जागिरेलाई राहत, रु. ४ लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्र आयकर
अब रु. ४ लाखसम्म वार्षिक आम्दानी हुने व्यक्तिले एक प्रतिशत मात्र आयकर तिरे पुग्ने भएको छ ।
यसअघि यस्तो सीमा रु. ३ लाख ५० हजार थियो । त्यस्तै, विवाहित दम्पतीका हकमा वार्षिक रु. ४ लाख ५० हजारसम्मको आयमा १ प्रतिशत मात्र आयकर लाग्नेछ ।
यसअघि यस्तो सीमा रु. ४ लाख मात्र थियो ।
थोरै आय हुनेलाई राहत दिँदै सरकारको आगामी आर्थिक वर्षको बजेटले आयकरको स्लाबमा परिवर्तन गरेको हो ।
सरकारले आर्थिक विधेयकमार्फत चुरोट र रक्सीको करको दर बढाएका छन् । अब चुरोट र मदिराको मूल्य बढ्नेछ ।
यद्यपि, सवारी साधनमा लाग्दै आएका विभिन्न करको दर चलाइएको छैन ।
आयातित दूधजन्य पदार्थ, चक्लेट, विस्कुट, चिनी, जुत्ता, चप्पल, धागो, बदाम, केराउ, पास्ता, चिया, कफीजस्ता वस्तुमा लाग्दै आएको भन्सार दर बढेकाले यी सामान केही महंगो हुनसक्छन् ।
अब पेट्रोलियम पदार्थमा प्रतिलिटर रु. १ थप कर तिर्नुपर्नेछ । सडक पूर्वाधार निर्माणका लागि यो कर लिन लागिएको हो ।
त्यस्तै, टेलिफोन स्वामित्व शुल्कबापत २ प्रतिशत शुल्क तिर्नुपर्छ ।
सरकारले कर विवादमा परेका टुटल र पठाओ सेवालाई राहत हुनेगरी यसअघिको सम्पूर्ण कर, जरिवाना, दस्तुर र शुल्क मिनाहा गरेको छ ।