समाचारसोमबार, १३ जेठ , २०७६

सगरमाथाबाट निकालियो चार शव र ११ टन फोहोर

शब्द/तस्वीरः भरतबन्धु थापा

एक महीनासम्म चलेको सगरमाथा सफाई अभियानका क्रममा ११ टन फोहोर संकलन गरिएको छ ।

१२ जनाको टोलीले सरसफाईका क्रममा चार शव समेत निकालेको छ ।

“कुनै क्याम्प त फोहोरले हेर्न लायक पनि थिएनन्”, टोलीका सदस्य सांगी शेर्पाले भने, “टेन्ट, अक्सिजनका सिलिण्डर, खानेकुरा, कपडा यत्रतत्र फालिएको थियो ।”

त्यहाँ अझै थुप्रै फोहोर रहेको र ३/४ वर्ष नियमित सफाई गर्नुपर्ने उनको भनाइ छ । ओरोहीहरुलाई पनि फोहोर फाल्न नहुने जनचेतना आवश्यक रहेको उनी बताउँछन् ।

संकलन गरिएको फोहोर नेपाली सेनाको ब्यारेक नाम्चेमा राखिएको छ । त्यसमध्ये चार टन फोहोर पुनः प्रयोगको लागि ‘डोको रिसाइक्लिङ’ले काठमाडौं ल्याएको छ ।

उनीहरुका अनुसार सन् २०१४ को हिमपहिरो र २०१५ को भूकम्पपछि सगरमाथा क्षेत्रमा सरसफाई गरिएको थिएन ।

अभियानका अगुवा पासाङ शेर्पाले सगरमाथा क्षेत्रमा अझै केही शवहरु हुनसक्ने अनुमान गरेका छन् । उनले भने, “हिउँमा गाडिएका शव निकाल्नको लागि सबैभन्दा अफ्ठ्यारो क्षेत्र क्याम्प–२ हो ।”

यो वर्ष आरोहीहरुको संख्या बढी भएकोले फोहोर पनि बढ्न सक्ने अभियान्ताहरुले बताएका छन् ।

आरोहीहरुलाई सगरमाथा क्षेत्रमा फोहोर फ्याँक्न नहुने र आरोहणका क्रममा निस्कने फोहोर संकलन गरेर आधार शिविरसम्म ल्याउनुपर्ने बताइएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

सफाई अभियान नेपाल सरकार, नेपाली सेनाको ‘सफा हिमाल अभियान’, नेपाल पर्वतारोहण संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस