विद्युत प्राधिकरणले भारतीय कम्पनीको रु. ३४ करोड जफत गर्दै हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोड्यो
कामको प्रगति सन्तोषजक नभएपछि नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ ।
भारतीय कम्पनी आईकम टेलले अपेक्षाअनुसार काम नगरेपछि उक्त कम्पनीसँगको ठेक्का केही दिनअघि तोडेको हो ।
कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर (करीब रु. ३४ करोड) पनि जफत गरिएको छ ।
यसैगरी प्राधिकरणले काम ढिला गरे वापत् करीब १६ लाख डलर विलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ ।
प्राधिकरणले यस अघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँगको ठेक्का पनि तोडेको थियो ।
प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरीद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सीसीपीजीलाई कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।
ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व ब्याङ्कका नेपाल कार्यालयका देशीय प्रबन्धक फारिस हढाढ जर्भोससहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।
घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए ।
उनले, साइटमा नभएपनि ठेकेदार कम्पनीले अटेर गरी जिम्मेवारीपूर्वक काम नगरेको तथा पत्रचारको कुनै जवाफ नदिएका कारण सम्झौता उल्लघंन गरेको बताए ।
“कम्पनीको काम शुरुबाटै सन्तोषजनक थिएन, त्यसैले ठेक्का तोडिएको हो”, घिसिङले भने । उनले नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा भएकाले छिट्टै नयाँ टेण्डर आह्वान गरेर कामलाई अघि बढाइने समेत बताए ।
प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौंडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ ।
आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।
यो खण्डमा पर्ने २४६ टारमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।