प्रधानमन्त्री ओली भारत प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली भारत प्रस्थान गरेका हुन् ।
मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे पदको सपथ गराउने कार्यक्रम छ ।
राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा सपथ ग्रहण हुने छ । समारोहमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ ।
सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ नयाँदिल्ली पुगिसकेका छन् ।
सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, र थाइल्यान्डका विशेष दूत पनि सहभागी हुने कार्यक्रम छ ।
साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भारतमा रहँदा प्रधानमन्त्री ओलीले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री ओली भोली १७ जेठमा स्वदेश फर्कनेछन् ।