९ महीनामा एक हजार ३०५ किमी सडक बन्यो, करीब ४०० किमी कालोपत्रे
चालु आर्थिक वर्षको ९ महिना (साउन–फागुन) मा एक हजार ३०५ किमी सडक विस्तार भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार, त्यसमध्ये फागुनसम्ममा ३९५ किमी कालोपत्रे भएको छ ।
गत आर्थिक वर्षमा ९०४ किमी कालोपत्रे सडक निर्माण भएको थियो । त्यस्तै, यो आर्थिक वर्षको फागुनसम्म ६६० किमी खण्डास्मित र २६० किमी कच्ची सडक निर्माण भएको हो ।
सर्वेक्षणका अनुसार, देशभरिमा कालोपत्रे सडकको लम्बाई १४ हजार १०२ किमी पुगेको छ । कालोपत्रे, खण्डास्मित र कच्ची गरी कुल सडकको लम्बाई ३१ हजार ३९३ पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक वर्षमा एक हजार ६०० किमी कालोपत्रे सडक निर्माण भएको बताएकी थिइन् ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले १० चैत, २०७५ मा संघीय संसदको बैठकमा बोल्दै यो आर्थिक वर्षमा लगभग ८०० किमी सडक कालोपत्रे भएको दाबी गरेका थिए ।
आर्थिक सर्वेक्षणका अनुसार, चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ८७ वटा पुल निर्माण भएको छ । गत आर्थिक वर्षमा ८२ वटा पुल निर्माण भएको थियो ।