समाचारआइतबार, १२ जेठ , २०७६

सबैभन्दा गहिरो ताल रारा कि फोक्सुण्डो ? गहिराइ नाप्न खटियो विज्ञ टोली

रासस

नेपालकै गहिरो ताल शे–फोक्सुण्डो कि रारा भन्ने विषयामा विवाद उत्पन्न भएपछि शे–फोक्सुण्डोको गहिराइ मापन गर्न टोली खटिएको छ । 

शे-फाेक्सुण्डाे  (बायाँ) र रारा ताल । तस्विर : भरतबन्धु् थापा 

तालको गहिराइ मापनका लागि दुई जना सर्वे इञ्जिनीयर, जल तथा मौसम विभागका विज्ञ सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारी तथा एक जना डुङ्गा चालक सहित १० जनाको टोली डोल्पा पुगेको हो ।

मौसम विज्ञान विभागसँग भएको तथ्यांकमा नेपालको गहिरो ताल रारा भनेर उल्लेख छ । तर स्थानीयले शे–फोक्सुण्डो सबैभन्दा गहिरो ताल रहेको जापानी नागरिकले पत्ता लगाएको भन्दै पुनःमापनको माग गरेका थिए ।

दिनमा दर्जनौं पटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको उक्त ताल ६५० मिटर गहिरो रहको कुरा २०३६ सालमा एकजना जापानी नागरिकले प्रमाणित गरेको स्थानीय आङबहादुर लामाले बताए । तर उक्त रेकर्ड जल तथा मौसम विज्ञान विभागमा छैन ।

सन् २००४ मा ब्याथिमेट्रिक सर्वे विधिद्वारा गरिएको वैज्ञानिक मापनमा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि गहिराइ विवाद अहिलेसम्म कायम छ ।

तालको गहिराइ मापन गर्न चार दिन लाग्ने नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीका विज्ञ ध्रुवलोचन अधिकारीले जानकारी दिए । गहिराइ मापनको अनुमति उक्त कम्पनीले पाएको छ ।

शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करीब ३६३५ मिटरको उचाइमा उक्त ताल रहेको छ ।

५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क आउनेमा विश्वस्त रहेको उक्त गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए ।  

प्रतिकृया दिनुहोस