारणालाई सबै निकायले रुजु गरेपछि मात्र डिजाइन अर्को चरणमा पुग्छ । 

अग्ला भवनहरू सुरक्षित छन्/हुन्छन् भन्ने विश्वास दिलाउन स्ट्रक्चरल इन्जिनियरदेखि सम्बन्धित सरकारी निकायहरू समेत चुकेको देखिन्छ । 

स्केमेटिक डिजाइनबाट संरचनाको मोटामोटी लागत तय हुन्छ र डिटेल्ड डिजाइनको चरणसम्म पुग्दा सम्पूर्ण डिजाइन सम्पन्न हुन्छ । सामान्यतया स्केमेटिक र डिटेल्ड डिजाइनबाट तय हुने लागतको फरक ‘प्लस माइनस’ १० प्रतिशत भन्दा धेरै हुनुहुन्न । लागतको प्रमुख हिस्सा निर्माण सामग्री र प्रक्रियाको हुन्छ ।

नेपालमा भने अझै पनि धेरै समय कागजी काममै लगाउने र हतारमा डिजाइन गर्ने प्रचलनले ‘ओभर–डिजाइन’ भएर लागत बढ्ने, कहिलेकाहीं त गलत डिजाइन भएर संरचना नै भत्काउनुपर्ने अवस्था समेत आएको देखिन्छ । टेकू–कालीमाटी जोड्ने विष्णुमती पुलको डिटेल्ड डिजाइन ‘पियर रिभ्यु’ गरिएको भए उद्घाटन नहुँदै भत्काउने निर्णय गर्नुपर्दैनथ्यो ।

हो, कहिलेकाहीं मानवीय त्रुटि या अन्य कारणले कतिपय संरचनाहरू बनाउने क्रममा अथवा बनिसकेपछि भत्काउनुपर्ने पनि हुन्छ । गत वर्ष बबई नदीमाथि बनेको पुल भत्कियो ।

के कारणले संरचनामा त्यस्तो हुन गयो भन्ने पहिल्याएर भविष्यमा त्यस्ता त्रुटि दोहोरिन नदिने पहल गर्नैपर्छ । पुल भत्कनुको मूल कारण पत्ता लगाउन ध्यान दिइएन भने भोलि अरू पुल पनि भत्कने भयले इन्जिनियरदेखि ठेकेदारसम्मको मनस्थितिमा असर गर्न सक्छ ।

खानीमा धनी भनिए पनि नेपालमा सिमेन्ट, गिट्टी, बालुवा जस्ता निर्माण सामग्री निकै महँगा छन् । त्यसमाथि छ, ओभर–डिजाइन । डिजाइन पास गर्न महीनौं लाग्ने, कतिपय अवस्थामा त वर्षौंसम्म कुर्नुपर्दा निर्माण कार्य समयमै पूरा हुन असम्भवप्रायः छ ।

कुनै संरचनाको निर्माण एक महीना मात्र ढिला हुँदा लागत निकै बढ्न सक्छ । किनभने त्यो एक महीनामा संरचनाले कमाउने आम्दानी गुम्छ । ब्याङ्कलाई तिर्नुपर्ने ब्याज बढ्छ । यस्ता असर–प्रभाव चौतर्फी हुन्छन् । यो समस्या भवन निर्माणमा पनि छ ।

अब झन्झटिला र अनावश्यक नियम, कानून, प्रक्रियालाई परिमार्जन गरेर सुरक्षित तवरले डिजाइन भएका तथा भवन मापदण्ड पालना गरेका संरचनालाई समयमै स्वीकृति दिने अभ्यास शुरू गर्नैपर्छ ।

महङ्गा निर्माण सामग्री, भद्दा डिजाइन र सरकारी निकायबाट हुने ढिलासुस्तीले एउटा परियोजनाको लागत मात्र बढ्दैन, महङ्गी वृद्धिसँगै राष्ट्रको अर्थतन्त्रमै नकारात्मक असर पार्छ । सुरक्षित र किफायती भवन निर्माणका लागि विद्यमान भवन डिजाइनको विधिसँगै अभ्यासमा समेत उल्लेख्य परिमार्जन आवश्यक छ ।                                                               (आचार्य, स्ट्रक्चरल इन्जिनियर हुन् ।)

प्रतिकृया दिनुहोस