घरभित्रै पसेर बँदेलको आक्रमण
रुपन्देहीको देवदहमा घरभित्रै पसेर बँदेलले आक्रमण गरेको छ ।
बाली नष्ट गरेर हैरान पारेको बँदेलले अन्धाधुन्ध आक्रमण गर्दा ३ जना घाइते भएका छन् ।
देवदह नगरपालिका–७ यशोधरा पार्कनजिकै शीतलनगरमा १२ जेठमा बँदेलको आक्रमणमा परी ३ जना घाइते भएका छन् । बँदेलले स्थानीय काशीराम गैरे, उनकी श्रीमती र उनका छिमेकीलाई घरभित्रै पसेर आक्रमण गरेको हो ।
एक्कासि बँदेल भित्र पसेपछि भागाभाग भएको स्थानीय यम रानाले जानकारी दिए । आक्रमणबाट घाइते तीनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
दूध र तरकारीका लागि उर्बर भूमि देवदहमा भर्खरै मुख्यमन्त्री कृषिजोन भनेर घोषणा गरिएको छ । तर छाडा पशुचौपाया सहित बँदेल लगायत जंगली जनावरका कारण किसानहरू भने आजित बनेका छन् ।
बुटवलको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा बँदेलको आक्रमणबाट घाइते भएकाहरू उपचार गराउँदै ।
–विक्रम खड्का, बुटवल