संसद तेस्रो पटक अवरुद्ध
संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको नेकपा एमाले लगायतका दलहरूले संसद बैठक अवरोध गरेका छन् । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि १९ मंसिरको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।
सरकारले संविधान संशोधन विधेयक दर्ता गरे यता संसद बैठक तेस्रो पटक अवरुद्ध भएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले संसदमा बोल्दै संशोधन प्रस्ताव विदेशी इशारामा आएको, विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको बताईन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको दाबी गरे ।
बैठक २२ मंसिर मध्यान्ह १ बजे बस्ने भएको छ ।